नेपालगन्जको विकास बहस : तत्काल पोखरा उडान माग

नेपालगन्ज
संघीयताको मारमा खस्कँदो नेपालगन्जको विकासका लागि बहसलाई तिब्रता दिइएको छ । खासगरि, होटल तथा रेष्टुरेन्टको व्यवसायिक अवस्था खस्कँदै गएपनि सुरु भएको बहसलाई तिब्रता दिइएको हो ।
‘आन्तरिक देखि बाह्य सबै अवस्था सुधारमा निरन्तर बहसमा छौं,’ आइतवार नेपालगन्ज–पोखरा हवाई सेवा स्थापनाका लागि भएको सर्वपक्षीय बैठकपछि होटल व्यवसायी संघ, नेपालगन्ज बाँकेका अध्यक्ष भीमलाल कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘सबैको एउटै राय आएपछि सम्बद्ध सबै एअरलाइन्सहरुलाई पत्राचार गरि तत्काल नेपालगन्ज– पोखरा उडान सुरु गर्न आग्रह गरिएको छ ।’

सर्बपक्षीय सहभागीहरुले नेपालगन्ज– पोखरा उडानका लागि एयरलाइन्स कम्पनीका प्रतिनिधिहरु समक्ष तीन महिनाका लागि परीक्षण उडान सुरु गर्न ध्यानाकर्षण गराउँदै यात्रुको कमी नहुने दावी गरे । ‘असोज सम्म सुरु गरिएन भने, म आफैं चाटर्ड फ्लाइट सञ्चालनमा ल्याउने योजना बनाइरहेको छु,’ कोहलपुरको एकमात्र पाँच तारे होटल सेन्ट्रल प्लाजाका सञ्चालक देवानन्द अर्यालले अन्तक्र्रियात्मक बहसमैं भने, ‘डिमाण्ड निकै भएकाले मैले त्यो आँट बनाइरहेको छु भने एअरलाइन्स आफैंले चाहिं किन हिम्मत नगर्ने ?’
होटल व्यवसायी संघ कोहलपुरका निवर्तमान अध्यक्ष बलराम भट्टराई देखि होटल सिद्धार्थ भ्यू नेपालगन्जका निर्देशक केशव न्यौपानेसम्मका व्यवसायीले मात्र होइन, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवसम्मले एक स्वरमा भने, ‘नेपालगन्ज एउटा महत्वपुर्ण ट्रान्जिट पोइन्ट भएकाले पोखराका लागि उडानको उच्च माग छ ।’ श्रीवास्तवले पछिल्लो वर्षमात्रै पोखराका लागि ३० जना आफन्तलाई काठमाडौंको टिकट काटेको प्रसंगमा चर्चा गर्दै भने, ‘भारतीयहरु नेपालगन्ज आएपछि कि त काडमाडौं कि पोखरानैं घुम्न मन पराउँछन् ।’ उनले अहिले नेपालगन्जबाट पोखरा जाने भारतीयहरु कि त आफ्नै गाडीमा कि काठमाडौं हुँदै पोखरा जाने गरेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, डा. धवल समशेर राणाले नेपालगन्जलाई ‘ट्रान्जिट’ बनाएर पोखरा र काठमाडौं जाने भारतीय पर्यटकलाई लक्षित गरि तत्काल उडान सुरु गर्न एअरलाइन्सहरुलाई आग्रह गरे । उपप्रमुख उमा थापामगरले पनि निजी होस् वा सरकारी एयरलाइन्सको अग्रसरताले वातावरण बनाउने बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जको विकासका लागि देशका बिभिन्न शहरसंग सिधा हवाई सम्पर्क गराउन आवश्यक भएको बताए । नेपालगन्जको विकासमा साझा पहलको खाँचो औंल्याउँदै श्रेष्ठले निरन्तर पहलकदमीका लागि आव्हान गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले एकैपटक यात्रु जम्मा गरेर उडान भर्ने भन्दा यात्रा सुरु गरेर बजार बनाउन सुझाव दिए । ‘नेपालगन्ज–पोखराको उडान सुरु त गरौं,’ अध्यक्ष बैश्यले भने, ‘ढुक्क हुनुस् तपाईंलाई नोक्सान हुने अवस्था आउने छैन ।’
‘नेपालगन्ज पर्यटकीय क्षेत्र नभै ट्रान्जिट हो,’ पर्यटन व्यवसायी अर्यालले त्यसको हेक्का राखेरै नेपालगन्जका लागि आवश्यक योजना बनाउन आग्रह गरे । पर्यटकीय सुविधाका पुर्वाधारहरु राजधानी बाहिर देशकै स्तरिय र प्रसस्त मात्रामा निर्माण भइसकेको उल्लेख गर्दै अर्यालले भने, ‘अब यसको उपयोगिता र विकासमा केन्द्रीत हुनुपर्छ ।’ छलफलमा सहभागी व्यवसायीहरुले नेपालगन्ज–पोखरा उडानसंगै भारतीय पर्यटकको चाप बढ्नेमा ढुक्क भएको बताए ।

दुई वर्षअघि पोखराका होटल व्यवसायीहरुले नेपालगन्जमैं आएर आफुहरु पर्यटकीय करिडोरमा नेपालगन्जसँग जोडिन चाहेको बताएका थिए । ‘चलिय पोखरा’ अभियान लिएर भारतका विभिन्न सहरमा पुगेका उनीहरुले फर्किएपछि नेपालगन्ज– पोखरा उडानको आवश्यकता औंल्याएका थिए । त्यस चाहनालाई बुद्ध एयरले सम्बोधन गर्ने बताएपनि अहिलेसम्म उक्त उडानले मुर्त रुप पाउन सकेको छैन । सानो जहाज उडाउँदा टिकट महङ्गो हुने भएकाले मागलाई सम्बोधन गर्न नसकिएको बुद्धका नेपालगन्ज प्रमुख बिनित शाह तर्क गरे । यति एयरका नेपालगन्ज प्रमुख दिलिप कार्कीले यात्रुको मागका आधारमा सेवा प्रदान गर्न सकिने जनाउँदै पछिल्लो पहल र प्रयासबारे तत्काल केन्द्रमा जानकारी गराउने प्रतिबद्धता जनाए ।

नेपाल एयरलाइन्सका अधिकृत यमराज सिंहले नेपालगन्जमा आएको पोखरा उडानका माग लेखि पठाउने बताए । बर्दिया बासगढी नगरपालिकाका प्रमुख, शालिकराम अधिकारीले बर्दिया निकुन्ज ब्राण्डिङ गर्न आफुहरु अग्रसर भइरहेको जानकारी दिए । उनका अनुसार, बर्दियाबाट पोखरा पुगेरै पहल भइरहेको हो । ‘नेपालगन्ज –पोखरा उडान आवश्यक छ,’ खजुरा गाउँपालिका प्रमुख एकमाया बिकले भनिन् ।

बाँके र बर्दियाका स्थानीय तहका प्रमुख, उपप्रमुख, नागरिक उड्डयन प्राधिकरणका अधिकृत, पर्यटन व्यवसायी, उद्योगी व्यवसायी, ट्राभल एजेन्ट, पत्रकार लगायतको सहभागिता भएको कार्यक्रमलगत्तै होटल व्यवसायी संघले मुख्य ४ वटा एयरलाइन्सलाई पत्राचार गरि उडानको नियमित व्यवस्था मिलाउन माग गरिएको अध्यक्ष कंडेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया