कर्णाली डेभलपमेन्टको निक्षेप झण्डै ३ अर्ब

बैंकको १५औं बार्षिकोत्सव

 

मध्य तथा सुदूरपश्चिमकै पहिलो विकास बैंकका रुपमा स्थापित कर्णाली डेभलपमेन्ट बैंकले पछिल्लो बर्ष आफ्नो निक्षेप ह्वात्तै बढाएको छ । सोमबार १५औं बार्षिकोत्सव भव्य रुपले मनाएको कर्णाली डेभलपमेन्ट बैंकले पछिल्लो एक बर्षमात्रै ८८ करोड रुपैयाँ निक्षेप वृद्धि गरी निक्षेप संकलन झण्डै ३ अर्ब पुर्याएको हो ।

 
सोमबार १५औं बार्षिकोत्सव मनाउने क्रममा बैंकका अध्यक्ष राजेन्द्र वीर रायले बैंकलाई प्रादेशिक संरचनामा बिस्तार गर्न लागेको योजना सुनाए । अध्यक्ष रायले २०७४ असार मसान्तसम्मको २ अर्ब निक्षेप र एक अर्ब ४ करोड कर्जा प्रवाहलाई ह्वात्तै बढाएर एक अर्ब ८८ करोड निक्षेप र १ अर्ब ९६ करोड कर्जा प्रवाह भएको जानकारी दिए । ‘कर्जा प्रवाहमा ८८ प्रतिशत र निक्षेप संकलनमा ४४ प्रतिशत वृद्धि गर्न सफल भएका छौं’, अध्यक्ष रायले दैनिक नेपालगन्जसँग भने, ‘अब बाँके, बर्दिया, दाङ्गमा सीमित रहेको कर्णाली डेभलपमेन्ट बैंक छिट्टै कपिलवस्तु र रुपन्देहीमा पनि शाखा बिस्तार गरिंदैछ ।’

 
बैंकले ५० करोड २८ लाख ३० हजार चुक्ता पूँजी पुर्याइसकेको जानकारी दिंदै अध्यक्ष रायले बैंकको लक्षित समुदायका रुपमा ग्रामीण क्षेत्र, नगरोन्मुख र सहरी क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीका दायरा बिस्तार गरेको बताए । ‘ग्राहकको अवस्था र सुविधा अनुरुपका शिर्षकमा निक्षेप तथा कर्जा वर्गीकरण गरिएको छ’, अध्यक्ष रायले भने ।
उद्योगी, व्यवसायी, बैंकर्स, जनप्रतिनिधि, बैंकका कर्मचारी सम्मिलित कार्यक्रममा अध्यक्ष रायले हाल १४ वटा शाखा रहेको कर्णाली विकास बैंकको छिट्टै ४ वटा नयाँ बिस्तार गर्न लागिएको जानकारी दिए । ‘बैंकलाई उद्योग, व्यवसायीहरुको आफ्नै संस्थाका रुपमा अपनत्व विकास गर्न विभिन्न नयाँ प्रोडक्टहरु लन्च गर्न लागिएको छ’, अध्यक्ष रायले भने ।

 
प्रविधि मैत्री वेभसाइट निर्माण गरिएको जानकारी दिंदै खाता खोल्ने फारामदेखि केवाइसी फाराम सम्म सबै बैंकको वेभसाइटमा उपलब्ध गराइएको अध्यक्ष रायको भनाइ थियो । ‘बैंकका आवधिक प्रतिवेदनहरु निरन्तर वेभसाइटमा प्रकाशन व्यवस्था मिलाइएको छ’, अध्यक्ष रायले ग्राहकका गुनासा तथा सुझावलाई समेत अनलाइनमै राख्न सक्ने व्यवस्था मिलाएको जानकारी दिंदै भने ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य देखि विभिन्न स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सम्मिलित बार्षिकोत्सवमा अध्यक्ष रायले नयाँ नयाँ सेवा प्रवाह गर्न लागिएको जानकारी गराएका थिए । ‘सेयर धनीको अपेक्षालाई मध्यनजर गर्दै उचित प्रतिफल दिन बैंक अग्रसर छ’, अध्यक्ष रायले भने, ‘निक्षेपकर्ताको हित सुरक्षणका लागि निक्षेप सुरक्षण र उचित ब्याजदर दिने व्यवस्था मिलाइएको छ ।’ अध्यक्ष रायका अनुसार, एटिएम, मोबाइल बैंकिङ्ग, अनलाइन बैंकिङ्ग, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग सुरु गरिसकेको कर्णाली डेभलपमेन्ट बैंक एटिएम, मोबाइल बैंकिङ्ग सेवा जस्ता सुविधा प्रवाह गरेर आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोग गरेर उत्कृष्ट बैंकिङ्ग सिष्टम लागु गर्ने पहिलो क्षेत्रीय विकास बैंक हो ।

 
‘ग्रामीण क्षेत्रमा वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गर्दै वित्तीय पहुँच बिस्तारका लागि हामीहरु सबै शाखा कार्यालय मार्फत घरदैलो अभियान चलाएका छौं’, बैंकका अध्यक्ष रायले नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम आफुहरु अगाडि बढेको जानकारी दिंदै छिट्टै कार्य क्षेत्र ५ जिल्ला पुग्ने जानकारी गराए ।

 
‘बैंक सेवालाई परिष्कृत गरी भिसा कार्ड, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा जस्ता आधुनिक बैंकिङ्ग सुविधामा ग्राहकको पहुँच बिस्तार गर्न हामी अग्रसर भैरहेका छौं’, आगामी योजना सुनाउँदै बार्षिकोत्सवमा सहभागीहरु माझ बैंकका अध्यक्ष रायले भने । कर्णाली डेभलपमेन्ट बैंक २०६० फागुन ६ गते यस क्षेत्रको पहिलो विकास बैंकका रुपमा स्थापित भएको संस्थापक समेत रायले जानकारी दिए । ‘बैंकले अपेक्षित ढंगले विकास गरिरहेको छ’, बैकका निवर्तमान अध्यक्ष पशुपति दयाल मिश्रले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया