नेपालगन्ज – धेरै कमाऊ र धेरै बचाऊ भन्ने चाहना सबैको हुन्छ । पैसा बिना कसैको जीवन चल्न पनि गाह्रो छ । आफ्ना आवश्यकता, रहर वा सपना पूरा गर्ने साधन पनि पैसा नै हो । पैसा कसरी कमाउने र कसरी बचाउने भन्ने ज्ञान र सीप सबैमा हुनु आवश्यक हुन्छ । तर, धेरै ब्यवसायीहरुमा पैसा वा धन सम्पत्तिको सही व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने माध्यम वित्तीय साक्षरता अभाव पाइन्छ ।
वित्तीय साक्षरताभित्र वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण आदि विषय समेटिएका हुन्छन् । ब्यवसायीहरुमा यी सबै विषयको ज्ञान नहुँदा ब्यवसाय घाटामा जाने, आर्थिक जोखिम मोल्नुपर्ने लगायतका समस्या भोग्नुपर्ने अवस्था छ । वित्तीय साक्षरताले पैसाको योजना गर्न विभिन्न वित्तीय संस्थाले दिने सेवा सुविधाका बारेमा जानकारी र उपयुक्त वित्तीय निर्णय लिन सजिलो हुने भएपनि यहाँका ब्यापारी तथा आम नागरिकहरुलाई यस वारेमा ज्ञान नभएको ब्यवसायीहरु बताउँछन् ।
कुनै पनि आर्थिक कारोवार तथा ब्यवसाय गर्नु पुर्व सबै प्रक्रिया नबुझेर गर्दा बिभिन्न खालका जोखिम मोल्नुपर्ने अवस्थाको सिर्जना हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताए । ‘धेरै ब्यक्तिले कुनै पनि ब्यवसाय सञ्चालन गर्दा तथा बैंकमा पूँजीको कारोवार गर्दा सबै विधि प्रक्रिया नबुझिकन नै गरेको पाइन्छ, जस्का कारण धेरैले दुःख पाउने गरेका छन्’ श्रेष्ठले भने । पछिल्लो समय नेपाल राष्ट्र बैंकले पूँजीको कारोवारमा कडाइ गरेको बताउँदै श्रेष्ठले भने, ‘कुनै पनि कारोबार गर्दा बिधि र प्रक्रिया बुझेर मात्रै गर्नुपर्छ, जसले गर्दा चर्को व्याज र अन्य वित्तीय झन्झट व्यहोर्नु पर्दैन ।’ श्रेष्ठका अनुसार, बैंकबाट कुनै ब्यवसाय गर्ने भनेर बैंकबाट लिएको पुँजी बराबरको कारोवार अनिवार्य देखाउनुपर्ने र देखाउन नसके जोखिम मोल्नुपर्ने कानुनी ब्यवस्था छ । तर, यो विषय धेरैलाई थाहा नै छैन ।
वित्तीय साक्षरताले नयाँ–नयाँ प्रविधि अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले दिने विद्युतीय बैंकिङ सेवा सुविधा कसरी प्रयोग गर्ने भन्ने बारेमा सेवाग्राहीलाई जानकारी गराउने भएपनि आम नागरिक तथा विशेष गरि ब्यवसायीहरुमा वित्तीय साक्षरताको अभाव हुँदा बिभिन्न झन्झड बेहोर्नुपरेको पाइन्छ । सही तरिकाले पैसाको व्यवस्थापन गर्ने ज्ञान र सीप दिने, आवश्यकताका आधारमा वित्तीय योजना बनाउन, बचत गर्ने बानी विकास गर्न, आकम्मिक रूपमा आइपर्नसक्ने वित्तीय चुनौती व्यवस्थापन गर्न र कुनै न कुनै व्यवसाय सञ्चालन गरी परिवारको आम्दानी बढाउनका लागि वित्तीय साक्षरता महत्वपूर्ण भएको नेपालगन्ज उद्ययोग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
‘उद्योग क्षेत्रको विकासले राष्ट्रिय आय, रोजगारीका अवसर सिर्जना, प्रतिव्यक्ति आयमा वृद्धि, पूँजी निर्माण, लगानीका थप अवसरको सिर्जना, औद्योगिक र व्यावसायिक संस्कृतिको विकास गर्दै राष्ट्रिय उत्पादनमा वृद्धिकामा महत्वपूर्ण भूमिका खेल्ने भएपनि राज्यले उपयुक्त स्थान दिन सकेको छैन’, वैश्यले भने । कमजोर व्यवस्थापन, हचुवाको भरमा राजश्व तथा मूल्य निर्धारण, बैँक अनुसार फरक, फरक ब्याजदर, ब्यापारमा अस्वस्थ प्रतिस्पर्धा, परियोजना लागत वृद्धि, साधन र स्रोतको उचित परिचालन र सम्भार नहुनु, ब्यवसायी ज्ञान र अनुभव नहुनु कमसल गुणस्तर र अध्ययन अनुसन्धानको कमीले गर्दा नेपाली ब्यवसायमा समस्या उतपन्न भएको वैश्यको भनाइ छ ।
कुसल गाइ फोम खजुरा गाउँपालिका वडा नम्बर–२ सितापुरकी सञ्चालिका सुजता खरेलले वित्तीय कारोबार कसरी गर्ने भन्ने विषयमा जानकारी नहुँदा धेरै ब्यक्तिहरु आर्थिक कारोवार गर्नबाट बञ्चित हुनुपर्ने बताइन् । उद्यमशीलता सम्बन्धी जानकारीहरू वित्तीय साक्षरताबाट लिन सकिने खरेलको भनाइ छ । ‘ग्रामीण भेगमा अझै बैंकिङ पहुँच नपुगेको बताउँदै खरेलले भनिन्, ‘सहरी क्षेत्रमा बैंकको सुविधा भएपनि बैंकिङ सुविधा बारे सबैलाई जानकारी छैन ।’ सुरुमा ब्यवसाय दर्ता गर्दा कहाँ गर्ने, कसरी गर्ने, गर्दा प्रक्रिया के हो ? थाहा नहुने र कति पूँजी लगानीमा कती ऋण पाइन्छ सो वारेमा थाहा नहुँदा ब्यवसाय सञ्चालनमा समस्या हुने गरेको उनको भनाइ छ ।
वित्तीय ब्यवस्थापनको बारेका नयाँ कानुन तथा प्रक्रियाको वारेमा ब्यवसायीहरु जानकार नहुँदा धेरैले बिभिन्न खाले झण्झट बेहोर्नुपर्ने अवस्था आउने गरेको सनराइज बैंक नेपालगन्जका प्रवन्धक अर्जुन अर्यालले बताए । राज्यलाई कर तिर्नु भनेको ब्यापारमा नोक्सान हो भन्ने बुझाइ ब्यवसायीहरुको भएको बताउँदै अर्यालले भने, ‘नेपालको नयाँ कर प्रणालीको वारेमा जानकारी नहुँदा ब्यवसायीहरुले पछि दुख पाउने गरेका छन् ।’ नेपालगन्जका किराना पसल व्यवसायी शैलेन्द्र कुमार बैश्यले नेपाल सरकारले मनोमानी करको दर निर्धाण गरेको बताए । ‘अघिल्लो वर्षसम्म २० लाख सम्मको कारोवार गर्ने ब्यपारीले ५ हजार राजश्व बुझाए हुनेमा अहिले हरेक दिनको आय, ब्यायको विवरण डेबुकमा राख्नुपर्ने, खरिद तथा बिक्री खाता दुरुस्त राख्नुपर्ने ब्यवस्था छ यो वारेमा सबैलाई जानकारी छैन,’ वैश्यले भने । वित्तीय चेतना नभएका कारण सर्वसाधारणमा बचत गर्ने बानीको विकास हुन नसकेको वैश्यको भनाइ छ । लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सके मुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानु पर्ने बाध्यताको अन्त्य हुने ब्यवसायीहरुको भनाइ छ ।
ब्यक्तिलाई आफ्नो आवश्यकताको आधारमा वित्तीय लक्ष्य बनाउने, बचत गर्ने बानीको विकास गर्ने, आफ्नो पारिवारिक आयव्ययको लेखाजोखा तथा खर्चका प्राथमिकता निर्धारण गर्ने पारिवारिक बजेट बनाई त्यसका आधारमा खर्च गर्ने बानी बसाल्ने ज्ञान सीप दिन, वित्तीय सचेतनाको आवश्यकता भएको उनीहरु बताउँछन् । त्यसका अतिरिक्त उपयुक्त व्यवसायको छनोट र सञ्चालन, रकमको उपयुक्त प्रयोग र कानुनी प्रावधानको वारेमा आम नागरिकलाइ जानकारी दिन वित्तीय साक्षरता जरुरी छ । बिभिन्न कानुनी झण्झटबाट बच्नका लागि समेत वित्तीय सचेतना आवश्यक देखिन्छ ।