गरिमा जातको धान नपसाएपछि बर्दियाका किसान मर्कामा, क्षतिपुर्ति दिलाउने आश्वासन, बर्दियामा यस वर्ष धान उत्पादन घट्ने अनुमान,
ठाकुरबाबामा मात्रै झण्डै ६० बिघाह क्षेत्रफलमा लगाएको धान पसाएन, दुई सय बढि किसान मर्कामा
भावुक योगी, बर्दिया :
बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका लगायतका अधिकाँश गाउँमा गरिमा नामक धान पाक्ने बेलामा पनि नपसाएपछि कृषकहरु मर्कामा परेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा गरिमा नामक धान पाक्ने बेलामा पनि नपसाएपछि कृषकका खेतहरुमै पुगेर प्रारम्भिक लगत संकलनको काम सुरु भएको छ । धान काटेर भित्र्याउने बेला पनि धान नपसाएपछि धेरै किसान अहिले समस्यामा परेका छन् ।
ठाकुरबाबा नगरपालिकामा झण्डै ६० बिगाहा जग्गामा गरिमा जातको धान लगाईएको थियो । ६० बिगाहामा लगाईएको धान नपसाएपछि किसान मर्कामा परेका हुन् ।
गरिमा नामक धानको बिउ भारतबाट आयातित हाईब्रिट जातको धानको बिउ हो । २०७२ सालमा नेपाल सरकारले यो धानलाई पञ्जीकरण गरेको थियो । बिगतका बर्षहरुमा यो धान राम्रो उत्पादन हुँदै आएको बताईन्छ ।
धान खेतमा अहिले फौँजि किराको समेत प्रकोप देखिएको छ । यसअघि यसको प्रकोप नफैलिएको पाईएको भनिएपनि पछिल्लो समय यो किराको प्रकोप अत्याधिक मात्रामा देखिएको छ ।
ढिला तयार हुने धानमा यो किराले क्षति पुर्याईरहेको पाईएको छ । यो किरा दिउसोमा नदेखिने तथा रातिमा क्षेति पुर्याउने गरेको जनाईएको छ । यस्तै यो किराको प्रकोपबाट बच्न कृषकहरुले धानको दाना अलिअलि पहेँलो भएपछि काटिहाल्नु पर्ने कृषी ज्ञान केन्द्र बाँकेले अनुरोध गरेको जनाईएको छ ।
यसबर्ष गरिमा जातको धान नपसाएपछि तथा फौँजि किराको समेत प्रकोप फैलिएपछि गतबर्ष भन्दा यो बर्ष धान उत्पादन घट्ने ठाकुरबाबा नगरपालिका कृषी शाखाका प्रमुख धुब्रराज बमले बताउनुभयो ।
यस्तै देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमा वर्षेनी ६३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको बताईएको छ । यस वर्ष धान नफलेपछि २ दशमलव ०३ प्रतिशत धान उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ । भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा समेत चुनौती थपिएको छ ।
बर्दिया सहि देशभरका अन्य क्षेत्रमा पनि गरिमा भनिएका जातका धानको अवस्था उस्तै छ । जसका कारण यसवर्ष बर्दियामा धान उत्पादन घट्ने निश्चित छ । प्राकृतिक रुपमा गवारो किराको प्रकोप झेलिरहेका किसान व्यापारीबाट ठगिएपछि दोहोरो मर्कामा परेका छन् । धान काट्ने बेलासम्म पनि नफलेपछि किसान समस्यामा परेको राजापुरका सहायक बडघर दिपक चौधरीले बताउनुभयो ।
राजापुरमा लगाईएको धानमा समस्या देखिएपछि प्रदेश नम्बर ५ कृषीमन्त्री आरती पौडेल, बर्दियाका प्रदेश सांसद, कृषि वैज्ञानिक लगायत सरोकारवालाको टोलीले धान लगाईएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।
गरिमा जातको धान नपसाएको पाईएको छ, पीडितहरुले उजुरी दिएमा सप्लार्यसलाई कारबाही प्रकृया अघि बढाउने र प्रदेश सरकारबाट किसानहरुलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने मन्त्रीले प्रतिबद्धता जनाउनु भएको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।