नेपालगन्ज – बिहान ६ बजेपछि नेपालगन्जको त्रिभुवन चौकमा सडकभरी सयौंको संख्यामा मान्छेहरुको भिड लागेको हुन्छ । पहिलो पटक त्यो भिड देख्नेहरुलाई त कुनै आन्दोलन गर्न वा अन्य कुनै कामको लागि जम्मा भएको अनुभुति हुने गर्छ । हरेक दिन बिहानको समयमा सडक नै ढाक्ने गरि लाग्ने त्यो भिड न त कुनै आन्दोलनकारिको हो न त अरु कुनै काम गर्न जम्मा हुनेहरुको । उनीहरु हुन् मजदुर, विभिन्न ठाउँबाट कामको खोजीमा जम्मा हुने मज्दुरहरुको भिड हो त्यो ।
धेरै पहिलेदेखि नेपालगन्जको त्रिभुवन चोक बिभिन्न ब्यक्तिहरुका लागि कामको खोजी गर्ने र काम गर्न जाने माध्यम बन्दै आएको छ । बिहान त्रिभुवन चौकको सडकैभरी कामदारहरुको भिड लागेको हुन्छ । सडकमा आवत जावतसम्म गर्न नसकिने गरि जताततै मजदुरहरु कामको आशमा उभिएको देखिन्छन् ।
सडकमा मात्र होइन कतिपय मजदुरहरु त पसलको सटरमा आड लागेर बसेको देखिन्छ । धेरै वर्षदेखि यो प्रक्रिया चल्दै आएको भएपनि यसको व्यवस्थापनका लागि न त स्थानीय सरकारको ध्यान गएको पाइन्छ, न त अन्य कुनै निकायले व्यवस्थापनमा पहल गरेको पाइन्छ । त्रिभुवन चोकको लाग्ने भीडले मजदुहरुका लागि व्यवस्थित ठाउँ बनाउन आवश्यक भएको जोकोहीले महसुस गर्न सक्छन् । नेपालगन्ज क्षेत्रको मात्रै नभइ बाँके, बर्दिया लगायतका जिल्लाहरुबाट र भारतबाट समेत कामको खोजीको लागि त्रिभुवन चोकको प्रयोग हँुदै आएको छ ।
लामो समयदेखि काम खोज्ने माध्यम बनेको भएपनि मजदुरहरुलाई बस्ने व्यवस्था नहुँदा सडक र सडक पेटीमा उभिनुको बिकल्प नभएको उनीहरु बताउँछन् । हरेक दिन सयौंको संख्यामा जम्मा हुने मजदुरहरुलाई बस्ने ठाउँको व्यवस्थापन र शौचालयको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ ।
बिहान ६ वजेदखि १० बजे सम्म काम पाउने आशामा बस्ने मजदुरहरुका लागि शौच गर्ने शौचालय र बस्नका लागि उचित ठाउँको व्यवस्थापन नहुँदा त्रिभुवन चोक विहान अस्तव्यस्त हुने गरेको छ । केही ब्यक्ति काम गर्ने मान्छेको खोजीमा गएपछि त्यो ब्यक्तिलाई घेर्न भिड नै लाग्ने गर्छ । उचित बस्ने ठाउँको व्यवस्थापन, शौचालय नहँुदा र काम नपाउने समस्या अहिले मजदुरहरुलाई परेको छ ।
बिहान पसलहरु नखुल्ने बेलासम्म सडकको पेटी र सटरको आडको प्रयोग गरिरहेका मजदुरहरु पसल खुलेपछि भाग्नुपर्ने हुन्छ । बर्दिया माछागढ घर भइ १५ बर्षदेखि कामदारको रुपमा नेपालगन्जमा बस्दै आएका प्रकाश चौधरीले पहिले पहिले सहज रुपमा काम मिल्ने गरेको भएपनि अहिले काम नै पाउन मुस्किल हुने गरेको बताए ।
भारतबाट आउने कामदारहरुको संख्यामा बृद्धि हँुदै जाँदा आफुहरुले काम पाउन समस्या भएको भन्दै चौधरी बताउँछन् । उनी भन्छन्, ‘बिहान ६ बजे देखि कामको खोजिमा मान्छे कुरेर बस्नुपर्ने हुन्छ, पसल खुलेपछि भाग, भाग भन्दै लखेट्ने गरिन्छ ।’ राजापुर बर्दिया घर भएकी र नेपालगन्जमा भाडामा बस्दै आएकी रिमा चौधरीले यो महिनाभरिमा २÷३ दिनमात्रै काम पाएको बताइन् । रिमाले भनिन्, ‘कामको खोजिमा हरेक दिन ६ बजे देखि १० बजे सम्म सडकमा बस्छु, काम नपाएपछि रित्तो हात घर फर्किनुपर्छ ।’
‘कहिलेकाही काम पाइहाले पनि भने अनुसारको ज्याला नपाइने र पानीसम्म पनि नखाएर काम गर्नुपर्छ हाम्रो दुखलाई कसैले हेरिदिएन,’ आँखाबाट आँसु झार्दै रिमाले भनिन् । अहिले वर्षाको समय भएको र कामको सिजन नभएकाले पनि मजदुरहरुले सहजै काम पाउने अवस्था छैन । बिहाना भरि काम पाउने आशमा बस्ने गरेको बताउँदै नेपालगन्ज रानी तलाउका जमुना प्रसाद कसेवले भने ‘हरेक दिन बिहानै कामको खोजिमा आउँछौं कहिले काम पाइन्छ कहिले खाली फर्किनुपर्छ ।’ कामदारको भिड लाग्ने ठाउँमा कुनै बस्ने ठाउँसम्म नभएको बताउँदै नेपालगन्ज १५ का रामचन्द्र यादवले भने, ‘सडकमा उभिए ट्राफिकले लखेट्छ, पेटिमा बसे व्यापारीहरुले लखेट्छन् ।’ मजदुरहरुले बिभिन्न समस्याको सामना गर्दै आइरहेको बताउँदै शौचालय र लेवरकोटको व्यवस्था हुनुपर्ने यादवले स्थानीय सरकारसंग माग गरे ।
नेपालगन्ज उपमहानगरपालिकासंग मजदुरहरुको व्यवस्थापनका लागि कुनै योजना नभएको पाइएको छ । समस्या समाधनका लागि उपमहानगरपालिकासंग कुनै योजना नभएको बताउँदै नगर प्रमुख डा. धवल समशेर राणाले, समस्या सुनेपछि ध्यानाकर्षण भएको बताए । यस अघि यो विषयमा आफ्नो ध्यान जान नसकेको भन्दै आगामी दिनमा उपमहानगरपालिकाले सोच्ने नगर प्रमुख डा. राणाको भनाइ थियो ।