पूँजीबजारबाट आहत लगानीकर्ताले सोधे अभिभावकत्व खोई ?

नेपालगन्ज – पूँजी बजारका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको चर्को आलोचना गर्दै आफ्नो लगानी सुरक्षामा अभिभावकत्व नपाएको गुनासो गरेका छन् । आइतबार नेपालगन्ज उद्योग वाणिज्य संघले धितोपत्र बोर्डसँगको सहकार्यमा आयोजना गरेको पूँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि अन्तरक्रियात्मक प्रशिक्षणमा लगानीकर्ताहरुले सोधे, ‘लगानी सुरक्षाको सुनिश्चितता खोई ?’ उनीहरुले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवन्त बहादुर कार्कीलाई प्रश्न गरे, ‘बजार उठ्नै सकेन, धितोपत्र बोर्डको अभिभावकत्व खोई ?’

लगानीकर्ता पुष्पमणि प्रधानले नेप्से बढ्दा पूँजी बजारमा चलखेलको आशंका व्यक्त गरे । ‘बजार निरुत्साहित गर्ने नेप्सेका मालिकलाई बोर्डले कारवाही गरोस्’, प्रधानको भनाइ थियो, ‘मार्केट मेकरहरु मौन रहेको यो समयमा लगानीको अवस्था के हो भनेर धितोपत्र बोर्डले दिशा निर्देश गर्न सकेन ।’ डा. गिरिराज भट्टराईले धितोपत्र बोर्डको अभिभावकत्व कमजोर देखिएको भन्दै शेयर बजार छिन्नभिन्न भएको टिप्पणी गरे ।


नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले बजारको विकास र नियमनमा बोर्ड जिम्मेवार ढंगले अगाडि बढेको जानकारी दिए । ‘वर्तमान पूँजी बजारप्रति बोर्ड चिन्तित छ’, डा. कार्कीले भने, ‘बोर्डको काम, कारवाही बृहत रुपले संरचनागत परिवर्तन गर्दै अगाडि बढिरहेको छ ।’ सबैले शेयर पाउने अवस्थाको सुनिश्चितता गरिंदा ठूला लगानीकर्तालाई प्रभाव पारेपनि यसले कसैलाई नराम्रो नगर्ने डा. कार्कीको भनाइ थियो ।

बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले अध्ययन गरेर मात्रै पूँजी बजार सुझाव दिए । नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्ति सापकोटाले कम्पनीको विवरण बुझेर मात्रै लगानी गर्न सुझाव दिए । ‘लगानीमा विविधीकरणले जोखिम न्यूनीकरण हुन्छ’, निर्देशक सापकोटाको भनाइ थियो । ‘पूँजी बजारको सचेतना बढाउन जरुरी रहेकाले धितोपत्र बोर्डसँगको सहकार्यमा कार्यक्रम गरिएको हो’, आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने । संघका महासचिव अजय कुमार टण्डनले लगानीमा शेयर रकमको सुरक्षा गम्भीर विषय भएकाले नेपालगन्जमा बढ्दो सचेत गराउन खोजिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया