नेपालगन्ज – सरकारी वित्तीय संस्थाको ३८ करोड बढी रकम अपचलन भएको प्रकरणमा गठित विज्ञ टोली, सहकारी वकिल र प्रहरीका अनुसन्धान अधिकृतबीच आइतवार प्रतिवेदनलाई लिएर छलफल भएको छ ।
गत भाद्र २२ गतेदेखि ५ सदस्यीय विज्ञ टोलीले गरेको खातापाता परीक्षण सकिएपछि प्रतिवेदनका लागि त्रिपक्षीय छलफल भएको हो । विशेषज्ञको टोलीले कागजात परीक्षण गरी प्रारम्भिक रिपोर्ट दिएपछि अब कसरी जाने भन्ने बारे छलफल भएको सम्बद्ध स्रोतको भनाइ छ । ‘प्रतिवेदन बुझाइसकेको होइन,’ परीक्षण सकिएकाले कुन कानुनको बेसमा प्रतिवेदन बुझाउन भन्ने छलफल हो,’ आइतवारको छलफलबारे सम्बद्ध स्रोत भन्छ, ‘ परीक्षणले पहिल्याएका तथ्यहरु राखिएको छ ।’
अनुसन्धानका आधारमा बिल्कुलै निर्दोष देखिएकाहरुलाई मुद्दा चलाउने वा नचलाउने बारे छलफल पनि गरिएको बताइएको छ । अनुसन्धाननै नगरि पक्राउ पुर्जी जारी गरेर चलखेल गरेको भन्दै प्रहरीका अधिकारीनै यसअघि विवादमा आएका थिए । ‘अनाहकमा कसैलाई फँसाउने नियत राखिनुहुन्न भन्नेमा हामी प्रष्ट छौं,’ विज्ञ टोलीका एक सदस्य दैनिक नेपालगन्जसँग भने, ‘प्रहरीलाई पनि अघिल्लो गल्ती सच्याउने मौका छ ।’ विभिन्न आर्थिक तथा राजनीतिक अभिष्ट पुरा गर्न ३५÷३५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेर आतंक मञ्चाइएको भन्दै प्रहरीको आलोचना भएपछि तत्कालिन अनुसन्धान अधिकारीनै सरुवामा परेका थिए ।
जिल्ला सहकारी संघका प्रतिनिधि, बचत तथा ऋण सहकारी संघका प्रतिनिधि, सरकारी वाणिज्य बैंकका सेवा निवृत्त अधिकृत लगायतलाई राखेर बाँके प्रहरीमा विज्ञ समूहले सहकारी वित्तीय संस्थाको खातापाता चेकजाँच गरिरहेको हो ।