व्यवसाय चलायमान हुने अपेक्षा

शुरु भयो महोत्सव, आजदेखि सांस्कृतिक उत्सव



घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि भन्दै नेपालगन्जमा महोत्सवको आयोजना गरिएको छ । मंगलवार लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले महोत्सव उद्घाटन गरिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.संगको सहकार्यमा मंगलवारदेखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।


महोत्सव उद्घाटन गर्दै मन्त्री केसीले विगतको कोभिडबाट बिथोलिएको अर्थतन्त्र र त्यसबाट थलिएको उद्योग व्यापार बजारीकरण गर्नका लागि महोत्सव सार्थक हुने विश्वास गरिन् ।


‘अहिले नेपालगन्जमा औद्योगिक क्षेत्र रहेपनि नौबस्तामा ठूलो औद्योगिक क्षेत्र बन्दैछ’ मन्त्री केसीले भनिन्, ‘रोकिएका कामहरु अगाडि बढाउनको लागि प्रदेश सरकारले संघीय सरकारसँग पुल काम गर्छ ।’ उनले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।


बाँकेको विकासका लागि आफुले खेल्नुपर्ने भूमिका खेल्न तयार रहेको भन्दै मन्त्री केसीले भनिन्, ‘समग्र बाँकेको विकासको लागि सबैजना आफ्नो स्थानबाट लाग्नुपर्छ ।’ उनले त्यसका लागि निजी क्षेत्रको झनै महत्वपूर्ण भूमिका हुने बताइन् ।
मन्त्री केसीले ठूला उद्योगका साथै साना तथा घरेलु उद्योगहरुले समेत नेपालको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको धारणा राखेकी थिइन् ।


कार्यक्रमका बिशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले स्थानीय निकायले घरेलु तथा साना उद्योगका समस्यामा उपेक्षा गरेको बताए । उनले स्थानीय सरकार संचालन ऐनले पालिका भित्र रहेका घरेलु तथा साना उद्योगीका हक हितका लागि काम गर्ने परिकल्पना गरेपनि बेवास्ता भइरहेको बताए ।


महोत्सव आयोजक मूल समितिका संयोजकसमेत रहेकी नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्काले उद्यमी व्यवसायीको अवस्थालाई समग्र दर्शक समक्ष जानकारी गराउदै आफुहरु तिर सरकारको ध्यान नगएकोमा आक्रोश पोखेकी थिइन् ।


घरेलु महासंघका महासचिव जीआर भुसाल र प्ररेणा गिरीले संचालन औपचारिक समारोहमा प्रदेशसभाका सांसदहरुको उल्लेख्य सहभागिता थियो । ‘समृद्ध नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ औपचारिक उद्घाटनअघि नेपालगन्जको धम्बोझी चोक देखि महोत्सव स्थलसम्म सांस्कृतिक झाँकी ¥यालीको आयोजना गरिएको थियो ।


माघ २४ गते सम्म संचालन हुने महोत्सवमा आज बुधवारदेखि राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति गरिने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिएका छन् । त्यसक्रममा आज कलाकार विन्दु परियार, चन्द्र शर्मा आउने कार्यक्रम तय भएको उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया