नेपालगन्ज – कोहलपुर नगरपालिकाले सडकका रेलिङ्ग काट्नका लागि कसैलाई अनुमति नदिएको स्पष्ट पारेको छ । नगरपालिकाका प्रवक्ता माधव रिजालले विज्ञप्ति जारी गरी, पछिल्ला दिनमा सडक रहेका रेलिङ्ग काटिएको घटनामा नगरपालिकाले अनुमति नदिएको जानकारी दिएका हुन् ।
कोहलपुर उद्योग वाणिज्य संघको अगुवाई विभिन्न ठाउँमा सडक छेउ रहेका रेलिङ्ग काटिएको थियो । काटिएका रेलिङ्ग सोमबारसम्म संघकै कार्यालयमा राखिएको थियो । राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार बजार क्षेत्रमा आम नागरिकहरुको सुरक्षा तथा सडक सौन्दर्यका लागि रेलिङ राखिएको रेलिङ एकाएका काटिएपछि स्थानीय स्तरमा विरोध समेत भएको छ । स्थानीय तहको अनुमति रेलिङ्ग काटिएको भन्ने विषय बाहिर आएपछि नगरपालिकाले त्यसमा आफ्नो संलग्नता, अनुमति नरहेको विज्ञप्ति मार्फत स्पष्ट पारेको हो ।
सोमबारसम्म संघको कार्यालयमा रहेका रेलिङ मंगलबार एकाएक ‘गायब’ पारिएका छन् । काटिएका रेलिङ्ग बारे संघका पदाधिकारी आधिकारिक रुपमा बोल्न चाहँदैनन् । यद्यपि, संघका एक पदाधिकारीले नगरपालिकामा रेलिङ्ग पठाएको बताएपछि नगरपालिकाले त्यसलाई कार्यक्षेत्र भन्दा बाहिरको विषय भन्दै रेलिङ्ग नबुझेको बताएको छ ।
नगरपालिकाका प्रवक्ता रिजालले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको प्रति सचेत रहेको बताएका छन् । नगर प्रमुख जिल्ला बाहिर रहेको समयमा बजार क्षेत्रमा रेलिङहरुको काटिएको विषयमा स्थानीय तहको आधिकारिक धारणा माग गरिएको, सडक डिभिजन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँकेमा सरकारी सम्पत्तिको हानी, नोक्सानी गर्ने विरुद्ध कारवाहीका लागि पत्राचार गरेको घटना आएपछि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी रेलिङ काट्नेहरु नै जिम्मेवार हुने बताएको हो ।
‘स्थानीय सरकारले अनुमति दिएको छ भनि कतिपय व्यक्ति वा पक्षको तर्फबाट प्रचार गरेर स्थानीय सरकारप्रति भ्रम पार्न खोजिएकाले त्यो दुराशयपूर्ण र भ्रमपूर्ण छ’, प्रवक्ता रिजालले भनेका छन्, ‘कही कतै कसैलाई रेलिङ काट्न निर्देशन गरिएको छैन ।’
‘रेलिङका विषयमा नियमनकारी नियकाहरुले नगरसँग आधिकारिक धारणा मागेमा वा कारवाही गर्ने बारेमा पत्र आएमा रेलिङ काट्ने बारेमा कोहलपुर नगरपालिकाको संस्थागत निर्णय नभएको, कसैलाई पनि काट्नु भनि सहमति तथा अनुमति नदिएकाले रेलिङ काट्ने प्रक्रियामा जोजो व्यक्ति तथा पक्षहरु संलग्न रहेका छन् तिनीहरु नै जिम्मेवार रहनेछन्’, प्रवक्ता रिजालले भनेका छन् ।