पर्यटकीय स्थलको प्रवद्र्धनका लागि टुर दि ठाकुरद्वारा

कोभिडले आक्रान्त व्यवसायी सम्हालिन खोजिरहँदा अर्को राजनीतिक घटनाले असर पर्छ कि भन्ने आशंकामा व्यवसायी छन् । जब देश अस्थिर हुन्छ, त्यसको मार पर्यटनमा पर्छ ।

कृष्णप्रसाद श्रेष्ठ
संयोजक
नेपालगन्ज पर्यटन प्रवद्र्धन मञ्च

पर्यटन प्रवद्र्धन मञ्च के हो ? किन गठन गरियो
आज भन्दा एक महिना अघि बाँकेमा रहनु भएका सम्पूर्ण पर्यटन क्षेत्रमा काम गर्ने होटल व्यवसायी संघ, हान, नाटा, एयरलायन्स व्यवसायी लगायत सबै क्षेत्रको सहभागिता रहने गरी पर्यटन मञ्च गठन गर्नु पर्यो भनेर साथीहरुले भन्नुभयो । त्यसमा मलाई अध्यक्षका रुपमा चयन गर्नुभएको छ ।

मञ्च गठन हुनुको विशेष उद्देश्य भनेको पछिल्लो चरणमा कोभिडका कारण हामी अत्यन्तै मारमा परेका छौं । अब हामीले यो अवस्थामा पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर नेटवर्क बनाएर अगाडि बढ्ने प्रयास गरेका छौं ।

र, अहिले विशेष गरी बाँके मात्रै नभएर बर्दिया लगायतका क्षेत्रलाई पर्यटनमा कसरी अगाडि बढाउने भनेर संस्था गठन गरिएको छ । यो अत्यन्त राम्रो पहलकदमी हो । अब हामी नियमित रुपमा बस्ने गरेका छौं ।

के चाहिं गर्न खोजिरहनु भएको छ मञ्चबाट ?
जसरी अहिले साना, ठूला, मध्यम होटल छन् । लगायत अन्य पर्यटनसँग सम्बन्धित होम स्टे छन् । थुपै्र पर्यटनसँग सम्बन्धी व्यवसाय छन् । हामीले त्यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं । र, केही दिन पहिला परराष्ट्रमन्त्री नेपालगन्ज आउँदा भारत लगायत अन्य मुलुकबाट यो सीमाबाट प्रवेश गर्ने पर्यटकलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल पनि भएको थियो । मन्त्रीज्यूसँग कुरा गरेपछि सीमामा आवागमन केही सहज बनेको अवस्था पनि रहेको छ ।

अन्य विषय जस्तो बैंकिङ्ग सेक्टरमा व्यवसायीले पाउने केही राहत राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पनि समावेश छ । पर्यटन क्षेत्रका व्यवसायीलाई ५ प्रतिशत ब्याजमा सहयोग गर्ने घोषाणा गरेको छ । त्यो अनुसार सुविधा पाइरहनु भएको छ । विद्युतको डिमाण्ड शुल्कको चर्कोमार पर्यटन व्यवसायीले खपी रहनु भएको छ । सरकारले ५८ वटा उद्योगलाई डिमाण्ड शुल्कमा छुट दिएजस्तै होटल, पर्यटन क्षेत्रलाई पनि छुट दिनुपर्छ भनेर माग गरिरहेका छौं । डिमाण्ड शुल्क छुट हुने हो पर्यटन व्यवसायीलाई धेरै राहत हुनेछ ।

हामी एकजुट भएर अगाडि बढ्यौं भने यस क्षेत्रमा पर्यटनका लागि केही गर्न सकिन्छ भनेर हामीले मञ्च गठन गरेका हौं । यो क्षेत्रमा केही न केही गरेर देखाउने हाम्रो प्रयास छ ।
सुदूरपश्चिममा सुदूरपश्चिमका व्यवसायीहरुले सुन्दर सुदूरपश्चिम भनेर नामाकरण गर्नुभएको छ । हामीले पनि यहाँ नामाकरणको सुरुवात गरेका छौं । जसले गर्दा हामी एक ठाउँमा छौं भन्ने सन्देश दिने हाम्रो विश्वास छ ।

कोरोना सँगसँगै व्यवसाय अगाडि कसरी व्यवसाय बढेको छ ?
हिजोको तुलनामा केही सुधार भएको हामीले देखेका छौं । तर यद्यपि, यस बर्ष बिहे लगायतका शुभसाइत कम भए । धेरै भीडभाड हुने खालका कार्यक्रम हुन पाएनन् । ठूला होटलहरुमा हुने वैवाहिक कार्यक्रम यो बर्ष विगतमा जस्तो भएनन् ।

सरकारले नेपालगन्जमा धेरै कार्यक्रम गर्नुपर्ने हो । तर, पछिल्लो राजनीतिक अवस्थाले धेरै कार्यक्रमहरु कम हुने देखिन्छ । किनभने जब देश अस्थिर हुन्छ, त्यसको मार पर्यटन र व्यवसायी क्षेत्रमा पर्दछ । राजनीतिले व्यवसायमा असर पर्छ भन्नेमा व्यवसायी चिन्तित छन् । कोभिडले आक्रान्त व्यवसायी सम्हालिन खोजिरहँदा अर्को राजनीतिक घटनाले असर पर्छ कि भन्ने आशंकामा व्यवसायी छन् ।

टुर दि ठाकुरद्वारा हुँदैछ, यसले पर्यटन प्रवद्र्धनमा कस्तो प्रभाव पार्दछ ?
यो बर्षदेखि तेस्रो बर्षको कार्यक्रम हुँदैछ, टुर दि ठाकुरद्वारा । यसमा बाँके सहित देशभर तथा भारतका साइकल यात्री सहभागी हुनुहुँदैछ । यसले बाँके, बर्दियाका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्नेछ । पर्यटकीय स्थलको प्रवद्र्धनका लागि टुर दि ठाकुरद्वारा सहयोगी हुन्छ भन्ने विश्वास छ । त्यसका लागि मञ्चले पनि सघाइरहेको छ ।

सबैभन्दा राम्रो पक्ष हो, यहाँ अति लोपोन्मुख प्रजाति जलचर र थलचरको पनि दृश्यावलोकन गर्न सकिन्छ यो नै पर्यटक लोभ्याउने प्रचुर आधार हो ।

प्रतिक्रिया

प्रतिक्रिया