(भन्सार छलेर ल्याइएका खसी प्रहरी नियन्त्रणमा । फाइल तस्विर)
नेपालगन्ज – स्वास्थ्य प्रमाणपत्र विना खसीको आयातमा रोक लगाइएपछि अवैध ढंगले चोरी पैठारी हुने क्रम बढेको पाइएको छ । स्वास्थ्य प्रमाणपत्र लिन झन्झट हुने भएपछि चोरबाटोको प्रयोग गरि खसीको तस्करी बढेको हो ।
बिगतका वर्षहरुमा भारतबाट सहजरुपमा खसीको आयत हुदै आएकोमा पशु क्वारेन्टाइन कार्यालयले स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेपछि भन्सारबाट वैध आयात ठप्प भएको छ । गत बर्ष फागुन महिनाको २६ गतेबाट खसीको आयात गर्नका लागि अन्तर्राष्ट्रिय सेनिटरी (स्वास्थ्य) प्रमाणपत्रको व्यवस्था गर्नुपर्ने प्रावधान राखिएपछि वैध रुपमा खसीको आयात ठप्प भएको हो ।
मुख्य नाकाबाट वैध रुपमा खसी आयात ठप्प भएपनि भित्रिबाटोबाट तस्करी भने जारी रहेको छ । मुख्य भन्सारको नाकाबाट आयत गर्दा भन्सार तिर्नुपर्ने र स्वास्थ्य प्रमाणपत्र बुझाउनु पर्ने झन्झटबाट मुक्त हुन खसीको पैठारी गर्ने तस्करीहरुको समुह सक्रिय भएको पाइन्छ । खसीको व्यापारीहरुले भित्री खेतको बाटोको प्रयोग गरि राता रात सयौं खसी निकासी गर्ने गरेको पाइएको छ ।
नेपालगन्ज जमुनाह घर भएका एक खसी व्यापारी भन्छन्, ‘सरकारले नाका बन्द गरेपछि खेतको बाटोबाट रातीको समयमा खसीहरु नेपाल पु¥याउने गरेका छौं ।’ उनी थप्छन् ‘२÷३ दिनको फरकमा ६०÷७० को संख्यामा खसीहरु खेतको बाटो भएर नेपाल भित्रयाउने गरेका छौं, प्रहरीले थाहा पाएमा सबै लिलाम हुने र त्यहि बराबरको जरिवाना तिर्नुपर्ने हुन्छ, अहिलेसम्म बचिएको छ ।’ ति व्यापारीका अनुसार, भारतमा कुनै तस्करसंग समन्वय गरि प्रति खसी रु. ५० का दरले भारतीय प्रहरीलाई दिएर नेपालबाट ३÷४ जनाको टोलीले रातीको १२÷१ बजे नेपालगन्जको राँझा पु¥याउने गरेको पाइएको छ । भारतबाट व्यवस्थापन मिलाउने र नेपालबाट खटिएका ब्यक्तिलाई एक पटकमा १ हजार देखि १ हजार ५ सय सम्म रकम दिने गरिएको व्यपारीहरु बताउँछन् ।
यसरी भारतबाट अवैध रुपमा आउने खसीका कारण नेपालका पशुपालक किसान भने मारमा पर्दै आएका छन् । भारतबाट अबैध ओसार पसार गरेका खसीहरु सस्तो मुल्यमा खरिद गर्न पाएपछि नेपालका खसीहरु कम खरिद हुँदा आफुहरु मारमा परेको किसानहरु बताउँछन् ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को कार्यान्वयनका लागि पशु क्वारेन्टाइन महाशाखाबाट गत फागुन ३ गते सबै पशु क्वारेन्टाइन कार्यालयहरुलाई परिपत्र भएको थियो । महाशाखाबाट गरिएको परिपत्र अनुसार तोकिएको गागज जात सहित मात्र पशुको आयत तथा निकासी गर्न पाउने गरि सहजै हुने आयतलाई प्रतिबन्द लगाइएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका वरिष्ठ पशु चिकित्सक शितलबाबु श्रेष्ठले बताए ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ त्यस अघि खासै कार्यान्वयनमा नआएको बताउँदै श्रेष्ठले भने, ‘खसीको आयत गर्ने व्यवसायीहरुले भारतीय पशु क्वारेन्टाइन कार्यालयबाट सेनिटरी प्रमाणपत्र लिएर आयत गर्न पाउने प्राबधान राखेर पहिलेको जस्तो सहज आयतमा रोक लगाइएको हो, हाल सम्म प्रमाण पत्र लिएर १ जना पनि आउनु भएको छैन ।’ सेनिटरी (स्वास्थ्य) प्रमाणपत्रका लागि भारतीय बजारमा नजिकमा पशु क्वारेन्टाइन कार्यालय नभएकाले पनि व्यवस्थापन गर्न नसकिएको हुन सक्ने श्रेष्ठले बताए । सेनिटरी (स्वास्थ्य) प्रमाणपत्रको साथमा खसी आएको खण्डमा भन्सार गरेर पठाउने व्यवस्था भएको बताउँदै यो बाहेक अरु कुनै बिकल्प नभएको श्रेष्ठको भनाइ थियो ।
खसी आयतमा प्रतिबन्द लगाए पछि मात्रै पटक पटक गरि ३ सय १६ वटा खसी नेपाल प्रहरीले नियन्त्रणमा लिई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको देखिन्छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आ.व.को फागुन महिनामा ७७, बैशाखमा २१, जेष्ठमा ८५, अषाढमा ६४ र यस आ.व. को श्रावणमा ३० र भाद्र महिनामा ३९ वटा खसी प्रहरीले नियन्त्रणमा लिएको देखिन्छ । जुन यो भन्दा अगाडिका महिनाहरूमा यति धेरै प्रहरीले अवैध भन्सार छली चोरी पैठारीका खसी बरामद गर्न सकेको थिएन । प्रहरीले बरामद गरेको खसीको संख्या मात्रै यति भएपनि प्रहरीलाइ नै छलेर चोरी पैठारीका खसीको संख्याको त एकिन गर्नै सकिन्न ।
दशै तिहार नजिकिंदै गर्दा भन्सारको मुख्य नाका छलेर बिभिन्न चोरबाटोहरुको प्रयोग गर्दै खसीको अबैध चोरी पैठारी बढ्दै गएको इलाका प्रहरी चौकी जमुनाहका इन्चार्ज माधव प्रसाद रिजालले बताए । रिजालका अनुसार, खसीको अबैध निकासीका लागि पछिल्लो समय बाँकेको नरैनापुर, होलिया र बर्दिया जिल्लाका बिभिन्न नाकाको प्रयोग गर्दै तस्करी बढेको बुझिन्छ । सहज आयात हुने समयमा नेपालगन्ज भन्सार नाकाबाट मात्रै मासिक १२ हजार सम्म र बार्षिक १ लाख ४४ हजारको संख्यामा खसीको आयत हुने गरेको तथ्यांक पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जसंग रहेको छ । यतिको संख्यामा आयत हुने खसीको आयतमा रोक लगाइए पछि नेपाली बजारमा खसीको अभाव हुन थालेको छ । मासिक १२ हजारको संख्यामा भन्सार नाकाबाट आयात हुँदै आएकोमा अहिले त्यसको पूर्ति अबैध चोरी पैठारीका खसीले गर्ला ? दशैको समयमा मात्रै नेपालका बिभिन्न सहरमा ५० हजार भन्दा बढी खसी भारतबाट आयत हुने गरेकोमा यस वर्षको दशै चोरीका खसीको भरमा बनाउनुपर्ने अवस्था त आउँदैन ? यो समस्याको समाधान गर्न सम्बन्धित निकायले बेलैमा विकल्पको खोजी गर्नुपर्छ ।