नेपालगन्ज – नेपालीहरूको महान चाड दशैं नजिकिए सँगै बजारमा दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य एकाएक बढेको छ । बजारमा पिठो, मैदा, चामल, दाल, तेल, तरकारी जस्ता खाद्य सामाग्रीको मूल्यमा वृद्धि भएको हो ।
एक महिना अघिदेखि नै उपभोग्य बस्तुको मूल्य वृद्धि हुन थालेको हो । दैनिक उपभोग्य बस्तुको मूल्य प्रतिकेजीमा दुई रुपैयाँदेखि देखि १० रुपैयाँसम्म र प्रति पेटिमा १० देखि २० रूपैयाँसम्म बढेको छ । केही दिनदेखि उद्योगले मुल्य बढाउँदै डिलर र बिक्रेताहरूलाई खाद्य सामग्री पठाइरहेका छन् ।
अन्सारी किराना पसलका प्रोप्राइटर हारुन अन्सारीका अनुसार, केही समय अघि ५ किलोको २ सय ३५ रूपैयाँ पर्ने आटा अहिले २ सय ७८ रूपैयाँमा पुगेको छ । १ महिना अघि पेटिको १ हजार ४ सय ७० रुपैयाँ पर्ने खाने तेल अहिले थोक मुल्य १ हजार ४ सय ९० रूपैयाँ पुगेको छ । १ हजार ४ सय ३० मा पाइने सनमुन तेलको पेटीको मुल्य अहिले १ हजार ४ सय ५० रूपैयाँ पुगेको छ । त्यस्तै अन्य सबै तेल प्रति पेटिको मुल्य अहिले २० देखि ५० रुपैयाँ बढेको छ ।
चामलमा प्रति केजि दुई रुपैयाँदेखि पाँच रुपैयाँले बढेको छ भने २५ किलो चामलको बोरामा ५० रुपैयाँको दरले बढेको छ । नेपालगन्ज बजारमा जीरा मसिनो चामलको मुल्य ८० रुपैयाँ किलोको पुगेको छ । यस्तै बासमति चामलको मुल्य १ सय ६२, सोना मन्सुलीको ६५, सेला चामलको १ सय ६० रहेको छ । त्येसैगरि दालको मुल्य पनि निकै बढेको पाइएको छ । अहिले अरहर दाल १ सय ५० देखि १ सय ७० सम्म पुगेको छ । यो सबै बस्तुको मुल्य थोकमा बिक्रि गर्ने मुल्य हो । खुद्रा पसलहरुमा त झन् पसलै पिच्छे फरक–फरक पाइन्छ । माथिको मुल्यमा थोकमा खरिद गरि लिने खुद्रा ब्यापारीले प्रति किलोमा ५ देखि १० रुपैयाँ नाफा खाएर बिक्री गर्छन् । दशैको मुखैमा आएर दैनिक उपभोग्य बस्तुको यसरी मुल्य बढेपछि उपभोक्ताहरु मारमा परेका छन् ।
दशैको बेला मिठो खाने नयाँ लगाउने सबैको इच्छा हुन्छ । वस्तुको मुल्य बढेपछि त्यसको प्रत्यक्ष असर उपभोक्ताहरुलाई पर्ने गर्छ । ‘बजारमा सामान छोइसक्नु छैन, विगत एक महिनामा मुल्यले आकाश छोएको छ,’ नेपालगन्ज १० की रस्मिता पौडेलले भनिन् । उनका अनुसार, बजार भाउमा व्यापारीको मनोमानी छ ।
नेपालगन्ज किराना तथा खाद्या व्यवसायी संघका अध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष अव्दुल अहिद मन्सुरीले सरकारले आटा, मैदा तथा सुजिमा १३ प्रतिशत भ्याट लगाउँदा मुल्य बढेको बताए । पछिल्लो समय भन्सारमा प्रति किलो २ रुपैयाँका दरले राजश्व बढाउँदा चामलको मुल्य प्रतिकिलोमा २ रुपैयाँ बढेको उनले बताए । सरकारले नै भ्याट तथा राजश्व बढाउँदा खाद्यान्न बस्तुको केही मात्रामा मुल्य बृद्धि भएको बताउदै यसले उपभोक्तालाई खासै असर नगर्ने उनको भनाइ छ ।
मूल्य बृद्धिसँगै बजारमा अखाद्य बस्तुको बिक्री बितरण पनि बढ्न थालेको पाइन्छ । मूल्य बढ्दा बजारमा म्याद सकिएका र गुणस्तरहिन बस्तुको बिक्री पनि सस्तो मूल्यका नाममा बिक्री हुने गर्दछ । दशैंमा अखाद्य बिक्री हुन नदिन संयुक्त बजार अनुगमन समितिले केहि मात्रामा बजार अनुगमन कार्य गरेको भएपनि सक्रिय रुपमा अनुगमन हुन नसकेको उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य बसन्त गौतमले बताए ।
कर्मचारीको तलब बढेको आधारमा ब्यवसायीहरुले दैनिक उपभोग्य बस्तुको मुल्य बढाउनु भनेको उपभोक्ता ठगिनु बताउँदै मूल्य बृद्धिका सम्वन्धमा पनि स्थानीय प्रशासनको ध्यान जान नसकेको उनले गौतम बताउँछन् । दशैको मौका छोपी हुन सक्ने कालाबजारी रोक्नका लागि अनुगमन कार्यलाई तिब्रता दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताए । मुल्य बृद्धि नेपालगन्जको मात्रै नभएर देशैभरीको समस्या भएको बताउदै मुल्य बृद्धि, अखाद्य र गुणस्तरहिन बस्तुको बिक्रि वितरण रोक्न विशेष पहल गरिरहेको प्रजिअ खड्काको भनाइ छ । बजारमा मुल्यवृद्धि भएपनि सरकारको उपस्थिति देखिएको छैन । ‘मुल्यवृद्धिको कारण के हो भन्ने समेत उपभोक्ताले थाहा पाउन सकेका छैनन्,’ उपभोक्ता अधिकारकर्मी बसन्त गौतमले भने । खाद्यान्न पसलमा मुल्यसुची अनिवार्य राख्नुपर्ने कानुनी ब्यवस्था भएपनि धेरै पसलहरुमा मुल्य सुचि समेत राखेको पाइँदैन,’ गौतमले भने ।
नेपालगन्ज–४ का दिपेन्द्र बिष्टले दशैको मुखैमा आएर दैनिक उपभोग्य खाद्यान्न वस्तुको मुल्य बृद्धि हुनु भनेको गरिवहरु मारमा पर्नु भएको बताए । ‘विभिन्न बहानामा मुल्य बढाइ कालोबजारी बढिरहेको छ, यसको निराकरण गर्न सरकारको ध्यान जानुपर्छ र नागरिकहरु समेत जागरुक हुनुपर्छ,’ उनले भने ।
नेपालगन्ज–८ का स्माइल सिद्धीकीले चाडबाडको समयमा गरिवहरुलाई लक्षित गर्दै सहुलियत दरमा दैनिक उपभोग्य बस्तुहरुको उपभोग गर्ने ब्यवस्था मिलाउनु पर्नेमा उल्टै मुल्य बृद्धि हुँदा समेत सरकारको ध्यान जान नसक्नुले उपभोक्ता झन मर्कामा परेको बताए । मुल्य बृद्धिको नियमन गरि तत्काल समस्याको समाधान गर्न सरकारको ध्यान जान सक्नु पर्छ,’ उनले भने ।