छरुवा धान प्रविधिको अवलोकन

नेपालगन्ज – मेसिनद्वारा छरुवा धान प्रविधिको बारेमा जानकारी दिन कृषि प्रावधिक र किसानहरुलाई अवलोकन गराइएको छ । सिमिट इन्टरनेशनलको सिसा परियोजना र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा बाँके र बर्दियाका कृषि प्रावधिक र स्मार्ट कृषि गाउँका किसानहरुलाई बर्दियाको गुलरिया र राजापुरमा रहेका किसानले छरुवा प्रविधि स्वरुप गरेको कामको अवलोकन गराइएको थियो ।

छरुवा धानको विस्तारका लागि विभिन्न तरिकाले लगाइएको धानको अवलोकन गराइएको सिसा परियोजनाका कृषि प्रावधिक हरि प्रसाद आचार्यले जानकारी दिए । छरुवा धानको प्रविधि हेर्न बाँके र बर्दियाका नगर तथा गाउँपालिकाका २८ कृषि प्रावधिक र ९ वटा स्मार्ट कृषि गाउँका ३५ जना सहभागी भएका थिए । छरुवा धानलाई ठुलो ट्रेक्टरको सिड्रिल, हातले खेत हिल्याएर छरेको छरुवा, हातले धुले खेतमा छरेको छरुवा, पावर टिलर बाट छरेको छरुवा प्रविधि लगाएतको अवलोकन गरेका हुन ।

अवलोकनको क्रममा छरुवा धान प्रविधिबाट धान खेती गरिरहेका र सेवा प्रदान गर्दे आएका किसान पहाडी चौधरीले आफ्नो अनुभव सुनाएका थिए । अवलोकनका क्रममै छरुवा धानमा मल विउ छर्ने हाते मेसिनको समेत जानकारी गराइएको थियो । अवलोकन गर्दे किसानहरुले अहिलेको समयमा छरुवा प्रविधि निकै उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । मधुवन नगरपालिका ७ का कमानसिंह वलिले राम्रो उत्पादन लिन र ७५ प्रतिशत खर्च कम गर्न छरुवा प्रविधि उपयुक्त रहेको बताए । छरुवा धानमा झार व्यवस्थापन मात्र चुनौती रहेको कृषक वलिले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया