सञ्चालनमा वेष्टर्न मार्ट: उद्घाटनकै दिन १ हजार बढीले गरे सपिङ्ग

नेपालगन्जमा वेष्टर्न मार्ट मंगलबारबाट सञ्चालनमा आएको छ । वेष्टर्न विजनेश गु्रपले नेपालगन्जमा पहिलो अत्याधुनिक सुविधा सहितको मलमा वेष्टर्न मार्ट सञ्चालनमा ल्याएको हो । मार्टले उद्घाटनको अवसर पारेर आकर्षक छुटहरुसहित ग्राहकलाई निमन्त्रणा गरेकाले पहिलो दिन नै एक हजार बढीले किनमेल गरेको कन्सल्टेन्ट शैलेश लोहनीले जानकारी दिए ।

वेस्र्टन मार्टका नाममा सञ्चालनमा ल्याइएको सुपर मार्केटको उद्घाटन गर्दै नेपालगन्जका नगर प्रमुख डा. धवल समशेर राणाले आर्थिक विकासका दृष्टिले नेपालगन्ज क्रमशः अगाडि बढिरहेको बताए । त्यसका लागि स्थानीय सरकारले आवश्यक सहजीकरण गर्न तयार रहेको नगर प्रमुख डा. राणाको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा मार्टका अध्यक्ष प्रकाश लामिछानेले नेपालगन्जबासीको आफ्नै लगानीमा नेपालगन्जका लागि सहुलियत र विश्वसनीय बजार निर्माण गर्न खोजिएको बताए । मार्टले छिट्टै अन्य ‘आउटलेट’ समेत सञ्चालन गर्न लागेको अध्यक्ष लामिछानेको भनाइ थियो ।

वेष्टर्न विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाका अनुसार, करिब ३५ करोड लगानी पुग्ने अनुमानका साथ सुरु गरिएको मार्टमा १८ करोड लगानी गरिसकिएको छ । ‘नेपालगन्जको आफ्नो मौलिकतामा सहुलियत बजार दिन खोजिएको हो’, अध्यक्ष थापाले मार्टलाई थप आधुनिक र सुविधा सम्पन्न बनाउँदै जान लागिएको जानकारी दिंदै भने । उनका अनुसार, वेष्टर्न मललाई नेपालगन्जको अर्को गन्तव्यका रुपमा विकास गरिएको छ ।

वेष्टर्न मार्टमा ५४ ले रोजगारी पाइसकेका छन् । झण्डै सय जनालाई रोजगारी दिनेगरी ‘वेष्टर्न मार्ट’ सञ्चालन गरिएको मार्टका अध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया