नेपालगन्ज – चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह रु ७५ अर्ब ४० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा विप्रेषण आप्रवाह दुई प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ प्राप्ति ०.२ प्रतिशतले वृद्धि भई रु ८४ अर्ब ९३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो सङ्ख्या ३०.८ प्रतिशतले घटेको थियो ।
मुलुक शोधनान्तर बचतमा
विगत लामो समयदेखि ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था चालू आवको पहिलो महीनामा बचतमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति रु छ अर्ब पाँच करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २४ अर्ब ७७ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महीनामा रु २२ करोड ५० लाखले घाटामा रहेको थियो ।
चालू आवको पहिलो महीनामा पूँजीगत ट्रान्सफर रु एक अर्ब तीन करोड र प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब ४४ करोड रहेको छ । अघिल्लो आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु एक अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी रु २९ करोड ५७ लाख रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा बढी रहेको पाइएको छ । उपत्यकामा ८.६३ प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको पाइएको हो । यस्तै तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो साउनमा काठमाडौँ उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ र हिमालमा २.७४ प्रतिशतले मुद्रास्फीति रहेको थियो ।
राष्ट्र बैंकका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । प्रदेश नं १ मा कूल १३७ स्थानीय तहमध्ये १३६ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३४, प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैंकको उपस्थिति देखिएको छ । यस्तै प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ मा बैंकको शाखा खुलेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत साउन मसान्तसम्ममा १७१ रहेको छ । २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको शाखाका सङ्ख्या गत असार मसान्तमा आठ हजार ६८६ रहेकामा गत साउन मसान्तमा बढेर आठ हजार ८०५ पुगेको छ । (रासस)