कसरी उठ्छ नेपालगन्जको व्यवसाय ?

चिन्ता होटल व्यवसायीहरुको, चासो सबै व्यवसायिक क्षेत्रको, सरोकार नेपालगन्जको । एउटा सार्थक बहसको पहल ।

नेपालगन्ज:
जिल्ला प्रशासन कार्यालयमा व्यवसायीहरुको चिन्ता सुनेपछि प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफै संयोजनकारी भूमिकामा प्रस्तुत भए । सर्वपक्षीय सहभागितामा भएको एउटा कार्यक्रमलाई प्रजिअ भुजेलले सञ्चालनदेखि समापनसम्म आफैं गरे । जहाँ, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर देखि जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघ, कानुन व्यवसायी सम्म सहभागी रहे ।

सामान्य होटल तथा रेष्टुरेन्ट व्यवसायी देखि पाँच तारे होटलका सञ्चालक मात्र होइन, निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व, यातायात व्यवसायी अगुवा देखि राज्यका सम्बद्ध निकायका प्रमुखहरुको सहभागिता थियो ।
‘नेपालगन्जका लागि महत्वपूर्ण सवाल लिएर होटल व्यवसायी संघ आएकाले संयोजन गरिदिएको हँु,’ सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस देखि समाजवादी, राजपा सम्मका दलका जिम्मेवार नेताहरुको सहभागितामा प्रजिअ भुजेलले बहसको कमाण्ड सम्हाल्दै भने, ‘यहाँ भाषणबाजी होइन, समस्याको पहिचान र समाधानका लागि जिम्मेवारी लिने गरि अगाडी बढौं ।’ प्रजिअ भुजेलले त्यो भन्नु अघि सधैंझैं होटल व्यवसायी संघका महासचिव रंग बहादुर खड्का संघका अध्यक्ष भीमलाल कंडेलको अध्यक्षतामा नगर उपप्रमुखलाई प्रमुख अतिथि बनाएर आसन ग्रहणको प्रारम्भ गर्दै थिए ।
नेपालगन्जको व्यवसायिक सुरक्षा खस्किएको भन्दै सम्बद्ध क्षेत्रबाट चासो र चिन्ता व्यक्त भइरहँदा एउटा सार्थक बहसको पहल भएको छ । संघीयतापछि खस्किएको नेपालगन्जको व्यवसायिक अवस्थाको सुधारका लागि सर्बपक्षीय बहसको पहल भएको हो । त्यसका लागि होटल व्यवसायी संघ नेपालगन्ज बाँकेले यसै साता प्रदेश सभा सदस्य, नगर प्रमुख लगायतका जनप्रतिनिधिहरु सहितको बृहत् सर्वपक्षीय सहभागितामा व्यवसायिक क्षेत्रका १५ बूँदे समस्या र समाधानका उपायबारे अवधारणा प्रस्तुत गर्याे । ‘त्यसको कार्यान्वयनका लागि पहल लिन खोजिएको हो,’ कार्यक्रमबारे संघका अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने ।

बाँकेको बजार व्यवसाय खस्कँदो अवस्थामा रहेको भन्दै दुई वर्षदेखि चिन्ता व्यक्त गरिंदै आएको छ । खासगरि, संघीय संरचनामा मुलुक गएपछि नेपालगन्जमाथि प्रहार सुरु भएको हो । भएका सबै सरकारी तथा गैरसरकारी संघसंस्थाका क्षेत्रीय संरचनाहरु विस्थापित भएदेखि नेपालगन्ज समस्यामा पर्दै आएपनि त्यसको पहिलो प्रभाव होटल तथा रेष्टुरेन्ट व्यवसायमा पर्याे । सुधारका पहलका लागि होटल व्यवसायी संघ, नेपालगन्ज बाँकेले सरोकारवालाहरुबीच बृहत् अन्तक्र्रिया गर्दै भन्यो, ‘कुनै बेला थामिनसक्नु पाहुनाको भीड अब सुनसान अवस्थामा पुगेको छ, यो प्रभावले नेपालगन्जका सबै व्यवसायिक क्षेत्रलाई प्रहारु गर्दै जाने निश्चित छ ।’ वास्तवमा साना तथा मझौला १ हजार ५ सयबढी होटल व्यवसायीहरुको छाता संस्था व्यक्त गरेको धारणाबाट प्रष्ट हुन्छ, ‘नेपालगन्जको भविष्य बारे बेलैमा सोचिएन भने गम्भीर नकारात्मक परिणाम यो ऐतिहासिक नगरले व्यहोर्नुपर्नेछ ।’

‘दैनिक ४÷५ सय सर्वसाधारण यात्रु अहिले नेपालगन्ज नकुचेरनै आ–आफ्ना गन्तव्यमा जाने गरेका छन्,’ विषयको उठान गर्दै विहीवारको सर्वपक्षीय अन्तक्र्रियामा होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कंडेलले भने, ‘आउँदाजाँदा नेपालगन्जमा बास बस्ने उनीहरुलाई अहिले अबैध बसहरुले ओसारपसार गरिरहेका छन् ।’ कंडेलको कुरालाई सहि थाप्दै त्यस अवैध यातायात सञचालनका कारण नेपाली यातायात व्यवासायीहरु धराशयी हुने अवस्थामा पुगिरहेको धारणा भेरी यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले व्यक्त गरेपछि केही बेर कानुनका दफामा छलफल भयो । ‘तत्काल यसबारे बुझेर मलाई जानकारी गराउनु,’ यातायात व्यवस्था कार्यालय भेरीका अधिकृत पूर्णबहादुर खत्रीसँगको रायपछि प्रजिअ भुजेलले भने ।’

‘भारतका विभिन्न सहरबाट टुरिष्ट बसका नाममा सोझै नेपालका विभिन्न जिल्लामा यात्रु बोकेर गुड्ने र यहाँबाट फर्किएर पुनः यात्रु ओसार्ने बसहरुको कानुनी हैसियत अनुसन्धान गरि कानुनी कारबाही अघि बढाउने कुरामा सबैको लिखित सहमति गरिएको छ,’ संघका प्रवक्ता डिलाराम पौडेलले दैनिक नेपालगन्जसँग भने । प्रवक्ता पौडेलका अनुसार, गैरकानुनी यातायात सञ्चालन कार्य तत्काल रोक्न सबैले जोड दिएका छन् ।

दिल्ली, गुजरात, सिमला, हरिद्वार लगायत भारतका विभिन्न सहरबाट रोल्पा, रुकुम, दाङ, सल्यान, अर्घाखाँची लगायतका कयौं जिल्लामा सोझै यात्रुबाक बस अबै रुपमा सञ्चालन ल्याइएपछि समस्या देखिएको सम्बद्ध व्यवसायीहरुको गुनासो छ । ‘आलोपालो भनिएपनि यसले नेपाली व्यवसायीलाई धराशयी बनाउने गुरुयोजना बनाएको छ,’ बहसमा सहभागी व्यसायीहरुले भने, ‘४५ लाखका भारतीय बससँग ७५ लाखका नेपाली बसले कसरी बराबरी प्रतिष्पर्धा गर्न सक्छ ?’ सडक दुर्घटनामा बसनै छाडेर बेपत्ता हुनेसम्मका घटनाक्रम देखा पर्न थालिसकेको भेरी यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष पौडेलले भने । पौडेलले यसखालको अवस्था रहिरहने हो भने राष्ट्रिय अर्थतन्त्रमा समेत निकै नराम्रो प्रभाव पार्ने तर्क समेत गरे ।

त्यसखालको अबैध व्यवसायले नेपालगन्जको होटल तथा रेष्टुरेन्ट मात्र होइन सिंगो बजारलाईनै प्रभावित पारेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । ‘सिमावर्ती बजारमा यात्रु झारेर भारत फर्किने व्यवस्था मिलाइनु पर्छ,’ अध्यक्ष बैश्यले नेपालगन्ज भन्सार देखि सोझैं कोहलपुर बस सञ्चालन गरिंदा पनि अबैध कारोबारले प्रश्रय पाएको तर्क गर्दै भने, ‘नेपालगन्ज बसपार्क–जमुनाह, नेपालगन्ज बसपार्क – कोहलपुर बसपार्क नगरबस रुट बनाइनु पर्छ ।’ उनले १ सय रुपिया भन्दा बढीको मालसामान ल्याउने जुनसुकै व्यक्तिको अभिलेख भन्सारमा राख्ने व्यवस्था मिलाएर स्वदेशी बजारलाई प्रोत्साहित गर्न जोड दिए । होटल व्यवसायी संघका प्रवक्ता पौडेलले बसपार्क सञ्चालनमा आएपछि नगरबसलाई दुबै बसपार्क पुग्न अनिवार्य गर्दै यात्रु तान्न रुपैडिहा पुग्ने बेथिति हटाउन कानुनी कारबाहीको निर्णय गरिएको बताए ।

चुनौतीबीच होटल व्यवसायीहरुको छाता संस्था, होटल व्यवसायी संघ नेपालगन्ज बाँकेले नेपालगन्जमा फुड फेष्टिबल आयोजना गरिरहेको जनाएको छ । ‘हामी चाहान्छौ खुल्ला सडक होस् । सडक पेटीमा कोही कसैले पनि ठेला गाडा नराखोस्,’ संघका तर्फबट वरिष्ठ सल्लाहकार नारद पुरीले राखेको धारणामा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले आफुहरुको प्रयास सफल नभइरहेको र त्यसमा नेपालगन्ज उद्योग वाणिज्य संघको साथ आवश्यक रहेको बताइन् । ‘जनशक्तिको व्यवस्थापन गर्नु्स्, साधन स्रोत हामी उपलब्ध गराउँछौं,’ अव्यवस्थित बजार, सडक पेटी अतिक्रमण, यातायातका साधनहरु अब्यस्थित पार्किङ्ग लगायतका सवालमा उपप्रमुख थापाले जिल्ला प्रहरी कार्यालयका प्रमुख बीरबहादुर वलीतिर लक्षित गरि भनिन्, ‘जिल्ला ट्राफिक कार्यालय कोहलपुर सारिएपछि नगरको अवस्था झनै अस्तव्यस्त भएको छ ।’

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वलीले सडक छेउ सेकुवा पोलेर वातावरण प्रदुषण बनाउने देखि जमुनाह पुगेर यात्रु तानातान गर्ने सम्मलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । ‘संघ तगारो नबनोस्,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र होटलका अध्यक्ष भीमलाल कंडेल तर्फ लक्षित हुँदै भने, ‘गलत गर्नेलाई तपाईंहरु संरक्षण नगर्नुस् ।’

सहभागीहरुले अस्थायी राजधानीको रुपमा बुटवललाई सिमित राख्दा बाँके बर्दिया ओझेलमा परिरहेको सवाल अघि सार्दै समयमैं प्रदेश राजधानीको विषय टुंगो लगाउन दलहरुलाई दबाब दिन ध्यानाकर्षण गराए । काँग्रेस जिल्ला सभापति किरण कोइराला, नेकपा नगर अध्यक्ष डिल्ली बराल। समाजवादी पार्टी प्रतिनिधि मित्रहरी आचार्य, राजपा नेतृ रेखा गुप्त लगायतले सहभागीका कुरामा सहमति जनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया