वन उद्यमका लागि बैंक

नेपालगन्ज – वन उद्यमका लागि पूर्वाधार बैंक स्थापना गरिएको छ । नेपालगन्जका उद्यमी कपिल अधिकारीको नेतृत्वमा वन उद्यम पूर्वाधार बैंक लिमिटेडको स्थापना भएको हो । ‘हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक बनाउन हाम्रो प्रयास हो’, बैंकका अध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘सरकारले अघि सारेको समृद्धिका लागि वन भन्ने नारालाई निजी क्षेत्रका तर्फबाट सार्थक पार्न संगठित र व्यवस्थित प्रयास थालिएको हो ।’

सोमबार औपचारिक कार्यक्रम बीच राजधानी काठमाडौंमा वन, उद्यम पूर्वाधार बैंक लिमिटेडको औपचारिक शुभारम्भ गरिएको छ । आठ जना संस्थापकले एक करोड चुक्ता पूँजीबाट स्थापना गरेको पूर्वाधार बैंकको अधिकृत पूँजी २५ करोड छ । ‘यो एउटा नौलो प्रयास हो’, अधिकारीले छिट्टै संस्थापक शेयरको प्रक्रियामा कम्पनी अगाडि बढ्ने जानकारी दिंदै भने, ‘क्रमशः पब्लिक शेयर हुँदै यसले एउटा बृहत स्वरुप ग्रहण गर्नेछ ।’

वन तथा वातावरण क्षेत्रमा काम गर्न चाहने उद्यमीहरुलाई वन उद्यम पूर्वाधार बैंकले लगानी गर्नेछ । ‘अहिले लगानीका लागि विशेषज्ञ उपलब्ध गराउनेदेखि प्रोत्साहितसम्मका काम गर्नेछौं’, अधिकारीले दीर्घकालीन रुपमा ठूलो योजना बनाइएको जानकारी दिंदै भने, ‘भविष्यमा सानादेखि ठूला लगानीका उद्यममा ऋण उपलब्धसम्म गराउने उद्देश्य छ ।’

वन उद्यम पूर्वाधार बैंकले वृक्ष रोपण गर्नेदेखि तयार वृक्षको कटानीसम्मका काम पनि गर्नेछ । ‘त्यसका लागि हामी राजधानी नजिकै ठूलो क्षेत्रफलको वृक्षरोपण जग्गा खोज्दैछौं’, अधिकारीले वन खेतीलाई प्रोत्साहन दिने उद्देश्य सुनाउँदै भने, ‘हामीले रोपेका रुखहरु निश्चित समयमा तयार भएपछि कटानी गरी त्यसलाई वन, पैदावार उद्योगसम्म पुर्याउने छौं ।’ वन खेतीका लागि कानुन समेतमा लागेका अधिकारीले वन सम्बन्धी तमाम काम बैंकले गर्ने तयारी गर्ने उद्देश्य सुनाउँदै भने, ‘काठ चिरान तथा खरिद बिक्री मात्रै होइन अध्ययन, अनुसन्धान र परामर्श सेवाहरु पनि प्रवाह गरिनेछ ।’

होटल तथा मोटल सञ्चालन उद्देश्य समेत राखेको वन उद्यम पूर्वाधार बैंकले वन तथा वातावरणको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ । ‘वन क्षेत्र पर्यटकका लागि साहसिक गन्तव्य बन्न सक्नेछ’, वन पैदावार उद्योग महासंघमा लामो समयको नेतृत्व सम्हालेका अधिकारीले देशभरका तिनै व्यवसायीहरुलाई यस क्षेत्रमा संगठित गर्ने उद्देश्य राखेको सुनाउँदै भने, ‘वनबाट कसरी समृद्धि सम्भव छ भन्ने कुरा हामी सिद्ध गर्नेछौं ।’

प्रतिक्रिया

प्रतिक्रिया