नेपालगन्ज – अनुगमन टोली जानकारी गाउँपालिकाको पिप्रहवा बजार क्षेत्रमा पुग्दा ब्यापारीहरु पसल बन्द गरि भागेका छन् ।
जानकी गाउँपालिका अन्तरगतको बजार अनुगमन टोली पिप्रहवा क्षेत्रमा पुग्दा त्यहाँका मेडिकल र केही किराना पसलका ब्यापारीहरु पसल बन्द गरेर भागेको देखिएको अनुगमनमा गएका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए ।
अनुगमन टोलीले किराना पसलमा भेटिएका म्याद नाघेका खाद्यबस्तुहरु नष्ट गरेको थियो । बजार अनुगमनका क्रममा मदिरा र खाद्य बस्तु एउटै पसल बिक्रि बितरण हुने गरेको, म्याद नाघेका, लेवल नभएका दालमोट, भुजा, लगायतका खाद्यबस्तु भेटिएको जानकी गाउँपालिकाका अधिकृत भलाराम पंगालीले जानकारी दिए ।
अनुगमनका क्रममा पिप्रहवा क्षेत्रका बजारमा म्याद नाघेका पेय पदार्थ, लेवल नभएका खाद्य बस्तु, भेटिनुका साथै केही पसलहरु दर्ता नगरि ब्यवसाय सञ्चालन गरेको पाईएको उपभोक्ता हित संरक्षण मञ्चका नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष सुरेन्द्रदिप कार्कीले जानकारी दिए ।
जानकी गाउँपालिको बजार अनुगमनमा गाउँपालिकाका प्रशासकिय अधिकृत अधिकृत भलाराम पंगाली, आर्थिक समिति संयोजक धर्मा थापा, पालिकाका पशु सेवा शाखा प्रमुख दिल बहादुर खड्का, कृषि शाखा प्रमुख धनञ्जय आचार्य, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका नासु महेश्वर प्रसाद पौडेल लगायतको सहभागीता रहेको थियो ।
पहिलो चरणमा गुणस्तरहिन वस्तु तथा सेवा प्रदायक ब्यवशायीलाई सचेत गराउने र सचेत गराउदा पनि अटेरी गर्नेलाई कानूनी कारवाही गरिने उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं जानकी गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धिलालले बताइन् ।