नेपालगन्ज उद्योग वाणिज्य संघले अर्थमन्त्री डा. युवराज खतिवडासँग व्यवसायिक क्षेत्रका माग तथा समस्यालाई आगामी बर्षको बजेट तथा नीतिमा सम्बोधन गर्न माग गरेको छ । सोमबार रुपन्देहीमा अर्थ मन्त्रालय अन्तर्गको राजश्व परामर्श समितिले आयोजना गरेको आगामी आ.व.का लागि बजेट तथा राजश्व नीति र कार्यक्रमको सम्बन्धमा अन्तरक्रिया तथा छलफलमा संघले नेपालगन्जका व्यवसायीहरुको तर्फबाट माग पत्र अर्थमन्त्री डा. खतिवडालाई बुझाएका हो ।
संघीयता पछि यहाँको खस्किएको व्यवसायलाई पुनः ट्रयाकमा ल्याउनका लागि आवश्यक पूर्वाधार निर्माण लगायतका बारेमा अर्थमन्त्रीलाई माग पत्र बुझाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । उनले व्यवसायीहरुले आयात–निर्यातमा झेल्नु परेको समस्या, कर सम्बन्धी समस्या समाधान हुने कार्यक्रम आगामी बजेटमा ल्याउन ध्यानाकर्षण गराएको वैश्यले जानकारी दिए ।
‘आयातमा बिल अनुसार भन्सार मूल्यांकन गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेका छौं’, अध्यक्ष वैश्यले भने । उनले सुख्खा बन्दरगाह निर्माणले नेपालगन्जको उद्योग, व्यवसायमा सकारात्मक प्रभाव पार्ने भएकाले तत्काल निर्माणका लागि पहल गर्न आग्रह गरिएको बताए ।
संघका महासचिव अजय टण्डनले दशकदेखि नेपालगन्जमा निर्माणको योजना बनाएर पनि निर्माण सुरु हुन नसकेको बहुउद्देश्यीय सभागृह र प्रदर्शनी स्थलका लागि पनि आगामी बर्ष बजेट छुट्याउन अर्थमन्त्रीसँग आग्रह गरेको जानकारी दिएका छन् ।
नेपालगन्ज नाकाबाट पशुजन्य उत्पादन निर्यातमा भारतले प्रतिबन्ध लगाएकाले व्यवसायी मर्कामा परेकाले निर्यात सुचारुका पहल गरिदिन अर्थमन्त्री समक्ष आग्रह गरिएको महासचिव टण्डनले बताए । ‘नेपालगन्ज नाकाबाट लाखौं टिन घ्यु निकासी हुन्थ्यो, तर भारतले रोकिदिंदा निर्यात ठप्प छ’, महासचिव पाण्डेले भने ।
जडिबुटी भारत निकासीमा भैरहेको समस्या बारे पनि संघले अर्थमन्त्रीलाई अवगत गराएको छ । ‘हामीकहाँ १ सय २५ प्रकारका जडिबुटी उत्पादन हुन्छ तर भारतले २६ प्रकारका जडिबुटी मात्र निकासीको अनुमति दिएको छ’, महासचिव टण्डनले भने, ‘नेपालमा उत्पादित सबै जडिबुटी भारत निकासीको व्यवस्था मिलाउन माग गरेका छौं ।’
जडिबुटी परीक्षण ल्याब नेपालगन्जमा नहुँदा भारत निकासीमा व्यवसायीहरुले समस्या झेल्नु परेको जानकारी अर्थमन्त्रीलाई दिइएको जानकारी दिंदै टण्डनले भने, ‘नेपालगन्जमा जडिबुटी परीक्षण ल्याब स्थापनाको माग गरेका छौं ।’ उनले नेपालगन्जमा ५ हजार टन भण्डार क्षमताको कोल्ड स्टोरेजका लागि बजेट उपलब्ध गराउन अर्थमन्त्रीसँग आग्रह गरिएको टण्डनले जानकारी दिए । उनले बाँके कचनापुरका ठुरियामा १ हजार ३ सय विगाहमा जग्गामा विशेष आर्थिक क्षेत्र निर्माण गरी प्रदेश ६ को आर्थिक राजधानी बाँकेलाई बनाउन माग पत्र पेश गरिएको बताए । संघ अध्यक्ष वैश्यले संघले बुझाएको माग पत्र अध्ययन गरी तिनको सम्बोधन गर्ने आश्वासन अर्थमन्त्रीबाट प्राप्त भएकोे जानकारी दिए ।
छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले विश्वपर्यटनको केन्द्र लुम्बिनीको विकासका लागि विदेशी लगानी गर्न उत्साहित रहेकोे बताएका थिए । उनले भने,‘लुम्बिनीको विकासका लागि वैदेशिक लगानीकर्ता लगानी सम्मेलनमा लुम्बिनीमा एकीकृत आयोजना सञ्चालन गर्न २० अर्ब डलर बराबर ल्याएर आउनुभएको थियो । हामीले त्यति त तत्काल नचाहिएला भनेर चार अर्ब डलर बराबरको काम गर्ने सहमति गरेका छौँ ।’
अर्थमन्त्री खतिवडाले लुम्बिनीमा प्रसूति गृहसहितको आधुनिक अस्पताल, सडक विस्तार जस्ता आयोजना हुने बताएका थिए । उनले आगामी बजेटमा बुद्ध सर्किटको आयोजना प्राथमिकतामा पर्ने बताउँदै सरकारले बेलहिया बुटवल छ लेन सडकलाई मध्यपहाडी सडकसँग जोड्ने गरी बजेट व्यवस्थापन गर्न लागेको बताए । मन्त्री खतिवडाले स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाउने गरी सङ्घीय सरकारले बजेट ल्याउन थालेको बताए ।