होटल व्यवसायी संघ बाँके नेपालगन्जको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंगलबार औपचारिक कार्यक्रम बीच अध्यक्ष निम बहादुर थापाले नवनिर्वाचित अध्यक्ष भीम लाल कंडेललाई पदस्थापन गराउँदै पदभार ग्रहण गराएका हुन् ।
निर्वाचन अधिकृत, अधिवक्ता वसन्त गौतमले नवनिर्वाचित अध्यक्ष कंडेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यसलगत्तै नवनिर्वाचित अध्यक्ष कंडेलले वरिष्ठ उपाध्यक्ष राम बहादुर लिम्बु, उपाध्यक्ष टेक नारायण सापकोटा, महासचिव रंग बहादुर खड्का, सचिव प्रेम बहादुर शाह, कोषाध्यक्ष टिकाराम खनाल, सहकोषाध्यक्ष राजकुमार विकलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । सामूहिक रुपमा नवनिर्वाचित कार्यसमिति सदस्य एकराज पाण्डे, लक्ष्मीराज शाही, केशव योगी, दुर्गा बम र निर्मला देवी सेजुवाललाई पनि सपथ ग्रहण गराइएको थियो ।
‘सम्पूर्ण व्यवसायीहरुको हकहित र पेशागत उन्नयनका लागि योजनाबद्ध ढंगले अगाडि बढ्छु’, पदभार सम्हाल्दै नवनिर्वाचित अध्यक्ष कंडेलले भने । कंडेल नेतृत्वको कार्यसमितिलाई निवर्तमान अध्यक्ष थापासँगै पूर्व अध्यक्ष समेत रहेका होटल व्यवसायी महासंघका संस्थापक महासचिव भाष्कर काफ्ले, संस्थापक अध्यक्ष मदन बिसी, पूर्व अध्यक्षहरु जनार्दन आचार्य, दिपेन्द्र जोशी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।