उद्योगमा आगलागी, करोडौंको क्षति

नेपालगन्जको एउटा प्लाइ उद्योगमा शुक्रवार लागेको आगोले करोडौं क्षति पुगेको छ । नेपालगन्ज–१३ उदयपुरमा रहेको ओम प्लाइउड एण्ड फर्निचर उद्योगमा बिहान ४ बजेतिर एक्कासी लागेको आगोले नियन्त्रणमा आइसक्दा करोडौंको क्षति पु¥याएको हो ।

 
उद्योग व्यवस्थापनले भने समयमा आगो नियन्त्रणमा लिन सकिंदा ठुलो क्षतिबाट उद्योग जोगिएको बताएको छ । ‘झण्डै ३० करोडको उद्योगमा समयमै आगो नियन्त्रणमा लिन नसकेको भए बरबाद हुन्थ्यो,’ उद्योगपति पशुपतिदयाल मिश्रले घटनाबारे दैनिक नेपालगन्जसँग भने, ‘घटनाको सूचना पाएको केही बेरमै सबै तिरबाट भएको सामुहिक पहल र प्रयासले आगो नियन्त्रणमा लिन सकिंदा ठुलो नोक्सानीबाट जोगियो ।’

 
आगलागीमा परेर उद्योगका दुई मेसिनमा सबैभन्दा बढी क्षति पुगेको छ । ‘उद्योगमा उत्पादन भएका तयारी सामान र उत्पादनको लागि आवश्यक कच्चा पदार्थहरु जलेर नष्ट हुँदा भएको क्षति अनुमानित ६ करोड देखिन्छ,’ ओम प्लाइउड एण्ड फर्निचर उद्योगका महाप्रवन्धक मिश्रले भने । ‘स्थानीय जनता, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दमकलसँगै ठुलो सहयोग गर्नुभयो,’ नोक्सानी हुनबाट उद्योग जोगिएकोमा सन्तोष गर्दै मिश्रले भने, ‘दुई वटा मुख्य मेसीन आगोले क्षति भएकाले उत्पादन सुरु गर्न भने केही दिन लाग्छ ।’

 
बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले आगलागीका कारण उपकरणमा क्षति पुग्दा नोक्सानी बढेको बताए । विद्युत सर्ट कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी दिंदै प्रहरी उपरीक्षक पौडेलले समयमै सुचना पुगेको र सबैको समन्वयले आगो नियन्त्रणमा लिन सकिएको बताए । प्रहरी, सशस्त्र प्रहरी स्थानीय तथा नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

 
४ वर्षदेखि सञ्चालनमा रहेको ओम प्लाइउड एण्ड फर्निचर उद्योगमा २ सयबढी कर्मचारी कार्यरत छन् । गर्मीसँगै आगलागीका घटना बढ्न थालेका छन् । ‘प्लाइ उद्योग सधैं आगलागीको जोखिममा हुन्छ,’ उद्योगपति मिश्रले भने, ‘स–साना दुर्घटनालाई समयमैं नियन्त्रण गरिंदै आएपनि यसपटक ठुलै घटना भयो ।’ मिश्रले जति सक्यो छिटो उद्योग सञ्चालनको चुनौती आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया