जिससलाई टेर्दैनन् स्थानीय तह ! पठाएनन् नीति तथा कार्यक्रम र बजेट

स्थानीय तहमा बेतिथि ः जिसस प्रमुख श्रीवास्तव


नेपालगन्ज :
जिल्लामा स्थानीय तहहरु बीच समन्वय गर्न बनाइएको संघीय सरकारको प्रतिनिधिमूलक कार्यालय जिल्ला समन्वय समितिलाई स्थानीय तहहरुले अटेरी गरेको खुलेको छ । जिल्ला समन्वय समितिलाई स्थानीय तहहरुको योजना अनुगमन गर्ने अधिकार रहेको छ । त्यसका लागि स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट जिल्ला समन्वय समितिलाई पठाउनु पर्ने हो । तर, बाँकेका स्थानीय तहहरुले समयमै जिससलाई नीति तथा कार्यक्रम, योजना र बजेट नपठाउने गरेको जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बताएका छन् ।

स्थानीय तह स्थानीय सरकार भएकाले पनि जिल्ला समन्वय समितिलाई वेवास्ता गरिएको सम्बद्धहरु बताउँछन् । संविधानमा स्थानीय तहको अनुगमन, मूल्यांकन र नियमन गर्ने अधिकार जिल्ला समन्वय समितिलाई दिएपनि आवश्यक ऐन बनाइएको छैन । ‘संविधानमा उल्लेख गरिएको दुई लाइनबाहेक जिससको अधिकारहरु अझै स्पष्ट छैन’, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले भने, ‘गाइड लाइन नहुँदा पनि जिससले प्रभावकारी रुपमा भूमिका निर्वाह गर्न बाधा पुगेको छ ।’

जिल्ला सभाका सभासद्हरु स्थानीय तहका जनप्रतिनिधि नै हुन् । गत बर्षको जिल्ला सभाले स्थानीय तहहरुले नै योजना र बजेट प्रतिवेदन दुई साताभित्रै जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको थियो । ‘स्थानीय तहका जनप्रतिनिधि आफैले गरेको निर्णय कार्यान्वयन गर्नुभएको छैन’, जिसस संयोजक श्रीवास्तवले भने । स्थानीय तहबाट योजना नआउँदा अनुगमनमा अन्यौलता हुने गरेको उनी बताउँछन् । ‘पूर्व जानकारी विना योजनाको अनुगनम गर्न सकिंदैन’, श्रीवास्तवले भने, ‘स्थानीय तह पुग्दै योजना सोधेर अनुगमन गर्दा प्रभावकारी हुँदैन ।’
आमनागरिकको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्ति र भौतिक पूर्वाधार छन् । स्थानीय सरकारले गरेका कामको प्रभावकारी मूल्याङ्कन हुने हो भने बजेटको परिचालन र विकासका काम प्रभावकारी हुन सक्ने संयोजक श्रीवास्तव बताउँछन् ।

स्थानीय तहमा गएको रकमलाई अझ बढी पारदर्शी, उत्तरदायी र प्रभावकारी कार्यान्वयन गर्नका लागि स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन आवश्यक रहेको संयोजक श्रीवास्तव बताउँछन् । योजना तथा बजेट स्वीकृति, वार्षिक प्रगति समीक्षा, अनुदानको उपयोग तथा आयव्ययको अभिलेख, अन्तिम लेखा परीक्षण, जिन्सी व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम र कर्मचारी व्यवस्थापन लगायतका विषयलाई सूचककारूपमा निर्धारण गरी स्थानीय तहको अनुगमन गर्न आवश्यक रहेको सुशासन विज्ञहरुको भनाइ रहँदै आएको छ । ती सूचक पूरा नगर्ने स्थानीय तहलाई सङ्घीय सरकारले प्रदान गर्ने अनुदानमा कटौती गरी र राम्रो गर्ने स्थानीय तहलाई थप बजेट प्रदान गर्न सके स्थानीय तह थप जवाफदेही हुने तर्क सुुशासन विज्ञहरुको रहेको छ ।

यसैबीच जिल्ला समन्वय समिति बाँकेले शुक्रवार नेपालगन्जमा आयोजना गरेको स्थानीय तह तथा जिल्ला समन्वय समितिको आ.ब. २०७५÷०७६ को ‘बार्षिक समिक्षा’ गरेको छ । कार्यक्रममा स्थानीय तहले गत आवमा गरेका कार्यहरुको विषयमा समिक्षा गरिएको थियो ।
समिक्षामा जिसस संयोजक श्रीवास्तवले स्थानीय तहले अख्तियारी पाएको रकम खर्च गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ‘जिल्लाको अनुपात हेर्ने हो भने २५ प्रतिशत रकम स्थानीय तहले खर्च गर्न सकेनन्’, श्रीवास्तवले भने, ‘यसरी विकासको रकम खर्च नहुने हो भने जिल्ला पिछडिदै जानेछ ।’

समिक्षामा जिसस प्रमुख श्रीवास्तवले स्थानीय तहका कतिपय निर्णय र कामहरु नियम संगत नभएको बताए । उनी नियम विपरित हुने खर्चहरुले बेथिति र बेरुजु बढ्ने प्रति चिन्ता व्यक्त गरे ।
‘गाउँपालिकालाई स्वकीय सचिव, कानुनी सल्लाहकार, प्रेस सल्लाहकार राख्ने दरबन्दी नै छैन’, जिसस संयोजक श्रीवास्तवले समिक्षामा सहभागी जनप्रतिनिधिहरुलाई ऐन, नियमको पालना गर्न ध्यानाकर्षण गराउँदै भने । कार्यक्रममा जनप्रतिनिधिहरुले केही दिनभित्र स्थानीय तहको बजेट र योजना समन्वय समितिमा पठाउने प्रतिबद्धता जनाएका थिए ।

आएनन् सांसद

जिल्ला समन्वय समितिले आयोजना गरेको आ.ब. २०७५÷०७६ को ‘बार्षिक समिक्षा’मा जिल्लाका सांसदहरु अनुपस्थित भए । ‘तीन÷तीन पटक खबर गर्दा पनि समिक्षा बैठकमा उपस्थितिलाई महत्व दिइएन’, सांसदहरुको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै जिसस संयोजक श्रीवास्तवले भने ।

नियम अनुसार, जिससले बाँकेका संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदहरुलाई उपस्थितिका लागि अनुरोध गरेको थियो । गत आ.व.मा भएका कार्यहरुका बारेमा जानकारी लिनका लागि चासो नराख्नु नै अनुपस्थितिको कारण हुनसक्ने श्रीवास्तवले बताए । उनले सांसदहरुको अनुपस्थिति प्रति खेद समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बाँकेका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिति समेत रहेको थिएन । ‘काम विशेषले जिल्ला बाहिर रहेका जनप्रतिनिधि समिक्षामा उपस्थित हुन सक्नुभएन’, जिसस संयोजक श्रीवास्तवले भने । कार्यक्रममा सहभागी कतिपय जनप्रतिनिधि कार्यक्रमको बीचमै उठेर हिडेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया