संघको विधान संशोधनको कसरत
नेपालगन्ज – होटल व्यवसायी संघ बाँके नेपालगन्जले बाँकेको व्यवसाय फष्टाउनका लागि अघि बढाएको प्रयासमा व्यवसायीहरुले ऐक्यबद्धता जनाएका छन् । मंगलबार नेपालगन्जमा भएको वस्तुगत संघहरुको बैठकले होटल व्यवसायी संघले अघि सारेका १५ बुंदामा कार्यान्वयनका लागि सर्वसम्मत निर्णय गरेको हो ।
तयारी कपडा, ब्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघका अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्जको बजार, व्यवसाय खस्कदै गएको प्रति चिन्दा गर्दै समस्या पहिचान गरी समाधानको प्रयासमा जुट्नु पर्ने धारणा व्यवसायीहरुले राखेका थिए ।
बैठकले नेपालगन्ज उद्योग वाणिज्य संघको विधान संशोधनको प्रस्ताव संघमा पेश गर्ने निर्णय समेत गरेको छ । गत बर्ष वस्तुगत संघहरुले विधान संशोधनको प्रयास गरेपनि सफल भएको थिएन । नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावी अधिवेशन यसै बर्ष रहेको छ । त्यसअघि वस्तुगत संघहरुले विधान संशोधनको विषय संगठित रुपमा उठाउने प्रयास गरिरहेका छन् ।