खेलकुदको महाकुम्भ, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएसँगै नेपालगन्ज ह्वात्तै तात्तिएको छ । दिउसो बजार सुनसान हुन थालेको छ । राहत दिएको छ त केवल आठौंका बेला भएको नेपालगन्जको आर्थिक कारोवारले ।
नेपालगन्ज प्रादेशिक राजधानी नभएकाले यहाँको कारोबार कम भएको भन्दै निरुत्साहित व्यापारीहरु यति ठुलो प्रतियोगिता नेपालगन्जमा सन्चालन भएपछि उत्साहित हुने अवसर पाए । झण्डै २ साता आठौंको सेरोफेरोले यहाँका व्यवसायीहरुमा आशा जगायो ।
साविकको मध्य र सुदुरपश्चिमको व्यापारिक केन्द्रका रुपमा रहँदै आएको नेपालगन्ज प्रादेशिक राजधानी नभएपनि आठौं जस्ता विभिन्न उत्सवमय गतिविधिले यहाँको बजार चलायमान भइरहनेमा व्यवसायीहरुमा आशा जगायो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताले । ‘यो ठुलो अवसर हो,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले खासगरि होटल तथा रेष्टुरेण्ट व्यवसायले निकै राम्रो अवसर पाएको औल्याउँदै भने, ‘नेपालगन्जलाई यसैगरि उत्सवमय बनाइरहन सक्यो भने निकै राम्रो हुन्छ ।’
हुनपनि आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा मात्र यहाँ करोडौंको व्यापार भएको छ । बाहिर जिल्लाबाट नेपालगन्ज आएका खेलाडी, प्रशिक्षक तथा पाहुनाहरुका कारण यहाँका होटल व्यवसायहरुलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको छ । ‘अप्रत्यक्ष रुपमा सबैले त्यसको फाइदा लिएका छन्,’ नेपालगन्ज उत्सव देखि प्रधानमन्त्री कप जस्ता इभेन्ट आयोजना गर्दै आएका दैनिक नेपालगन्जमा महानगर गाथाका स्तम्भकार टिएस ठकुरी भन्छन्, ‘नेपालगन्जलाई पुरै आर्थिक रुपले चलायमान बनाएको छ आठौंले ।’
राष्ट्रिय खेलकुदको आयोजक निकाय, राष्ट्रिय खेलकुल परिषद्का अनुसार, प्रतियोगितामा सहभागी हुन करिब ११ हजार मानिसहरु नेपालगन्ज भित्रिएका थिए । उनिहरुले घुमफिर गर्दा रिक्सा, पानीपुरी, चाट पसल, खाजा नास्ता पसल समेत भरीभराउ थिए । राती अबेरसम्म पनि नेपालगन्ज विभिन्न चोकमा भएका ठेला, खाजाघर र पानपसलहरु भरीभरिउ देखिए । यसले पनि यहाँको कारोबार बढेको अनुमान गर्न सकिन्छ ।
त्यतिमात्रै होइन, प्रतियोगिता सन्चालनको समयमा आयोजनास्थल सजाउनका लागी प्रयोग गरिएका सजावटका सामाग्री, प्यारापिट रंग्याउने रंग लगायतका सामानको पनि व्यापार भयो । श्रमिकले थोरै भएपनि काम पाए । पौडीपोखरी निर्माण पुरा नभएकाले होटलको पौडी पोखरी समेत प्रयोग गरियो । सकारात्मक दृष्टिकोणले हेर्ने हो भने यसले पनि होटल व्यवसायमा फाइदा पु¥यायो ।
होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्ले व्यवसाय सुस्त भएको समयमा आयोजित प्रतियोगिताका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपालगन्जका सवै व्यवसायहरुमा चहलपहलको रौनक थपिएको बताए । काफ्लेका अनुसार, व्यवसायीहरुले पनि पाहुनाहरुको स्वागतका लागी सहुलियतको व्यवस्था गरेका थिए । ‘उचित आवासको व्यवस्थापन लगायत खेलाडी, अफिसियललगायतका पाहुनाको स्वागतमा कुनै कमी राखिएन,’ उनले भने ।
जुमा स्पोर्टस् क्लबका अध्यक्ष भिमबहादुर राना भाट यति ठुलो प्रतियोगीता नेपालगन्जले पाउनु आफैमा गौरव भएको बताउँछन् । प्रतियोगिता यहाँको पहिचान र व्यापारसंग जोडिएकाले आफुहरुको साथ र सहयोग रहेको धारणा राख्दै खुद्रा व्यवसायी संघका अध्यक्ष समेत रहेका रानाभाटले नेपालगन्जका व्यवसायीले राम्रो आर्थिक राहतको अनुभूत गर्न पाएको बताए ।
झण्डै पौने अर्बका खेल पूर्वाधार बनेको नेपालगन्जमा वर्षौदेखि नबनेका पुराना र जिर्ण रहेका बाटोघाटो पनि आठौंका कारण बनेको स्थानीयले बताएका छन् । प्रतियोगिताकै कारण नगरका जीर्ण सडकहरु मर्मत गरिए । प्रतियोगिताले नगरको विकासमा समेत टेवा पु¥याएको स्थानीय भीमबहादुर सिंह बताउँछन् ।
‘नेपालगन्जको इतिहासमंै सबैभन्दा धेरै लगानीमा खेलकुद पूर्वाधार निमार्ण भएका छन्,’ आठौंलाई नेपालगन्जमैं र समयमैं गरिछाड्न दृढ संकल्पित राखेपका सदस्य सचिव केशव विष्टले भने,’ नेपालगन्जका लागि यो ठुलो उपलब्धी हो ।’ यहि प्रतियोगीताकै कारण यति ठुलो संरचना नेपालगन्जले पाएको मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम ओलीको पनि भनाइ छ ।
नेपालगन्जमा मात्र नभएर कोहलपुर, खजुराको सीतापुर लगायतका विभिन्न ठाउँमा समेत खेल पूर्वाधार निर्माण गरिएका छन् । त्यो समयमा त्यहाँ पनि चहलपहल र रौनकताले बजार तात्योे । प्रतियोगिता सन्चालन भएका प्रदेश ५ का बाँकेसंगै बर्दिया, दांग, कपिलवस्तु र रुपन्देही लगायतका जिल्लामा पनि भौतिक संरचना निर्माणसंगै व्यापारिक कारोवार भयो । ‘अब खेल पर्यटनको दृष्टिले प्रदेश तथा स्थानीय सरकारले पनि यसखालका विभिन्न प्रतियोगिताका योजना बनाउनु पर्छ,’ पत्रकार ठकुरी बनेका खेल पूर्वाधारबाट फाइदा लिन सुझाउँदै भन्छन् ।