मूल्य सूचि नराख्ने चामल उद्योगलाई ५० हजार जरिवाना

नेपालगन्ज
के तपाई व्यवसाय गरिरहनु भएको छ ? तपाई बिक्री गर्ने वस्तु तथा उत्पादनको मूल्य सूचि राख्नु भएको छ ? यदी राख्नुभएको छैन भने जरिवानामा पर्न सक्नुहुनेछ । जिल्ला संयुक्त बजार अनुगमन समितिले मूल्य सूचि नराख्ने व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

बजारमा स्पष्ट लेवलिङ नभएका र म्याद नाघेका बस्तु फेला परेका समाचार आइरहेका बेला समितिले लेवल नभएका र मुल्य सुचि नराख्ने उपर कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

दशैं, तिहार र छठ पर्व नजिकिंदैछ । पर्वका बेला हुनसक्ने कालोबजारी, गुणस्तरहीन वस्तुको विक्री लगायतलाई मध्यनजर संयुक्त बजार अनुगमन समितिले निरन्तर बजार अनुगमन गरिरहेको छ । बुधबार अनुगमनका क्रममा नेपालगन्ज स्थित एक चामल उद्योगले मूल्य सूचि नराखेको फेला परेपछि समितिले ५० हजार जरिवाना गरेको छ । समितिले गुणस्तरहीन वस्तु फेला परे नष्ट गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यक्षको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा मुल्य सुचि नराखी कानूनी प्रवाधान विपरित ब्यापार ब्यवसाय गर्ने नेपालगन्जको खजुरा रोडमा रहेको एउटा चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको अनुगमनमा संलग्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

शान्ति चामल उद्योगमा अनुगमनमा क्रममा आन्तरिक राजश्वको दर्ता प्रमाणपत्र, घरेलु उद्योगको दर्ता प्रकाणपत्र र नापतौलको प्रमाणपत्र राखिएको तर प्याकेजमा लेबलिङ नगरिएको, साइन बोर्ड नभएको, मुल्य सुचि नभएको, उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नभएको, उत्पादन नं अधिकतम खुद्रामुल्य नभएको लगायतका कारणले अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को (ट) मा भएको व्यवस्था अनुसार सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (घ) बमोजिम कारवाही गरिएको अनुगमन टोलीले जनाएको छ ।

खजुरा रोड स्थित गोपाल सोप इण्डस्ट्रिस्लाई अनुगमन टोलीले साइनवोर्ड सात दिन भित्र राख्न, नापतौलको प्रमाणपत्र ३ दिन भित्र र शाखा कार्यालय खोलेको प्रमाणपत्र गरि ७ दिनमा बुझाउन आदेश दिएको अनुगमन टोलीले जनाएको छ ।

समग्र अनुगमनका क्रममा केही सामानमा प्रष्ट लेवल नभएको, मुल्य सुचि राखेको नपाइएको, अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए । आउँदै गरेका चाडपर्वलाई मध्यनजर राख्दै उपभोक्ताको हित संरक्षण गर्नका लागि ब्यवसायिक अनुशासन कायम राख्न र आपूर्ति तथा बजार ब्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पर्ने गौतमले बताए ।

सहायक प्रजिअ उपाध्यायको नेतृत्वमा गरिएको बजार अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत वसन्त अर्याल, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्याल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरिक्षक नेत्रा बोगटी, जिल्ला प्रशासन कार्यालयका नासु महेश्वर प्रसाद पौडेल वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरिक्षक प्रकाश थारु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया