नेपालगन्ज : नेपालगन्जमा छिट्टै नगरबस सञ्चालनमा आउने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले सार्वजनिक नगर बस संचालनका लागि कार्य विधि स्वीकृत गरेपछि नगर बस सञ्चालन निश्चित भएको हो ।
नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा बिहीवार बसेको कार्यपालिका बैठकले नगरबस संचालनका लागि कार्य विधि पारित गरेको हो । नगर प्रमुख डा. राणाले यसअघि दैनिक नेपालगन्जसँग भदौको पहिलो सातादेखि नगरबस देखि नयाँ बसपार्कसम्म सबै सुचारु हुने प्रतिबद्धता जनाएका थिए ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कार्यविधि पारित भएको जानकारी दिंदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलबाट औपचारिक उद्घाटन गर्ने तयारी गरिएको बताए । बस संचालनका लागि चालक नियुक्ती लगायतका अन्य प्रक्रिया अन्तिमचरणमा रहेको जानकारी दिंदै प्रवक्ता रिजालले सबै बसमा महिला सहचालक राख्ने तयारी गरिएको बताए । बैठकले जिआइजेडले नेपालगन्जमा संचालन गर्न प्रस्ताव गरेको गरिबी निवारण कार्यक्रमका लागि स्वीकृती दिने निर्णय गरेको छ । नगर बस पनि गरिबी निवारणलाई लक्षित गरिने बताइएको छ ।
बिहीवारको बैठकले नेपालगन्जको मिनि जु मा रहेको कृष्णासार राजधानीमा रहेको चिडिया खानामा पठाउने त्यहाँबाट दुईवटा रतुवा नेपालगन्ज ल्याउने प्रस्ताव पनि गरेको प्रवक्ता रिजाले बताएका छन् ।
यसैबीच, नगरको समग्र विकास निर्माणका लागि आवश्यक सहयोगको माग गर्दै नगरप्रमुख डा. राणाको नेतृत्वमा टोली डेलिगेशनका लागि राजधानी जाने निर्णय कार्यपालिका बैठकले गरेको छ ।