सिमिट इन्टरनेशनलद्वारा सन्चालित सिसा परियोजना खजुराले मल तथा बीउ छर्ने मेसिन प्रबिधिको प्रदर्शनीसँगै किसानको घरदैलो पुग्दै जनचेतना फैलाउने कामको सुरुवात गरेको छ । प्रविधि विस्तार गर्न गाउँ गाउँमा पुग्ने उद्देश्यले किसानकै घरदैलोमा पुगि मेसिनको बारेमा जानकारी दिइएको सिसा परियोजनाका क्षेत्रीय संयोजक सालिन आचार्यले जानकारी दिए ।
झोले मेसिन (स्पीडर) को फाइदाका बारेमा प्रत्येक किसानहरुलाई जानकारी दिन बाँकेको खजुरा गाउँपालिका देखि सुरु गरिएको र यस अभियानलाई बाँकेको अन्य व्यवसायिक कृषकका माझ सगै बर्दियाको गुलेरिया देखि राजापुर सम्मका किसानहरुलाई जानकारी दिइने क्षेत्रिय संयोजक आचार्यले बताए । मेसिनको विशेषता, मुल्यका बारेमा पनि पूर्णरुपमा जानकारी गराइएको आचार्यले जनाएका छन् ।
मुख्य–मुख्य व्यसायिक कृषक भएका गाउँमा पुगेर झोले मेसिनको प्रयोगका बारेमा प्रयोगात्मक रुपमा सिकाउने र आधुनिक प्रविधिको विस्तार गर्ने गरी जनचेतनामुलक कार्यक्रम सन्चालन गरीएको आचार्यले बताए । उनले जति पनि दानेदार मल छन जस्तो युरिया डिएपी सजिलै छर्न सकिने र वीउमा गहँु, मसुरो, मुङ्ग, धान जस्ता बालीहरु छर्न सकिने बताए । झोले मेसिनबाट धुलो मल भने छर्न नसकिने हुदा दानेदार मल र वीउ नै उपयुत हुने क्षेत्रिय संयोजक आचार्यले जनाए ।
झोले मेसिनबाट एक पटक छर्दा लगभग १० किलो सम्म मेसिनमा अटाउने र एकनासले छर्ने हुदाँ कुनै झण्झट नहुने कृषि प्रावधिकले बताएका छन् । परम्परागत तरिकाबाट छरिने मल वीउ भन्दा झोले मेसिन बाट छर्दा एकनासले छर्न सकिने, छिटो हुने भएपछि पछिल्लो समय किसानको आर्कषक बढ्दै गएको छ । लगभग एक विगाहमा हातले छर्दा दुई घण्टा सम्म लाग्छ भने झोले मेसिन बाट छर्दा ४५ मिनेटसम्ममा सकिने आचार्य बताउँछन् । आचार्य भन्छन्, –‘समयको बचत सगै झोले मेसिनबाट केटाकेटि देखि बृद्धा सम्मले सजिलै काम गर्न सकिन्छ ।’ गाउँघरमा अझैपनि मल वीउ छर्न सिपालु मान्छे चाहिने र नयाँ पिढीलाई छर्ने सिप कमै मात्रमा हुने भएकाले पनि झोले मेसिन प्रभावकारी मानिएको छ ।