हवाई भाडाको फरकदर बारे छलफल

नेपालगन्ज – नेपालगन्ज र नेपालगन्ज—काठमाण्डौ हवाई भाडामा भएको फरकपन र उपभोक्तालाई परेको असुबिधा बारे नागरिक उड्यन कार्यालय र बिभिन्न एयरलाईन्सका प्रमुखसंग संयुक्त बजार अनुगमन समितिका सदस्यहरुले छलफल गरेका छन् ।

नेपालगन्ज नागरिक उड्यन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुर, बुद्ध एयरका स्टेशन म्यानेजर बिनित शाह, श्री एयरलाईन्सका स्टेशन इन्चार्ज प्रशुराम चौधरी र यति एयरलाईन्सका स्टेशन म्यानेजर दिलिप कार्कीसंग उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतम, नगर अध्यक्ष सुरेन्द्र दिप कार्की, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका नासु महेश्वर प्रसाद पौडेलले एयरलाईन्सको भाडादर निर्धारण र उपभोक्तालाई परेको असुबिधाबारे छलफल गरेका थिए ।

बडा दशै नजिकिदै जादा हवाइजहाज काठमाडौंबाट नेपालगन्ज आउने यात्रुहरुको टिकटदर १० हजार भन्दा कम नहुने तर नेपालगन्जबाट काठमाडौं जाने टिकटदर ३ हजारसम्मको पाइने गरेको सन्दर्भमा उपभोक्ताले एउटै दुरीको यात्रामा टिकटदरमा भएको फरकपन बारे प्रश्न उठाउने गरेका छन् ।

छलफलका क्रममा सरकारले काठमाडौं नेपालगन्जको हवाईभाडादर रु १० हजार निर्धारण गरेको र सो भन्दा बढी कुनै पनि एयरलाईन्सले भाडा नलिएको नेपालगन्ज नागरिक उड्यन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भने । सरकारले निर्धारण गरेको मापदण्ड भन्दा बढी आफुहरुले भाडा नलिएको बरु यात्रुको सुबिधाको लागी निकै न्यून भाडादर लिएर उडाउने गरिएको बुद्ध एयरका स्टेशन म्यानेजर बिनित शाहले बताए । घाटा खाएर यात्रुलाई सुविधा दिदा उपभोक्ता ठगि नभै सुबिधा भएको श्री एयरलाईन्सका स्टेशन इन्चार्ज प्रशुराम चौधरीले बताए । जहाजका टिकट अनलाईनबाट काट्न सकिने र टिकटदरमा कुनै उपभोक्ता उपर भेदभाव नगरि समान ब्यवहार गर्ने गरिएको यति एयरलाईन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया