नेपालगन्ज -नेपालगन्जको नमस्ते बचत तथा ऋण सहकारी संस्थाले ५० लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । शनिबार नेपालगन्जमा भएको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभामा संस्थाले आ.व. २०७५÷०७६ मा ५० लाख ९२ हजार २ सय ८६ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जानकारी दिइएको हो । संस्थाले अघिल्लो आ.व. भन्दा ५.२५ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो ।
संस्थाका अध्यक्ष विष्णु बहादुर रिमालको अध्यक्षतामा भएको साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा संस्थाले अघिल्लो आ.व. भन्दा सम्पत्ति, शेयरपूँजी, निक्षेप संकलन र ऋण लगानी वृद्धि भएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
संस्थाले जगेडा तथा कोषहरु ह्वात्तै वृद्धि गरेको छ । संस्थाले आ.व. ०७४÷०७५ को तुलनामा आ.व. ०७५÷०७६ मा ४२ प्रतिशत भन्दा बढी ती कोषहरुको वृद्धि गरेको हो । संस्थाको आर्थिक प्रतिवेदन अनुसार, आ.व. ०७४÷०७५ मा संस्थाको जगेडा तथा कोषहरु १ करोड १३ लाख ३८ हजार ९ सय ८१ रुपैयाँ रहेको थियो । जसमा वृद्धि भई आ.व. ०७५÷०७६ मा १ करोड ६२ लाख २ हजार ३९ पुर्याइएको छ ।
संस्थाको शेयर पूँजी आ.व. आ.व. ०७५÷०७६ मा ४ करोड ३१ लाख ३५ हजार रुपैयाँ पुगेको छ । संस्थाले सोही आ.व.मा ५२ करोड ९८ लाख ३५ हजार ४ सय ४० रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको जानकारी दिएको छ । जुन त्यसअघिको आ.व. भन्दा ८.३४ प्रतिशतले बढी हो ।
संस्थाले आ.व.०७५÷०७६ मा ५८ करोड १ लाख ६७ हजार ६ सय ९९ रुपैयाँ ऋण लगानी गरेको जानकारी गराएको छ । संस्थाले कर्जा जोखिम कोषमा १ करोड १ लाख ८६ हजार ८१ रुपैयाँ पुर्याएको छ ।
साधारणसभामा आ.व. ०७५÷०७६ मा आर्जन गरेको मुनाफाबाट विभिन्न कोषहरुमा बाँडफाँड गरी लाभांशको लागि छुट्याइएको १० प्रतिशतका वितरणको निर्णय समेत गरिएको थियो ।
संस्थाले चालु आ.व.बाटै लागु हुने गरी नियमित र अवधि भित्र मासिक किस्ता तिर्ने ऋणीलाई ब्याजमा ३ प्रतिशत छुट दिने जानकारी दिएको छ । संस्थाले आबद्ध सदस्यहरुका छोराछोरी मध्येबाट दुई जना छात्रछात्रालाई १० हजार छात्रवृत्ति दिने, नियमित कारोबार गर्ने ६५ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई पोषण भत्ता वापत बार्षिक ६ हजार उपलब्ध गराउने जानकारी दिएको छ ।