१० औं साधारणसभाबाट आगामी ४ वर्षका लागि इश्वर प्रसाद पोखरेल निर्वाचित भएका छन् ।
वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा इश्वर प्रसाद पोखरेल निर्वाचित भएका छन् । शनिवार भएको संस्थाको १० औं वार्षिक साधारण सभाले पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित भएको हो । सञ्चालकमा अधिकाँश पुरानै अनुहार हुन् ।
निर्वाचन समितिका संयोजक प्रहलाद बहादुर कार्कीका अनुसार, सञ्चालक समितिको उपाध्यक्षमा निरज गौतम, सचिवमा गिरिराज पौडेल र कोषाध्यक्षमा अजय कुमार शर्मा चयन भएका छन् । श्याम कुमार केसी, गंगा नेपाल र मित्रलाल शर्मा सञ्चालक सदस्य चयन भएको वेष्टर्नमा प्रकाश लामिछाने संयोजक, केशव कुमार शर्मा र पप्पु कुमार तमोली सदस्य रहेको लेखा समिति चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले संस्थालाई गल्लीबाट राजमार्गमा ल्याइसकिएको प्रतिक्रिया दिंदै भने, वेष्टर्न अब आर्थिक विकासको गतिमा स्पीड लेनमा कुद्छ ।
त्यसअघि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले संस्थाको १० औं साधारण सभा उद्घाटन गर्दै शेयर सदस्यको प्रत्यक्ष समन्यवमा संस्था सञ्चालनको सुझाव दिए । उनले एक व्यक्ति एक सहकारीको अवधारणालाई कार्यान्वयनमा ल्याउन आवश्यक भएको भन्दै सबैको ध्यानाकर्षण गराएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका सहकारी विभाग प्रमुख शोभा शाह नीतिगत समस्या र कार्यान्वयनका अस्पष्टता बारे धारणा राखिन् ।
संस्थाका अध्यक्ष इश्वर प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षा निरज गौतम, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश ज्ञवाली, बहुद्देश्यीय संघका अध्यक्ष भूपेन्द्र अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका प्रवन्धक थानिश्वर पाण्डेय, सहायक प्रवन्धक श्रीधर पौडेल, लेखा सहायक अस्मिता सुवेदी, आसना श्रेष्ठ लगायतका कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा चिकित्सक, पत्रकार, कानुन व्यवसायी, उद्यमी लगायतका तीन दर्जनबढी शेयर सदस्यहरुलाई संस्थाको विकासमा पुर्याएको योगदानका आधारमा सम्मान गरिएको थियो ।