नेपालगन्ज – सरकारले बाँकेका चार पर्यटकीय स्थललाई पर्यटकीय गन्तव्यको सूचिमा राखेको छ । सरकारले सय वटा गन्तव्य सूचिकृत गर्दा बाँकेका चार वटा समेटिएका हुन् । तर, चार वटै पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवद्र्धनका लागि भने बजेट छुट्याएको छैन ।
मन्त्रीस्तरीय निर्णयबाट बाँकेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ । त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरुमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह मजारलाई सूचिकृत गरिएको छ । चार वटै गन्तव्य सूचिकृत भएपछि तिनीहरुको प्रवद्र्धनका लागि सरकारले बजेट भने उपलब्ध गराएको छैन ।
‘सरकारले प्रवद्र्धनका लागि बागेश्वरी मन्दिरको प्रवद्र्धनका लागि बजेट छुट्याएको थाहा भएन’, बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल प्रसाद अधिकारीले भने ।
गाभर सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले सय गन्तव्यको सूचिमा राखेपनि प्रवद्र्धनका लागि कुनै बजेट भने नछुट्याएको बताएका छन् । ‘५० वटा गन्तव्यका लागि बजेट छुट्याएको थाहा छ’, उनले भने, ‘तर, त्यसमा बाँकेका कुनै पनि गन्तव्य पर्न सकेनन् ।’ आन्तरिक र बाह्य पर्यटकको केन्द्रका रुपमा विकसित हुँदै गएको गाभर भ्याली सरकारको गन्तव्यमा सूचिकृत हुनु राम्रो भएपनि प्रवद्र्धन र विकासका लागि बजेट नछुट्याइनु निराशाजनक रहेको उनले बताए ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले कम्मर शाह मजारका लागि सरकारबाट कुनै पनि बजेट उपलब्ध नभएको बताए । ‘अहिले सम्म कम्मरशाह मजारका लागि बजेट संघीय सरकारबाट पाएका छैनौं’, अध्यक्ष चौधरीले भने ।