‘सुविधाको फारम भरेर मात्रै सामान ल्याउन देउ’

भन्सारबाट अनियन्त्रित रुपमा विना भन्सारको सामान भित्रिएको भन्दै व्यवसायीहरुले त्यसमा अंकुश लगाउन आवश्यक रहेको धारणा राखेका छन् ।


सोमबार नेपालगन्ज उद्योग वाणिज्य संघका भएको छलफल कार्यक्रममा व्यवसायीहरुले विना भन्सार भित्रिने सामानहरुको नियन्त्रणका लागि सुविधाको फाराम भरेर मात्रै भित्रिन दिने व्यवस्था मिलाउनु पर्ने धारणा राखेका थिए । ‘भन्सार विना भित्रिएका सामानका कारण यहाँको व्यवसाय धराशयी हुँदै गएको छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘त्यसैले भन्सार छुटमै सामान आउन दिनेहो भने कम्तिमा सुविधाको फाराम भरी त्यसको तथ्यांक राख्ने व्यवस्था भन्सारमा हुनुपर्छ ।’


नेपालगन्ज उद्योग वाणिज्य संघ राजश्व तथा प्रहरी प्रशासन व्यवस्थापन उपसमितिका संयोजक नन्दलाल वैश्यज्यूको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताका नाममा सामान ल्याएर नेपालगन्जमा व्यवसाय गर्ने काम भैरहेको भन्दै भन्सारले नियमन गर्नुपर्ने धारणा राखेका थिए । ‘भन्सार कडाईका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ’, संघ अध्यक्ष वैश्यले भने, ‘सुविधाको फारम मात्रै भर्ने व्यवस्था भन्सारमा हुने हो भने विना भन्सार भित्रिने सामानको परिणाम कम हुन्छ ।’


छलफलमा नयाँ बजेटमा व्यवस्था भएको कर तथा नीतिको बारेमा समेत छलफल गरिएको थियो । ‘बजेटले गरेको नयाँ व्यवस्था बारे जानकारीमूलक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छौं’, अध्यक्ष वैश्यले भने ।


यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघले आज मंगलबार भेकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिष्टमका सम्बन्धमा अन्तरक्रिया तथा छलफल गर्ने भएको छ । ‘राजश्व चुहावट ऐन, २०५२ मा व्यवस्था भए बमोजिम वेभमा आधारित ढुवानी प्रणाली कार्यान्वयनका लागि विभागको व्यवस्थाका सम्बन्धमा छलफल गर्न लागिएको हो’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले भने ।

प्रतिक्रिया

प्रतिक्रिया