निर्यात प्रदेशको नीति : एक घर, एक स्याउ बगैँचा

सुर्खेत – कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएको केसीले उत्पादनको प्रचुर सम्भावित क्षेत्र कर्णाली प्रदेश र त्यसमा पनि जुम्ला भएकाले निर्यातमुखी उत्पादनमा प्रदेश सरकारले यो नीति लिएको बताउनुभयो । कर्णालीलाई आत्मनिर्भर बनाउन सम्भाव्यता अध्ययन गरी मध्यकालीन र दीर्घकालीन योजना निर्माणतर्फ सरकार लागेको उहाँले बताउनुभयो ।

मन्त्री केसीले भन्नुभयो, ‘कर्णाली प्रदेशको जुम्ला स्याउ, सिमी, ओखर कालीमार्सी धानलगायतका अर्गा्निक खाद्य तथा फलफूल बालीको उर्बर भूमि हो । डोल्पा र मुगु जिल्ला जडिबुटीको भण्डार हो । यहाँ बिजुलीको ठूलो मेगा परियोजना सञ्चालन गर्न सकिने धेरै सम्भावना छ । अब लगानीको खाँचो छ ।’ उहाँले उद्योग कलकारखाना, बहुआयमिक कोल्डस्टोर सञ्चालनमा ल्याउनका लागि सबैभन्दा पहिला बिजुली उत्पादन र कर्णाली राजमार्गलाई सहज बनाउनका लागि कर्णाली प्रदेशले लगानी गर्ने र त्यसको निम्ति वातावरण सिर्जना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘एक घर, एक स्याउ बगैँचा’

कर्णाली प्रदेशका स्याउ उत्पादन हुने जुम्लालगायत अन्य जिल्लामा ‘एक घर, एक स्याउ बगैँचा’ निर्माण गर्ने अवधाराण बनाइएको बताउनुभयो । मन्त्री केसीले भन्नुभयो, ‘यसका लागि प्रदेश सरकार लगानी गर्न तयार छ । विद्यालयदेखि सार्वजनिक जग्गामा सामूहिक स्याउ खेतीमा जोड दिन युवा प्रोत्साहन गर्ने योजना बनाइएको छ ।’ स्याउका बिरुवा रोप्नेदेखि व्यवस्थापन र जैविक विषादीको प्रयोग वृद्धितर्फ पनि प्रदेश सरकारले योजना बनाएको उहाँले बताउनुभयो ।
सिँचाइ विना उत्पादन असम्भव भएको बताउँदै उहाँले कृषि मन्त्रालयले सिँचाइकै लागि भनेर रु. ५० करोड वजेट विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका हरेक गाउँपालिकामा चिस्यान घर र जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापनाको योजना निर्माण गरिएको छ ।

व्यावसायिक किसानलाई व्याजमा अनुदान

मन्त्री केसीले कृषकलाई चालूआर्थिक वर्षदेखि अनुदान नभइ व्याजमा अनुदान दिने निर्णय गरिएको बताउनुभयो । अनुदानको रकम दुरुपयोग हुनसक्ने भएकाले त्यसलाई रोक्न र किसानको जीवनस्तर परिवर्तन गर्न मन्त्रालयले यो नीति अख्तियार गरेको उहाँले बताउनुभयो ।
मन्त्री केसीले प्रदेश सरकार प्रत्येक नागरिकको आर्थिक जीवनस्तर परिवर्तन गराउने योजनामा काम गर्दै आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले व्यवस्था परिवर्तन भएको छ, प्रणाली अझै परिर्वतन भएको छैन । यसले कामकाजमा समस्या देखिएको छ, डेढ वर्षको अवधिमा प्रणाली नफेरिएकै कारण निर्णय अनुसारको काम गर्न नसकिँदा हामी प्रणालीलाई परिवर्तन गर्दै कामगर्ने योजनामा छौं ।’
मन्त्री केसीले जिल्लामा हुने विकास निर्माणको कामलाई अनुगमन गर्नका लागि प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई अधिकार दिने तयारीको पहल गरिरहेको बताउनुभयो । समाजमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने अभियान प्रदेश सरकारले शुरुवात गरेको उल्लेख गर्दै उहाँले यसमा सबैलाई साथ दिन आग्रह गर्नुभयो ।

‘व्यवस्था त फेरियो, प्रणाली उही छ’, मन्त्री केसीले भन्नुभयो, प्रणालीकै कारण शून्य सहनशीलताको नीति कार्यान्वन हुन सकेको छैन ।’ लक्षित कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको बताउँदै उहाँले चालू आवदेखि प्रदेश सरकारले कार्य्विधिअनुसार कार्यक्रम कार्यान्वयन गर्ने र तिनलाई जतिसक्दो जनतामा पु¥याउने लक्ष्य राखिएको छ भन्नुभयो ।

रक्सी होइन, दुध खाऔं

जुम्लामा उत्पादित दूधले बजार नपाएको सन्दर्भमा मन्त्री केसीले बिहान बेलुका रक्सी नभई दूध खाने संस्कारको विकास गर्न जुम्लीवासीलाई आग्रह गर्नुभयो । जुम्ली नागरिक सबैले रक्सी खानु हुन्छ मैले भनेर हेप्न खोजेको होइन उहाँले भन्नुभयो, ‘यद्यपि रक्सी खानेले यसमा गम्भीर हुन जरुरी छ ।’ उहाँले नेपालीको महान पर्व तीजका अवसरमा अर्गा्निक वस्तु उत्पादन तथा उपभोगको संकल्प गर्न कर्णालीका हरेक नागरिकसँग अपिल गर्नुभयो । किसान मात्र नभएर कर्मचारी, नेता, पत्रकार सबैले आ–आफ्नो आँगनमा तरकारी तथा अन्य फलफूल खेती गर्न पनि उहाँले सुझाउनुभयो । मन्त्री केसीले सोमबार नै नवपरिभाषित कृषि विकास कार्यालय र भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाकसमेतको उद्घाटन गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया

प्रतिक्रिया