नेपालगन्ज – वैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न डुडुवा गाउँपालिका वडा नं. ५ का नागरिकहरुले स्थानीय सरकारसँग माग गरेका छन् । चुनावी प्रचारको बेलामा सबै बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनेछ भनि आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको भएपनि निर्वाचित भएपछि त्यसतर्फ कुनै चासो नदिइएको जनप्रतिनिधिहरुसंग गुनासो गरिएको हो ।
बाँकेको डुडुवा गाउँपालिका–५ मा बिहीवार एकाउन्टविलिटी ल्याव र बास नेपालगन्जको आयोजनामा सम्पन्न भएको सुरक्षित बैदेशिक रोजगारको विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी भएका बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुले आफुले बिदेशमा सिकेको सीप तथा अनुभवलाई स्वदेशमै लगानी गर्ने वातावरण बनाइ अवसर सिर्जना गर्न स्थानीय सरकारको ध्यानाकर्षण गरेका छन् । स्वदेशमा रोजगारीको कुनै बिकल्प नभएपछि नेपाली युवाहरु बिदेश जान बाध्य हुनुपर्ने बताउँदै बैदेशिक रोजगारमा जान पनि सहज नभएको उनीहरुको भनाइ थियो ।
डुडुवा गाउँपालिका–५ का कृपादेव गिरीले नेपालमा कुनै बिकल्प नभएपछि परिवारको रोजीरोटीको लागि बिदेश जान बाध्य भएको बताए । बिदेश जानका लागि पासपोर्ट बनाउने निकाय देखि मेनपावर कम्पनी सम्मबाट ठकिने र दुःख पाइने गरेको गुनासो गर्दै बैदेशिक रोजगारबाट फर्केर स्वदेशमै केही गर्न चाहनेहरुका लागि स्थानीय सरकारले योजना बनाउनुपर्ने गिरीको माग थियो । विदेशमा गरे बराबरको मेहनत स्वदेशमै गर्न सकिने बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन स्थानीय सरकारले प्रोत्साहन गर्नसक्नुपर्छ ।’
डुडुवा गाउँपालिका वडा नं. ५ की धनसरी परियारले ठुलो आशाा बोकेर बिदेश गएको बताउँदै सोचे अनुसारको काम नपाइ दुख पाएपछि रोएर ३ महिनाभित्रै नेपाल फर्किएको बताइन् । बिदेशमा गएर दुख पाएर आउनु भन्दा आफ्नै समाजमा बसेर पनि केहि गर्न सकिने बताउँदै परियारले थपिन्, ‘युवाहरुलाई स्वदेशमै रोकी उत्पादनमुलक काममा लगाउन स्थानीय सरकारको ध्यान जानुपर्छ ।’
कार्यक्रममा सहभागी भएका अधिकांश सहभागीहरुले आफ्नो बिदेशको अनुभव सुनाउँदै अबका दिनमा स्वदेशमै केही गर्नका लागि अवसरको खोजीमा रहेको बताएका थिए । स्थानीय मान बहादुर बुढाथाकीले स्वदेशमै रोजगारीको सिर्जना गरि युवाहरुलाई स्वदेशमै काम गर्ने वातारण भएको खण्डमा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । धेरै युवाहरुले बिदेशबाट बिभिन्न सीप तथा अनुभव लिएर आएको बताउदै त्यो सीप र क्षमतादलाई खेर जान नदिन स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
नेपालको संविधान २०७२ ले वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्नुपर्ने कुरा उल्लेख छ । वैदेशिक रोजगार नीति, २०६८ मा वैदेशिक रोजगारलाई नयाँ सीप र प्रविधि भित्रयाउने माध्यमको रुपमा ग्रहण गर्नुका साथै फर्किआएका युवाहरूको सीप तथा उद्यमशीलता प्रवद्र्धन तथा परिचालन गरी उपयोग गरिनेछ भनी उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि यस कुरालाई जोड दिँदै वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्ने भनी उल्लेख छ ।
नेपालको राष्ट्रिय रोजगार नीति, २०७१ ले पनि यो सन्दर्भमा वैदेशिक रोजगारीबाट प्राप्त भएको रकम, सीप, अनुभव, प्रविधिलाई राष्ट्रिय उत्पादनसँग जोडी गरिबी निवारण गर्न उपयुक्त संस्थागत विकास गरिनेछ भनी उल्लेख गरेको छ । नेपाल सरकारकारले जारी गरेका बिभिन्न नीति, नियम र कानुनहरुमा यस्तो खालको ब्यवस्था भएपनि कानुनको पालना हुन सकेको छैन । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहहरुले बैदेशिक रोजगारको समस्या र स्वरोजगारको विषयलाई प्राथामिकतामा पर्न नसकेको सम्बन्धितहरुको भनाइ ।
डुडुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष परशुराम बुढाथाकीले बैदेशिक रोजगारीको समस्या एक ठाउँको मात्रै नभइ राष्ट्रकै समस्य भएको बताए । बिदेशबाट सीप सिकेर तथा दुःख पाएर आएका र स्वदेशमै केही गर्न खाज्नेहरुका लागि पालिकाले नीति बनाइ कार्यान्वयन गर्नुपर्ने गिरीले बताए । बैदेशिक रोजगारबाट फर्केर आएका र नेपालमै बस्न खोज्नेहरुका लागि बिभिन्न रोजगारमुलक तथा सीपमुलक तालिमहरु संचालन गरि व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने स्थानीयहरुको मागलाई सम्बोधन गर्न स्थानीय सरकारको ध्यान जानुपर्छ ।