कर सप्ताहमा सचेतनाका सन्देश


कर सप्ताह मनाइरहेको आन्तरिक राजस्व विभागको आयोजनामा सुरु गरिएको देशव्यापी करमैत्री यात्रा बुधवार नेपालगन्ज आइपुग्यो । सिस्नुपानी नेपालको सचेतनामूलक करयात्रा गत कात्तिक २१ गते बनेपाबाट सुरु भइ बुधवार नेपालगन्ज आइपुगेको हो ।
देशका १२ वटा ठूला शहरहरुमा पुगेर सिस्नुपानीका कलाकारले विभिन्न कार्यक्रममार्फत कर सचेतना फैलाउँदै नेपालगन्जमा भव्य कार्यक्रमको आयोजना गरेका छन् । गीत, कविता र हास्यव्यंग मार्फत कर तिर्नुपर्ने कुरामा सचेतना फैलाएका साहित्यकार, कलाकारहरुले मुलुक विकासको मेरुदण्डनै कर भएकाले सबैको सहभागितामा जोड दिए ।
चर्चित हास्यब्यंग कलाकार मनोज गजुरेलको विशेष प्रस्तुतिदेखि शिशिर योगीको संगीतमय प्रस्तुतिले सहभागीहरुलाई रोमाञ्चित बनाएको थयिो । सबैको प्रस्तुति कर तिर्ने विशेष सन्देशमूलक थिए । सिस्नुपानी नेपालका सरोज घिमिरे, लक्ष्मण, टंक, धिरेन्द्र प्रेमर्षी, अर्जुन पराजुली र कमलीकान्त भेटवाल लगायतले गीत, कविता, नाटक र हास्यब्यंग मार्फत कर सचेतनाको प्रस्तुुतिहरु गरेका थिए ।
कात्तिक २१ गते बनेपाबाट शुरु भएको सो करमैत्री देशव्यापी यात्राको १३ औं कार्यक्रम नेपालगन्जमा गरिएको जनाउँदै सिस्नुपानी नेपालका सहसचिव सरोज घिमिरेले मंसिर ७ गते काठमाडौंमा पुगेर यात्राको समापन गरिने बताए । करमैत्री यात्राको नेपालगन्जमा स्वागत गर्दै ठ्लो संख्यामा विद्यार्थी, उद्योगी व्यवसायी, सरकारी कर्मचारीहरु कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कर तिर्नुलाई पनि राष्ट्रियतासंग जोड्नु पर्ने औल्याए । ‘जसरी हामी सबै लिपुलेक र कालापानीका लागि एकजुट भएर अगाडी बढेका छौं, त्यसरी नै कर तिर्नका लागि पनि अगाडी आउनु पर्ने’ भन्दै मन्त्री राईले भने, ‘कर र राजस्वबाटै देश विकासका अधिकांश काम हुन्छन्, गरिब र निमुखाले स्वास्थ्य, शिक्षा र अन्य सेवा सुविधा पाउँछन् । त्यसैले कर तिर्नु हामी सबैको पहिलो कर्तव्य हो ।’

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले करबारे धारणा राखेको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलले पनि करको महत्व प्रकाश पारेका थिए । सिस्नुपानीका कलाकार सहितको कर सचेतना मंगलवार धनगढी हुँदै बुधवार नेपालगन्जबाट आज बिहीवार पोखरामा सचेतनाका कार्यक्रम गरे ।

प्रतिक्रिया

प्रतिक्रिया