बर्दियामा नेटवर्किङ विजनेसका चार एजेन्ट समातिए

बर्दिया – भारतमा रहेको नेटवर्किङ विजनेसका नाममा नेपालीले नै सोझासाझा गाउँका नेपालीलाई ठगी गरेको आरोपमा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।


नेटवर्किङ विजनेसका नाममा ठगी गरेको आरोपमा बर्दिया गुलरिया नगरपालिका ४ का बिवेक थारू, वडा ५ का हिमाल भनिने प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ का दिपक चौधरी र राजापुर नगरपालिका ३ का आशा थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक (एसपी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।


ओरियन्स ग्लोबल नेटवर्किङ प्रालि नामक बहुराष्ट्रिय कम्पनीले नेटवर्किङ विजनेसका नाममा ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु भइरहेको र थप अरु पनि पक्राउ पर्न सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोलाले बताए । ‘नेपालका तर्फबाट कैलाली टिकापुर नगरपालीका १ का २६ वर्षिय साजन चौधरीलाई सम्पर्कमा ल्याएपछि उनकै माध्यमबाट सोही ठाउँका सन्तोष चौधरी र कैलारी ६ बैजपुरका मनोज चौधरी मार्फत नेपालमा नेटवर्किङ विजनेसका सुरुवात भएको देखिन्छ,’ एसपी बास्तोलाले भने ।


पक्राउ परेकामाथि प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोप प्रमाणित भए सजाय स्वरुप मुलुकि अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ३(ग) बमोजिम ७ वर्ष कैद र ७० हजार जरिवाना हुने एसपी बास्तोलाले बताए ।
कम्पनीबाट आएका एजेन्टले विभिन्न प्रलोभन देखाई ठगी गरिरहेका छन् । हालसम्म बाँके, बर्दिया, कैलाली, दाङ र कञ्चनपुर जिल्लाका गरि झण्डै २ सय जना पीडित व्यक्तिहरुलाई उद्दार गरि उनीहरु मार्फत जानकारी लिएर उक्त कम्पनीको एजेन्टका रूपमा काम गरिरहेकाले उनीहरु पक्राउ परेका हुन् ।


ओरियन्स ग्लोबल नेटवर्किङ प्रालि नामक बहुराष्ट्रिय कम्पनिले विभिन्न देश सहित भारतको चेन्नइमा प्रधान कार्यालय, दिल्लीमा शाखा कार्यालय र लखिमपुरमा उपशाखा कार्यालय खोली नेचुरल वेल इन्टरप्राईजेज मार्फत फुड प्रोडक्टको नेटवर्किङ विजनेस गरिरहेको र प्रलोभनमा पारी सोझा मानिसलाई ठगी गर्दै विभिन्न किसिमका औषधी वितरण गरिरहेको पाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया