नेपालगन्ज – नेपाल इलेक्ट्रोनिक्स एशोसिएसन (एनइए) बाँकेले बुधबार चौथो बार्षिक साधारणसभा गरेको छ । एनइए बाँके अध्यक्ष चिरञ्जीवि ओलीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले व्यवसायिक समस्याहरुको बारेमा चर्चा गरेका थिए । उनीहरुले खुला सीमानाका कारण अवैध रुपमा भित्रिने इलेक्ट्रोनिक्स सामानहरुका कारण कर तिरेर इमान्दारिपूर्वक व्यवसाय गर्नेहरु मर्कामा परेको धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले सेवाग्राही सस्तो भन्दै सीमापारी जाने गरेकाले त्यसलाई सबै मिलेर न्यूनीकरण गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष ओलीले सीमामा नाकाबाट सामान भित्रिंदा इन्ट्री अनिवार्य गरिनुपर्ने धारणा राखेका थिए । ‘खुला सीमानाका कारण नेपालगन्जका व्यवसायीले झेल्नु परेको समस्याको निवारण कहिले हुने ?’, अध्यक्ष ओलीले प्रश्न गरे । उनले सरकार, व्यवसायी र सर्वसाधारण मिलेर देशभित्रको व्यापार प्रवद्र्धन गर्ने प्रयासमा जुट्नु पर्ने बताएका थिए ।
कार्यक्रमका वक्ताहरुले खुला सीमाना र विना भन्सार भित्रिने सामानलाई नरोक्ने हो भने नेपालगन्जको व्यवसाय अझै खस्कदै जाने भन्दै चिन्ता व्यक्त गरेका थिए ।