नेपालगन्जमा बन्दैछ छ डेढ अर्बको पार्क, डेढ सय कर्मचारी माग

नेपालगन्जमा निजी क्षेत्रको लगानीमा डेढ अर्बको पर्यटकीय गन्तव्यको परियोजना सञ्चालनमा आउने भएको छ । स्थानीय उद्योगी, व्यवसायीहरुको संगठित प्रयासबाट नेपालगन्ज–१४ ट्राफिक चोक नजिकै रिसोर्ट सहितको वाटरपार्क परियोजना निर्माण भैरहेको छ । मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले पाँच बर्षभित्र आफ्नो सबै परियोजना पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजनाका लागि काम अगाडि बढाएको जनाएको छ ।

 
‘एक अर्बको परियोजना ट्राफिक चोक नजिक र त्यसको कनेक्टिभिटिका लागि राझा नजिक ५० करोड लगानी गर्दैछौं’, मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.का सदस्य सन्तोष सिंहले दैनिक नेपालगन्जसँग भने, ‘यो बृहत परियोजना भएकाले ठूलो लगानीकर्तालाई संगठित गरेका छौं ।’

 
पर्यटकीय दृष्टिले नेपालगन्जलाई गन्तव्यका रुपमा विकास गर्न यो परियोजनाले सहयोगी भूमिका खेल्ने सञ्चालकहरुको विश्वास छ । खासगरी भारतीय पर्यटकहरुका लागि लक्षित गरेर रिसोर्ट र आन्तरिक पर्यटकहरुको मनोरञ्जनलाई लक्षित गरी वाटरपार्क परियोजना अगाडि बढाउन लागिएको हो । मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.ले रिसोर्टका लागि ट्राफिक चोक नजिकै बाबुगाउँ छेउमा आठ विगाह जग्गा खरिद गरि परियोजना कार्यान्वयनमा ल्याइरहेको हो । त्यसका लागि १ सय ४३ कर्मचारीको माग समेत प्रा.लि.ले गरेको छ ।


‘राँझामा फोर स्टार होटलका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको छ’, सन्तोषले स्वीमिङ्ग पुल सहितको ४० कोठे भवनका लागि मात्रै ३६ करोड लगानी निश्चित गरिएको जानकारी दिए । रिसोर्ट भने प्राकृतिक विधिको प्रयोगबाट बनाइँदैछ । एक सय कोठाका लागि छुट्टाछुट्टै १५ वटा भवन डिजाइन गरिएको छ । ‘रेष्टुरेन्टका लागि ४० करोड र वाटरपार्कका स्लाइडका लागि मात्रै १४ करोड बजेट छुट्याइएको छ’, सञ्चालकहरु भन्छन, ‘यो परियोजना नेपालकै लागि एउटा नमूना बनाउने हाम्रो योजना हो ।’

 
भारतीय पर्यटकहरुलाई दिल्लीबाट मानसरोवरसम्मको यात्राका क्रममा आरामदायी बसाईका लागि रिसोर्टको योजना बनाइएको हो । ‘डेढ अर्बको योजना भनेको दिल्लीका होटलसँगको प्रतिस्पर्धाका लागि हो’, सञ्चालकहरु भन्छन्, ‘नेपालगन्जमा दिल्ली भन्दा राम्रो सुविधा दिन सकिन्छ भन्ने उदाहरण हामी दिन खोज्दैछौं ।’ उनीहरुले नेपालगन्जलाई आर्थिक महानगरका रुपमा विकास गर्ने सरकारी योजनाले आफुहरुलाई उत्साहित बनाएको प्रतिक्रिया पनि दिए ।
नेपालगन्जको बृहत्तर विकासमा सरकारी लगानी बढ्दै गए निजी क्षेत्रबाट अझ बढी लगानी भित्रने विश्वास उद्यमीहरुको छ । ‘दिल्ली–नेपालगन्ज–दिल्ली दैनिक उडान भयो भने नेपालगन्जले दिल्लीसँग आफुलाई विकासका लागि पनि जोड्न सक्नुपर्छ’, डेढ अर्ब लगानी गर्दै पर्यटकीय संरचना बनाउन लागेका मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.का सञ्चालकहरु भन्छन्, ‘यो संरचना आन्तरिक पर्यटकका लागि रि–क्रियसन सेन्टर बन्नेछ ।’

 
नेपालगन्जलाई महानगरका रुपमा विकास गर्न नेपालगन्ज उपमहानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने समाचार बाहिर आएपछि निजी क्षेत्रले त्यसप्रति आशा बढाएको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट, ब्रोडगेज रेलवे, सुख्खा बन्दरगाह लगायतका संरचनाले नेपालगन्जका लागि महानगरको सम्भावना बढाएको’ भन्दै निजी क्षेत्रबाट लगानी भित्रिने क्रम अगाडि बढेको सम्बद्धहरुको भनाइ छ । ‘निर्यातमूखि औद्योगिक क्षेत्र नौबस्तामा निर्माण कार्य अगाडि बढ्नुले पनि नेपालगन्जको सम्भावना सकारात्मक देखिएको हो’, सन्तोषले दैनिक नेपालगन्जसँग भने, ‘मैले त सुरु मात्र गरेको हुँ यसमा जिल्लाका भरपर्दा लगानीकर्ताहरु संगठित भैसक्नु भएको छ ।’

 
डेढ अर्बको परियोजना सहरसँग जोडिएको गाउँमा बिस्तार हुँदा ग्रामीण क्षेत्रको विकास हुने उनीहरुको विश्वास छ । ‘किसानहरुको उब्जनी उपयोग हुने सुनिश्चितता हामी गर्दैछौं’, रिसोर्टका सञ्चालक भन्छन्, ‘खासगरी फलफुल, तरकारीका लागि यहीका ग्रामीण बस्तीलाई आयआर्जन हुनेगरी योजना पनि अघि सारिनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया