नेपालगन्ज – बाँकेका होटल तथा यातायात व्यवसायीहरुले व्यवसायिक मर्यादाको पालना भए÷नभएको अनुगमन गर्ने भएका छन् । खासगरी व्यवसायिक क्षेत्रमा पछिल्ला दिनमा बढ्दो विकृति विरुद्ध संगठित रुपमा उनीहरुले अनुगमन गर्ने निर्णय गर्दै आचरण विरुद्ध हुने गतिविधिलाई कारवाहीको दायरामा ल्याउन संयन्त्र नै गठन गर्ने निर्णय गरेका हुन् ।
शुक्रबार बाँकेमा रहेका यातायात व्यवसायी कम्पनी र होटल व्यवसायी संघ बाँके, नेपालगन्ज बीच भएको अन्तरक्रियात्मक बैठकमा यसअघि स्थानीय प्रशासनको सहभागितामा भएका निर्णय कार्यान्वयन गर्न सहमति जनाउँदै कानुन विरुद्धका गतिविधिलाई दण्डनीय बनाउन अग्रसरताको निर्णय भएको हो ।
‘आ–आफ्नो व्यवसायलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने कुरामा प्रतिबद्धता व्यक्त भएको छ’, भेरी यातायात व्यवसायी प्रा.लि.का प्रतिनिधि शोभाखर पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘बैठक उपलब्धीमूलक रह्यो ।’
होटल व्यवसायी संघ बाँके नेपालगन्जले यातायात क्षेत्रमा भएको मनपरीका कारण नेपालगन्जमा समस्या सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेको उपस्थितिमा पटकपटक छलफल आयोजना गरी त्यस क्षेत्रका बेथिति अन्त्यका लागि प्रयास गरेको थियो । ‘होटल व्यवसायका लागि मात्र नभई नेपालगन्जको विकासमा दीर्घकालीन असर गर्ने बेथिति विरुद्ध हामी संघर्षरत् थियौं’, संघका अध्यक्ष भीमलाल कंडेलले भने, ‘हामीले अघि सारेका सबै सवालमा आज बाँकेका यातायात व्यवसायीहरुले ऐक्यबद्धता जनाउनु भएको छ ।’ संघले गैर कानुनी रुपमा पहाडका विभिन्न जिल्लाबाट नेपालगन्ज हुँदै सोझै भारतका सहरहरुमा यात्रु बाहक बस सञ्चालनका लागि हस्तक्षेपकारी ढंगले नियन्त्रण गर्दै आएको छ । व्यवसायीहरु सडकमै उत्रिएपछि स्थानीय प्रहरी, प्रशासनले गैर कानुनी बस सञ्चालन रोक्नमा अग्रसरता देखाएको संघका महासचिव रंग बहादुर खड्काले जानकारी दिए ।
शुक्रबारको संयुक्त बैठकले गैर कानुनी यातायात सञ्चालन रोक्न अनुगमनका लागि होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कंडेलको संयोजकत्वमा नेपाल यातायात राष्ट्रिय संगठनका जिल्ला संयोजक टंक बस्याल लगायत सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको महासचिव खड्काले जानकारी दिए ।
बैठकमा दर्जन बढी यातायात व्यवसायी कम्पनीका प्रतिनिधि, होटल व्यवसायी अगुवाहरुको सहभागिता थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बेथिति विरुद्ध व्यवसायिक क्षेत्रको आपसी एकताले सकारात्मक परिणाम निस्कनेमा विश्वस्त भएको बताए ।