नेपालगन्ज -बाँकेका महिला किसानहरुलाई दशै तिहारका लागि खसी बजारीकरण गर्दा ढुवानीको समस्या झेल्नु परेको किसानहरुले बताएका छन् । सामाजिक उद्यमी जिल्ला सहकारी संघ ढकेरी र वि ग्रुपको सयुक्त आयोजना तथा हेफर इन्टरनेशनल र राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा सम्पन्न दशै तिहार लक्षित खसी बजारीकरण कार्यक्रममा महिलाले दुःख गरेर पालेका खसी बोका बजारीकरण गर्न ढुवानी प्रमुख समस्या भएको बताएका थिए ।
बाँके र बर्दियाका १५ हजार महिला किसानले बाख्रा पालन गरेर तयार गरेको खसी खरिद बिक्री गर्दै आएको सहकारी सघंले ५ हजार खसी दशै तिहार भित्रमा काठमाडौ पठाउने तयारी गरे सँगै ढुवानी गर्दा समस्या बनेको हो । सहकारीमा आवद्ध बाँके र बर्दियाका ७० प्रतिशत महिलाले बाख्रा पालन गरेर सहकारी मार्फत विक्री गर्ने गरेका छन् । पहिले विचौलिया मार्फत अन्दाजको भरमा विक्री गर्ने महिला किसानहरुले हाल डिजिटल तराजुमा जोखेर उचित मुल्यमा विक्रि गर्ने गरेका छन् ।
महिलाहरुले उत्पादन गरेको खसीको कृतिम अभाव सिर्जना गर्न व्यापारीहरु नै लागेको सामाजिक उद्यमी जिल्ला सहकारी सघंका अध्यक्ष गंगा चन्द ठकुरीले गुनासो गरे । सहकारी संघले ढुवानीका लागि सम्पूर्ण मापदण्ड पुरा गरेपनि बीचमा सुरक्षाकर्मीले खसी लैजाने गाडि विना कारण रोक्ने दुःख दिने गरिएको प्रति खेद प्रकट गरे ।
खसी बजारीकरण कार्यक्रममा प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले सहज रुपमा खसी ढुवानी गर्न प्रदेश सरकारले समन्वयकारी भुमिका निर्वाह गर्ने बताइन् । उनले महिलाले बाँके र बर्दियामा खसि उत्पादनमा उल्लेख्य काम गरेको भन्दै ढुवानीमा अब कुनै समस्या आउन नदिन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनि कुमारी खत्री, वडाध्यक्षहरु, हेफर इन्टरनेशनलका क्षेत्रीय प्रवन्धक प्रकाश केसी लगायतको उपस्थिति थियो ।