नेपालगन्ज – बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएको छ । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो ।
४÷५ महिना अघिसम्म खसीको मासु प्रतिकिलो ७ सय मुल्य रहेकोमा आयात रोकिने बित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी ८ सय नाघेको छ । ‘एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्द छ भने अर्कोतिर चाडबाड नजिकिदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ’, मासु व्यवसायी सगदिक कुरेसीले भने, ‘पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।’
भारतबाट सहजै रुपमा आयात हुँदा प्रशस्त मात्रामा सस्तो मुल्यमा खसीहरु पाइने भएकाले मासुको मुल्य कम थियो । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्य वृद्धि हुँदै गएको हो । दुई वर्ष अघिसम्म किलोको ६ सय ५० मा पाइने मासुको मुल्य ८ सय पुग्दा ग्राहकहरु मर्कामा परेका छन् । अझ नेपालगन्ज बाहिरका जिल्लामा यहाँ भन्दा मासु अझै महंगो रहेको छ ।
‘नेपालमा बजारको माग धान्ने खसी उपलब्ध छैनन्, पाइएपनि जिउँदो खसी भारतमा भन्दा महंगो रहेको छ’, नेपालगन्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका सगदिक कुरेसीले भने, ‘महंगो खरिद गर्नुपर्दा बिक्री मूल्य पनि बढेको हो ।’
भारतका आयात असहज भएपछि सीमावर्ती जिल्लामा खसी तस्करी पनि हुने गरेको छ । पछिल्ला दिनमा प्रहरीले पटकपटक भन्सार छलेर ल्याइएका खसीहरु नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ । भारतबाट खसी ल्याएर सीमावर्ती गाउँमा जम्मा गर्ने र यहीको कागज स्थानीय तहबाट बनाएर बाहिर जिल्ला पठाउने गरेको पाइन्छ । खसी भन्सार छलेर आउँदा राजश्व पनि नोक्सान भैरहेको छ ।
अहिले नेपालगन्जमा दुब्लो पातलो खसीको जिउँदो मूल्य प्रतिकेजी ५ सय ८० रुपैयाँ, मध्यम खालको ६ सय रुपैयाँ र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य ६ सय ५० रुपैयाँसम्म छ । नजिकिदै गरेको दशैंमा चाहिने जति खसी नआए किलोको ९ सय रुपैयाँसम्म पुग्ने व्यवसायीहरु आशंका छ ।
दशैंको समयमा नेपालगन्जमा मात्र १० हजारसम्म खसीको माग हुने बताइन्छ । मासु व्यवसायी हनिफ कुरेसीले भारतबाट खसीबोका नआए मूल्य अझै आकासिने बताए । उनका अनुसार, अहिले गैरकानुनी बाटोबाट केही मात्रामा खसी भित्रिरहेको छन् भने सहजै रुपमा आउन भन्सारमा रोक लाएको छ । ‘दशैंको समयमा भारतबाट खसी नआए मूल्य जिउँदोकै ७ सय रुपैयाँ सम्म पुग्न सक्छ जिउँदो ७ सय पुगे मासुको मूल्य स्वभाविक रुपमा बढ्छ,’ कुरेसीले भने ।
नेपालगन्जको रामबाग स्थित मासु बधसालाबाट नियमित रुपमा मासुको प्रयोग गर्दै आएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बस्ने राजेन्द्र सिंहले खसीको मासुको मुल्य अहिले सम्मकै सबै भन्दा बढी तिरेको बताए । लामो समयदेखि एउटै स्थानबाट मासुको प्रयोग गर्दै आएको बताउने राजेन्द्रले भने ‘६५० सम्म किलोको तिरेको थिएँ आज ८ सय तिर्नुपरेको छ ।’ पर्वमा मासुको प्रयोग बढी हुने गर्दछ । कम आय हुनेहरुका लागि खसीको मासु खरिद गर्न नै समस्या हुनसक्ने स्थानीयबासी बताउँछन् ।
नियमित रुपमा कुखराको मासु प्रयोग गर्ने र महिनाको एक÷दुई पटक खसीको मासु खाने बताउने नेपालगन्ज वडा नं. १० का हिमाल खनालले खसीको मासुको मुल्य आकासिएपछि खान नसकिने अवस्था सिर्जना भएको बताए । एकै पटकमा एक सय रुपैयाँ किलोको बढ्दा गरिवहरुको मासु खाने बाटो बन्द भएको खनालको भनाइ थियो ।
मासुको मुल्य बढेपछि मासुको ब्यापार पनि पहिलेको तुलनामा कम भएको मासु व्यवसायीहरुको भनाइ छ । पहिले दिनको दुई, देखि तीन वटासम्म खसीको मासु बिक्री हँुदै आएकोमा अहिले दिनमा एक वटा खसी कटाउन पनि मुस्किल हुने मासु व्यवसायी हनिफ कुरेसीले बताए । भारतबाट खसीको आयत हने होइन र मासुको मुल्य बढ्दै जाने हो भने आफ्नो ब्यापार सुक्ने उनको भनाइ थियो ।