मर्ज भए तीन बैंक

हकप्रद शेयर निष्काशन गरी पूंजी बृद्धि गरिने

नेपालगन्ज – नेपालगन्जमा प्रधान कार्यालय रहेको भार्गव विकास बैंक अन्य दुई बैंकसँग मर्ज भएको छ । रुपन्देहीको शाइन रेसुङा डेभलपमेण्ट बैंकमा पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक गाभिएका हुन् । तीन वटा विकास बैंक एकीकृत भएपछि सेवा बिस्तार तथा प्रभावकारितामा थप बल पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।


रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेड र बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेड गाभिएर एकीकृत कारोवार सोमबारदेखि सञ्चालनमा आएको हो । गाभिएपछि बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड रहेको छ ।


१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिएका छन् ।


तीन वटा बैंक गाभिएपछि कार्यक्षेत्र र कारोबार पनि बढेको छ । ‘बैंकको चुक्ता पूंजी रु. २ अर्व ६२ करोड, निक्षेप परिचालन रु. २६ अर्व ८७ करोड पुगेकोछ’, बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले भने, ‘कर्जा लगानी रु. २३ अर्व ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ ।’


गाभिएको बैंकले राष्ट्रिय स्तरमा कार्यक्षेत्र बिस्तार गर्ने योजना बनाएको छ । त्यसका लागि राष्ट्र बैंकसँग स्वीकृति प्राप्त गरी हाल कायम रहेको चुक्ता पूंजीको चार शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने बैंकले जानकारी दिएको छ ।
‘एक्विजिशन पश्चात थप उत्कृष्ट, विश्वसनीय र सहज बैंकिग सेवा प्रदान गरिनेछ’, एकीकृत कारोबार शुभारम्भको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया