नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो कार्यभार
नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् । शनिबार शपथ ग्रहण लगत्तै संघ पुगेर कार्यभार सम्हालेका अध्यक्ष मन्सुरीले निर्वाचन अघि जुनसुकै प्यानलबाट निर्वाचनमा भाग लिएको भएपनि अब सबैलाई साथ लिएर अघि बढ्ने बताएका हुन् । ‘सबै सदस्यलाई समान महत्व र अवसर दिनेछु’, अध्यक्ष मन्सुरीले भने, ‘सबै सदस्यहरुलाई संघको बैठक र कार्यक्रमहरुका लागि समय छुट्याउन आग्रह गर्दछु ।’
अध्यक्ष मन्सुरीले व्यवसायिक समस्याहरुका समाधानका लागि संघको तर्फबाट पहल गरिरहने बताएका थिए । ‘व्यवसायिक हितलाई सर्वोपरी राख्नेछु’, अध्यक्ष मन्सुरीले भने, ‘त्यसका लागि कार्यसमितिको निर्णय र सल्लाहमा अघि बढ्नेछु ।’
अध्यक्ष मन्सुरीले संघलाई आर्थिक रुपमा मजबुत बनाउन आफ्नो प्रयास रहने बताएका थिए । त्यसका लागि खर्च कटौती गर्ने योजना गरेको उनले सुनाएका थिए । ‘अनावश्यक खर्च कटौती गरेर व्यवसायिक हितमा खर्च गरिनेछ’, अध्यक्ष मन्सुरीले भने । अध्यक्ष मन्सुरीले संघको बैठकमा हुने नास्ता खर्च कटौती गरेर खर्च घटाउने घोषणाको सुरु गरेका थिए । ‘अब संघको बैठकमा कालो चिया र बिस्कुट बाहेकको नास्ताको व्यवस्था गरिनेछैन’, अध्यक्ष मन्सुरीले भने ।
नवनिर्वाचित कार्यसमितिले संघमा शनिबार नै निवर्तमान भएका अध्यक्ष नन्दलाल वैश्य, कार्यालय प्रमुख अजय सिंह सिजापति लगायतले फुलमाला, बाजागाजाले स्वागत गरेका थिए ।
त्यसअघि अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रम बीच नवनिर्वाचित कार्यसमितिलाई सिद्धार्थ कटेजमा सपथ ग्रहण गराइएको थियो । संघको माघ ११ गते भएको निर्वाचनमा निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत टिका जंग सिंहले शपथ ग्रहण गराएका थिए ।
नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाही, महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष वैश्यले निवर्तमान भएपछि वर्तमान कार्यसमितिलाई पूर्ण सहयोग गरेर अघि बढ्ने बताएका थिए । ‘अब संघमा अभिभावकको भूमिका निर्वाह गर्नेछु’, अध्यक्ष वैश्यले भने । उनले अब महासंघको केन्द्रीय सदस्य पदका लागि आफुले तयारी गरिरहेको भन्दै सघाउन आग्रह समेत गरेका थिए ।
अध्यक्ष वैश्यले आफ्नो कार्यकालमा भएको कार्यहरुको उल्लेख गर्दै आफु आउँदा भन्दा एक करोड बढी स्रोत संघलाई छाडेर गएको बताएका थिए । ‘म आफ्नो कार्यकालमा सफल भएको छु’, अध्यक्ष वैश्यले भने, ‘संघ दबाबमूलक संस्था भएकाले व्यवसायिक मुद्दामा सधै दबाब र पहल गरिरहेको थिए ।’ ‘नेपालगन्जको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा मैले आफ्नो कार्यकालमा सक्दो पहल गरे’, उनले भने, ‘नेपालगन्जको विद्युत समस्या होस् वा ब्याज विरुद्धको आन्दोलन मेरो कार्यसमितिले सधै अगाडि रह्यो ।’
संघको माघ ११ गते भएको निर्वाचनबाट अध्यक्षमा मन्सुरी, उपाध्यक्षमा आदेश अग्रवाल र अमित बस्नेत तथा सदस्यहरुमा हरिलाल न्यौपाने, चिरञ्जीवि ओली, श्याम सुन्दर अधिकारी, विजय भण्डारी, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी, भिम बहादुर रानाभाट, टंक प्रसाद शर्मा, बिन्दु चर्तिमगर, विष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का विजयी भएका थिए । एशोसिएट सदस्यमा सञ्जय अग्रवाल र दिपेन्द्र विष्ट, सम्बद्धमा सलाउद्दिन जसगढ र भीम कंडेल, बद्री श्रेष्ठ विजयी भएका थिए । कंडेल र श्रेष्ठको मत बराबर भएपछि आधा/आधा कार्यकाल संघको कार्यसमितिमा सहभागी हुने सहमति भएको थियो ।
संघको बैठकले दुई महिलाको मनोनयनसँगै जिम्मेवारी बाँडफाँट गर्नेछ । बैठकबाट प्रथम र द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, प्रवक्ता लगायतका जिम्मेवारी बाँडफाँड हुनेछ ।