मर्जरको तयारीमा भार्गव !

६ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय
नेपालगन्जमा प्रधान कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेडले मर्जरको तयारी गरेको छ । बैंकको शनिबार नेपालगन्जमा भएको एघारौं बार्षिक साधारणसभाले मर्जर प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हो ।

 
साधारणसभा पश्चात बैंकले दिएको जानकारी अनुसार साधारणसभाले बैंकले उपयुक्त बैक तथा वित्तिय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने, प्राप्ति÷समाहित हुने सन्दर्भमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हो ।
भागर्वले आ.व. २०७४÷०७५ मा निक्षेप, कर्जा, खुद नाफा वृद्धि गर्न सफल भएको साधारणसभामा जानकारी दिइएको थियो । बैंकले समिक्षा बर्ष आ.व. २०७४÷०७५ मा अघिल्लो आ.व.को तुलनामा निक्षेप ५९ प्रतिशत, कर्जा ६४ प्रतिशत, खुद नाफा तर्फ २७ प्रतिशत वृद्धि गर्न सफल भएको हो । साधारणसभाले आ.व. २०७४/०७५ सम्मको संञ्चित मुनाफाबाट ६ प्रतिशत नगद लाभांस शेयरधनीहरुलाई वितरण गर्ने निर्णय पनि पारित गरेको छ ।

 
साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डम्बर बहादुर थापाले बैंकको व्यवसायिक बृद्धिदर सन्तोषजनक रहेको बताएका थिए । आन्तरिक नियन्त्रण प्रणाली चुस्तदुरुस्त राखी गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउँदै उनले आगामी आ.व.मा आफ्ना लगानीकर्ताहरुलाई अझ राम्रो प्रतिफल दिन सफल हुने कुरामा ढुक्क रहन शेयरधनीहरुलाई आश्वस्त समेत पारेका थिए ।
बैंकका सञ्चालक जगन्नाथ गोतामले स्वागत गरेको कार्यक्रमको सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले गरेका थिए । भार्गवले हाल १७ वटा शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवासँगै, रेमिट्यान्स, चेक क्लिरिङ्ग, अन्तर बैंक ट्रान्सफर, अनलाइन बैंकिङ्ग, सि–आस्वा, एसएमएस, मोबाइल बैंकिङ्ग सेवा दिंदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया