तुलसीपुर – सरकारले सुरु गर्न लागेको भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियानको सुरुवात गरेको छ । तुलसीपुरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले यस्तो अभियानको सुरुवात गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले साँस्कृतिक , प्राकृतिक र ऐतिहासिक नगरका रुपमा तुलसीपुरलाई स्थापित गर्नका लागि विभिन्न योजना निर्माण गरिएको पनि वताए ।
तुलसीपुर थारुहरुका राजा दंगिशरण थारुदेखि छल्ल राजाहरुले राज्य गरेको ठाउँ मानिन्छ । धार्मिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको मालिका कालिका मन्दिरसँगै ववई सभ्यतासँग जोडिएको ववई नदी समेत यहाँ रहेको छ । पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा नेपाल संस्कृत विश्वविद्यालयका साथै एसियाकै दोस्रो ठूलो गुफाका रुपमा तिन तलाको चमेरे गुफा समेत यहाँ रहेको छ ।
पर्यटकीय आकर्षणका केन्द्र भएर पनि उचित प्रचार प्रसार हुन नसक्दा यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न नसकिएको भन्दै उपमहानगरपालिकाले अभियानको सुरुवात गरेको पनि नगरप्रमुख पाण्डेले जानकारी दिए ।
उपमहानगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरेर पम्प्लेट, पोस्टर र व्रोसर प्रकाशन,तुलसीपुरका पर्यटकीय क्षेत्रसँग सम्वन्धित विषयमा भिडियो तथा फोटो प्रतियोगिताका साथै तुलसीपुरलाई आधार वनाएर सिनेमा या वृत्तचित्र छायांकन गर्नेलाई अनुदान दिने समेत व्यवस्था गरेको छ । ‘पर्यटनको गतिविधिलाई प्रभावकारी वनाउनका लागि समिति समेत वनाएर अगाडि वढ्नेछौ’ नगरप्रमुख पाण्डेले भने ।
उपमहानगरपालिका भित्र थारु, मगर र गुरुङ जातिको वाहुल्यता रहेको ठाउँमा होमस्टे सञ्चालनका लागि तयारी समेत उपमहानगरपालिकाले गरिरहेको छ । ‘यो वर्ष पाँच ठाउँमा होमस्टे सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ ’ नगरप्रमुख पाण्डेले भने । उनले भ्रमण वर्षलाई लक्षित गरेर १ लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको समेत जानकारी दिए ।
यसैविच घुम्न जाउँ तुलसीपुर अभियानको प्रचार प्रसारका लागि तुलसीपुरका दुई युवाले देशभर मोटरसाईकल यात्रा गर्ने भएका छन् । स्थानीय वसन्त भण्डारी र मनराज पुन भ्रमण वर्षको सन्देश वोकेर मुलुकभरका ५५ जिल्लामा जाने भएका हुन् । शुक्रवारबाट यात्रा सुरु गर्न लागेका उनीहरुलाई उपमहानगरपालिकाले विदाई गरेको थियो । उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।