प्रदेश अलग भए पनि सदियौंदेखिको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धका कारण भेरीगंगा र गुर्भाकोट नगरपालिका मात्र होइन सिङ्गो कर्णालीवासीले नेपालगन्जसंग सम्बन्ध अलग भएको महसुस गर्दैनन् ।
सुर्खेत – ‘तपाई भेरी नदीको छेउछाउमा पुग्नु भयो भने गोवा (भारत)को समुन्द्रको किनारमा गएको अनुभूति गर्न सक्नुहुन्छ,’ कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि पूर्व भेरी नदीको किनारै किनारको सुन्दर ठाउँमा पर्ने भेरीगंगा र गुर्भाकोट नगरपालिका पर्यटन क्षेत्रमा उदाउँदै गरेको रिपोर्टिङ गरेका पत्रकार कमल डाँगीले दैनिक नेपालगन्ज सँग भने, ‘पर्यटनमा नयाँ सम्भाव्यताका रुपमा देखा परेको भेरी कोरिडोरका लागि नेपालगन्ज प्रवेश केन्द्र बन्नसक्छ ।’

नेपालगन्ज मानसरोवरको प्रवेशद्वारमात्र होइन, व्यवसायीहरुले नयाँ सम्भावना पहिल्याउँदा गुर्भाकोटको खटाङ क्षेत्रलाई आफुसँग जोड्नुपर्छ । जो भेरी नदीको किनारमा छ, जहाँ ¥याफ्टिङ सहितको समुन्द्र किनार जस्तो बनाउन खोजिंदै छ । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन भन्छन्,–‘हामी पर्यटन र कृषि क्षेत्रबाट यहाँको आर्थिक अवस्था उकास्न के–के गर्न सकिन्छ भनेर लागिपरेका छौं ।’ धार्मिक तथा प्राकृतिक महत्व बोकेको ठाउँ घुम्ने । त्यो पनि एक दिनमै ! कहाँ सम्भव हुनु ? नेपालगन्ज हुँदै भेरीगंगा–गुर्भाकोटदेखि कुपिन्डेतालक्षेत्रलाई नयाँ पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिंंदै छ । प्रदेश फरक भए पनि भेरीगंगा र गुर्भाकोट सहित सिङ्गो कर्णालीसंग नेपालगन्जको खास सम्बन्ध छ । सामाजिक, धार्मिक, आर्थिक सम्बन्धले प्रदेश फरक भएको अनुभूति गराएको छैन । त्यसकारण भेरीगंगा र गुर्भाकोटमा विकास हुने पर्यटन रुटले नेपालगन्जलाई पनि प्रभावित गर्छ । अहिले पनि कयौं मानिसहरु यो रुट हुँदै धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलको घुमघाम गरिरहेका छन् । तर व्यवस्थित पर्यटकीय रुटका रुपमा स्थापित हुन भने सकेको छैन् ।

यो रुटमा अहिले अधिकांस ठाउँमा पिच बाटो छ । पिच नभएको ठाउँमा ग्राभेल बाटो पुगेको छ । यातायातको सञ्जाल जोडेकाले पर्यटकलाई आवातजावतमा कुनै कठिनाई हुने छैन् । प्रदेश सांसद ठम्मर बिष्ट गुर्भाकोट र भेरीगंगालाई पर्यटकीय हब बनाउने प्रशस्त सम्भावना भएको बताउँछन् । उनी भन्छन्,–‘प्रचार, प्रसार गरी देश दुनियामा यो क्षेत्रलाई चिनाउने गरी योजनाहरु बनाइरहेका छौं ।’ स्थानीय तहले यातायात, बिजुली, खानेपानी जस्ता विकासका पूर्वाधार तयार गरिरहेको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन बताउँछन् । उनी भन्छन,–‘यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन कसरी सकिन्छ भनेर लागिपरेका छौं । हामीले केही नयाँ काम पनि गरिरहेका छौं ।’
गुर्भाकोट नगरपालिकाले मात्र प्याराग्लाईडिङ्ग, भेरी नदीमा र्याप्mटीङ, ट्याकिङ्क रुट तयार गर्दै छ । यसको सम्भाव्यता अध्ययन भइरहेको नगर प्रमुख पुनले बताए । अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रको पर्यटकीय विकासमा काम गरिरहेका छन् । प्रदेश तथा केन्द्र सरकारको ध्यानार्कषण भएको छ । यहाँ देउतीबज्यै गंगामाला मन्दिर, चमेरे गुफा रहेको छ । त्यस्तै गुर्भाकोटमा गुर्भाकोट , खटाङ्क क्षेत्र, दह ताल, गुफा रहेका छन् ।

भेरी डाईभर्सनको मुहानमा बन्ने ठुलो जलाशयले पर्यटक तान्ने निश्चित छ । त्यसक्षेत्रमा हुने पर्यटकीय विकासले बाँकेलाई प्रत्यक्ष पार्ने बताउँछन, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपाने । यही रुट हुँदै कुपिन्डे तालको दर्शन गरी फर्किएका न्यौपानेले भने,–‘ निकै सुन्दर ठाउँ रहेछ । यसले धार्मिक तथा प्राकृतिक सौन्र्दयतामा रमाउन चाहनेलाई तान्ने निश्चित छ ।’ कुनै बेलाको सामान्य गाउँ गाभरलाई होमस्टेका रुपमा देशभर चिनाउन सकेका कृष्ण चौधरीले भेरीगंगा–गुर्भाकोट क्षेत्रलाई नजिकबाट नियालेका छन् । उनी भन्छन,–‘बाँकेसंग जोडेर त्यहाँको पर्यटकीय विकास गर्न सक्नुपर्छ ।’ बाँके, बर्दिया लगायत भारतसम्मका पर्यटक तान्ने गरी योजना बनाउन सक्नुपर्ने उनको सुझाव छ । चौधरी भन्छन,–‘तर त्यसका लागि अन्तरपालिकाका जनप्रतिनिधिबीच कम्तिमा पर्यटनका क्षेत्रमा समन्वय र सहकार्य हुनुपर्छ ।’ ‘क्याम्प फायर’ गुर्भाकोट–४ झालपरमा ‘क्याम्प फायर’ हुन थालेको छ । पर्यटनका क्षेत्रमा फड्को मार्दै गएको गुर्भाकोटको उक्त लेकमा क्याम्प फायरका लागि युवाहरु जाने गरेका छन् । दशैंको अवसरमा बिदा मनाउन घर आएकाहरुले पहिलो पटक उक्त ठाउँमा रात बिताए । क्याम्प फायरका लागि झारेपर अत्यन्त उपयुक्त भएको त्यहाँ पुगेका प्रमुल पुन मगरले बताए । उनले भने,–‘क्याम्प फायर यताको लागि नयाँ कुरा हो । तर, निकै आनन्ददायी ठाउँ रहेछ । पर्यटनका लागि अति नै उपयुक्त लाग्यो ।’ मेहलकुनाबाट आठ जना युवा पिकअप भ्यानमा त्यहाँ पुगेका थिए ।

झारेपर गुर्भाकोटको मुकाम मेहलकुना–बोटेचौरदेखि उचाईमा पर्छ । बोटेचौरसम्म मोटरसाइकलमा जान पिच बाटो छ । त्यहाँबाट माथि उकालो चढ्न भने कच्ची बाटो प्रयोग गर्नुपर्छ । भर्खरै बाटो बन्दै गरेका कारण मोटरसाइकलमा जान जोखमयुक्त नै मानिन्छ । केही वर्षभित्रै उक्त बाटो पिच हुन सके आवातजावत सहज हुन्छ । यद्यपी पहिलो पटक बाटो पुगेपछि त्यहाँका नागरिकको दैनिकी सहज मात्र बनेको छैन पर्यटकीय दृश्यावलोकनका लागि सर्बसाधारण जान थालेका छन् । बोटेचौर भन्दा माथि पिकअप भ्यान प्रयोग गर्न सकिन्छ ।
क्याम्प फायर गरेर फर्किएका प्रमुलका अनुसार, लेकमा पुगेपछि अत्यन्त मनमोहक दृश्य देख्न पाईन्छ । गोछेफाँट र वरीपरीका पहाडमा दृश्य हेर्न सकिन्छ । ‘माथि साँझ चसो हावा चल्छ । राती भने न्यानो लाग्यो । हामी टेन्टमा बसेका थियौं ।’– प्रमुलले भने,–‘लोकल कुखुरा लगायत अन्य परिकार आफै लिएर गएका थियौं ।’ गाउँदेखि टाडा रहेका कारण क्याम्प फायर गर्दा स्थानीयलाई कुनै समस्या पनि हुँदैन । गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताएका छन् । वडा नं. ४ का अध्यक्ष प्रशन्न शाहले यातायातको सुगमतासगै पर्यटकको आकर्षण बढ्ने उल्लेख गरे ।
भेरीगंगा नगरपालिका
नगर प्रमुख :भुपेन्द्र बहादुर चन्द

जनसंख्याको हिसाबले सुर्खेत जिल्लाका नौ वटा स्थानीय तहमा चौथो क्रममा रहेको यस नगरपालिका चौथो स्थानमा रहेको छ । २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्या ४१ हजार ४ सय ७ जना, पुरुष १९ हजार १ सय ४५ जना र महिला २२ हजार २ सय ६२ जना रहेका छन् भने क्षेत्रफल २५६.२ वर्ग कि.मी. रहेको छ ।
क्षेत्रफलको हिसाबले सुर्खेतका ५ नगरपालिकामध्ये यो नगरपालिका तेश्रो ठूलो नगरपालिका हो । यस क्षेत्रमा उद्योग, व्यापार, पर्यटन, व्यावसायिक कृषि पशुपालनको माध्यमबाट यस क्षेत्रका मानिसहरुको जिविकोपार्जन भएको देखिन्छ ।
सुर्खेतको पूर्व पश्चिम राजमार्गसम्म जोड्ने रत्न राजमार्गको अधिकतम खण्ड यसै नगरपालिका अन्र्तगत पर्ने र सुर्खेत जाजरकोट सडक पनि यसै नगरपालिका हुँदै जाने दु्रत आर्थिक विवकासको प्रवल सम्भावना यस नगरपालिकाले बोकेको छ । सबै जातजातिहरुको मिश्रीत बसोबास रहेको यस नगरपालिकामा विशेष गरी क्षेत्री, ब्राह्मण, दलित तथा मगर जातीहरुको बसोबास रहेको छ भने आदीबासी लोपोन्मुख राजी समुदायको पनि बसोबास रहेको छ । यो क्षेत्रमा खेतीयोग्य जमीनभएपनि सिंचाई अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरु जिविकोपार्जनका लागि व्यावसाय, कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य बैकल्पीक रोजगारीका अवसरहरु खोजी गरेको पाइन्छ । नगरपालिकाको नाम भेरीगंगा नामाकरण गर्नुमा यस क्षेत्रमा बग्ने भेरीनदी र स्थानिय गंगामाला देउतीबज्यै मन्दिरको उत्पती स्थल रहेको पाइन्छ । यी दुबैको समिश्रणबाट भेरीगंगा राखिएको हो । वि.सं. २०७३ भाद्र १३ गतेको स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सुर्खेतको बैठकबाट यसलाई १३ वटा वडामा विभाजन गरिएको हो । यो नगरपालिकाको पूर्वमा गुर्भाकोट न.पा. र कालीमाटी गाउँपालिका सल्यान, पश्चिममा बराहताल गाउँपालिका, उत्तरमा लेखवेशी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका तथा दक्षिणमा बर्दिया राष्ट्रिय निकुन्ज र बासगढी नगरपालिका बर्दिया पर्दछन् । उक्त नगरपालिकाको नगर प्रमुख भुपेन्द्र बहादुर चन्द
छन् भने उपप्रमुख रेणु आचार्य ढकाल हुन् ।
गुर्भाकोट नगरपालिका
नगर प्रमुख : हस्त पुन

कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित यो नगरपालिका यस जिल्लाको दोस्रो नगरपालिका हो । साविका दहचौर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असोजमा बेनेको थियो भने यसमा साविका सहारे, मालारानी र धारापानी गा.वि.स. थप गरी २०७३ फागुन २७ गुर्भाकोट नगरपालिका घोषणा भएको हो । यस नगरपालिकाको २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ४३ हजार ७ सय ६५ जना रहेकोमा पुरुष १९ हजार ८ सय ८२ र महिला २३ हजार ८ सय ८३ जना रहेका छन भने क्षेत्रफल २२८।६० वर्ग कि.मी रहेको छ । यस क्षेत्रमा व्यापार, उद्योग, पर्यटन, व्यवसायिक कृषि पशुपालन माध्यमबाट यस क्षेत्रका मानिसहरुको जिविकोपार्जन भएको देखिन्छ । यस नगरपालिकामा सवै प्रकारका
जातजातीहरुको मिश्रित प्रकारको बसोवास रहेको देखिन्छ । विशेष गरी ब्राहमण, क्षेत्री, मगर, राजी तथा दलितहरुको उच्च बसोबास रहेको छ ।
यस क्षेत्रमा मगरहरुको उल्लेखनिय बसोबास रहेका पाइन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाइ मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ भने मगर भााषाको पनि प्रचलन रहेको छ । यस क्षेत्रमा खेतीयोग्य जमिन भए पनि सिचाइको अभाव, तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरु जिविकोपार्जनका लागि व्यवसाय,कृषि, पशुपालन ज्याला मजदुरीका अतिरिक्त अन्य बैकल्पिक रोजगारीका अवसहरु खोजिरहेको पाइन्छ । नागरपालिकाको नाम गुर्भाकोट नामाकरण गर्नुमा यस क्षेत्रको ऐतिहासिक बाइसे राज्यको रुपमा रहेको गुर्भाकोट हो ।
प्रारम्भमा सल्यान जिल्ला रहेपनि यो क्षेत्र २०१८ सालको १४ अंचल ७५ जिल्ला विभाजन पछि सुर्खेत जिल्लामा गाभिन पुगेको हो । यस नगरपालिकाको पुर्वमा सिम्ता गाउँपालिका र सल्यान जिल्ला पश्चिममा भेरी गंगा नगरपालिका र लेखवेशी नगरपालिका दक्षिणमा सल्यान जिल्ला र उत्तरमा लेखवेशी नगरपालिकाको विचमा गुर्भाकोट नगरपालिका रहको छ । यस नगरपालिकाको राजधानि मेहेलकुना रहेको छ । यसको नगर प्रमुख हस्त पुन छन् भने उपप्रमुख मैना बिक हुन् ।