भारतबाट जिवितै माछा तस्करी

नियन्त्रणका लागि प्रहरी सक्रिय, १२ क्वीन्टल माछा नष्ट


भारतबाट कपिलवस्तु नाका हुँदै ल्याइएको १२ क्वीन्टल जिवित माछासहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अबैधरुपमा सुर्खेत लगिंदै गरेको अवस्थामा वडा प्रहरी कार्यलय नेपालगन्जले माछा बरामद गरेको हो ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा रहेको टोलीले शनिबार राती १ बजे एक गाडी माछासहित चालकसमेतलाई नियन्त्रणमा लिएको हो । प्रहरीले माछा क्वारेन्टाइन कार्यालय बुझाएको छ ।
‘माछाको स्रोत नखुलेकाले नष्ट गर्न आदेश भएको छ,’ पशु क्वारेन्टाइन कार्यालयका प्रमुख, डा. भक्त नेउरेले दैनिक नेपालगन्जसँग भने, ‘जुन जातको माछा ल्याएको छ, यो नेपालमा सरकारी अनुमतिमा सोधअनुसन्धानबाहेकका लागि ल्याउन मनाही छ ।’ उनका अनुसार, माछा नष्ट गर्ने र पहिलो पटकलाई चालकलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ । भारतमा पंछिजन्य पदार्थमा महामारी फैलिएपछि कुखुरा लगायतका पंछिजन्य पदार्थ पुरै निषेध गरिएको जानकारी दिंदै डा. नेउरेले चिकित्सकबाट निरोगिता प्रमाणित प्रशोधित ‘फ्रेस फिस’ मात्र ल्याउन पाउने व्यवस्था रहेको बताए ।
भारतबाट अहिलेपनि माछा तस्करी पाइएकोले नियन्त्रणका लागि प्रहरीलाई निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताएका छन् । उनले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक खड्काको कामलाई प्रोत्साहित गर्दै भारतबाट अबैध माछा भित्रिंदा स्थानीय माछा व्यापारी धराशयी हुने जोखिम रहेकाले पनि प्रहरीलाई चनाखो हुन निर्देशन दिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया