‘अनाहकमा नेपालगन्जको बदनाम’

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नगरपालिका गाईको विषयमा नेपालगन्जलाई अनाहकमा बदनाम गरिएको भन्दै ‘असल नियतका साथ गरिएको पहलमा भएको दुर्घटनाले समस्या निम्त्याएको’ बताएका छन् ।

नगर प्रमुख डा. राणाले पहिलो पटक गौप्रकरणबारे औपचारिक रुपमा मिडियामार्फत आफ्ना धारणा राख्दै गाईको मृत्यु भवितव्यको एउटा दुर्घटनाका रुपमा लिनुपर्ने बताए । गौ प्रकरण देशभरि आलोचना भइरहँदा मंगलबार नेपालगन्जमा रहेका मिडियाका सम्पादक तथा प्रमुखहरुसंगको छलफलमा प्रस्तुत भएका नगर प्रमुख डा. राणाले नेपालगन्जलाई अनाहकमा बद्नाम गरिएकोमा चिन्ता गरे ।

छाडा पशु व्यवस्थापनका लागि पत्रकारहरुसँग सुझाव संकलन गर्न नगर प्रमुख डा. राणाले उपप्रमुख उमा थापा मगर र प्रवक्ता प्रमोद रिजाल, कार्र्र्यकारी अधिकृत हरि प्याकुरेल सहितको टोली सहित पत्रकार सामु प्रस्तुत भएका नगर प्रमुख डा. राणाले छाडा पशुको संरक्षण र उचित व्यवस्थापनका लागि आफ्नो चिन्ता प्रस्तुत गरे ।

छाडा चौपाया नियन्त्रणका लागि ५ नं. प्रदेश सरकारलाई गरिएको आग्रह सुनुवाई नगरिंदा पनि समस्या बढेको उपमहानगरपालिकाले जनाएको छ । छाडा पशु चौपाया समस्या समाधानका लागि सामुदायिक वनमा लगेर छाड्ने प्रयास गरेको तर जिल्ला बन कार्यालयले विभागको अनुमतिलाई मात्र आधिकारिकताको आधार मान्दै सहयोग नगरेको उपमहानगरपालिकाले जनाएको छ ।
पहिलो पटक जिल्लाका सम्पादकसँग औपचारिक भेटघाट गरेका नगरप्रमुख डा. राणालाई छाडा पशु व्यवस्थापनका लागि विभिन्न अल्पकालीन र दीर्घकालिन रुपले कार्य योजना बनाई अगाडी बढ्न पत्रकारहरुले सुझाव दिएका थिए । पत्रकारहरुले भारतबाट आउने पशु चौपाया नियन्त्रणका लागि सिमापार प्रशासनसँग समन्वय गर्न, नगरभित्र रहेका पशु चौपायको तथ्यांक संकलन गर्ने लगायतका सुझाव दिएका थिए ।

घटनाका समयमा राजधानीमा रहेका नगरप्रमुख डा. राणाले पहिलो पटक मंगलबार पत्रकारहरुसँग त्यस विषयमा अन्तरक्रिया गरेका हुन् । ‘दुर्घटनावश दैलेख घटना भएको हो,’ डा. राणाले पत्रकार सँग भने, ‘सडकमा दुर्घटना बढ्ने, कान्जी हाउसमा खाना नपाएर दैनिक गाई मर्न थालेपछि असल नियतका साथ दैलेख पठाइएको हो,’ घटनाको जिम्मेवारी लिंदै भने, ‘भएगरेका कमजोरी बारे छानविनका लागि समिति बनेको छ, वास्तविकता आउँछनै ।’ उनले गाईलाई भिरबाट खसालेर हत्या गरेको आरोप सरासर गलत भएको भन्दै यो कसैले पनि सोंच्न नसक्ने बताए ।

छाडा पशु चौपायाको समस्या नगरबासीकै समस्या भएको नगरप्रमुख डा. राणाले स्पष्ट पारे । नेपालगन्ज उपमहानगरकोे पहलमा जिल्ला समन्वय समितिले गौशाला निर्माणका लागि डिपिआरका आकस्मिक कोषको सात करोड छुट्टाएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया