धान नपसाएपछि मर्कामा किसान उत्पादन घट्ने अनुमान

बर्दिया/ भावुक योगी :
बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका लगायतका अधिकाँश गाउँमा गरिमा नामक धान पाक्ने बेलामा पनि नपसाएपछि कृषकहरु मर्कामा परेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकामा गरिमा नामक धान पाक्ने बेलामा पनि नपसाएपछि कृषकका खेतहरुमै पुगेर प्रारम्भिक लगत संकलनको काम सुरु भएको छ । धान काटेर भित्र्याउने बेला पनि धान नपसाएपछि धेरै किसान अहिले समस्यामा परेका छन् ।


ठाकुरबाबा नगरपालिकामा झण्डै ६० बिगाहा जग्गामा गरिमा जातको धान लगाईएको थियो । ६० बिगाहामा लगाईएको धान नपसाएपछि किसान मर्कामा परेका हुन् । गरिमा नामक धानको बिउ भारतबाट आयातित हाईब्रिट जातको धानको बिउ हो । २०७२ सालमा नेपाल सरकारले यो धानलाई पञ्जीकरण गरेको थियो । बिगतका बर्षहरुमा यो धान राम्रो उत्पादन हुँदै आएको बताईन्छ ।


धान खेतमा अहिले फौँजी किराको समेत प्रकोप देखिएको छ । यसअघि यसको प्रकोप नफैलिएको पाईएको भनिएपनि पछिल्लो समय यो किराको प्रकोप अत्याधिक मात्रामा देखिएको छ । ढिला तयार हुने धानमा यो किराले क्षति पुर्याइरहेको पाइएको छ । यो किरा दिउसोमा नदेखिने तथा रातिमा क्षेति पुर्याउने गरेको जनाईएको छ । यस्तै यो किराको प्रकोपबाट बच्न कृषकहरुले धानको दाना अलिअलि पहेँलो भएपछि काटिहाल्नु पर्ने कृषी ज्ञान केन्द्र बाँकेले अनुरोध गरेको जनाइएको छ ।


यसबर्ष गरिमा जातको धान नपसाएपछि तथा फौँजि किराको समेत प्रकोप फैलिएपछि गतबर्ष भन्दा यो बर्ष धान उत्पादन घट्ने ठाकुरबाबा नगरपालिका कृषी शाखाका प्रमुख धुब्रराज बमले बताएका छन् । यस्तै देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमा वर्षेनी ६३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको बताईएको छ । यस वर्ष धान नफलेपछि २ दशमलव ०३ प्रतिशत धान उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ । भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा समेत चुनौती थपिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया