‘नेपालगन्ज आत्तिनु पर्दैन’
साधारणसभामा होटल व्यवसायीद्वारा सम्भावनाको चर्चा
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले नेपालगन्ज धेरै सम्भावनाको सहर भएकाले विकासको गतिमा अघि बढ्दै जाने बताएका छन् । होटल व्यवसायी संघ बाँके नेपालगन्जको १५औं साधारणसभा तथा ९ औं अधिवेशन उद्घाटन गर्दै मन्त्री गिरीले नेपालगन्ज आर्थिक केन्द्र भएकाले विकासको गतिमा अघि बढ्दै जाने धारणा राखेका हुन् ।
संघीय व्यवस्था पछि नेपालगन्जमा रहेका क्षेत्रीय स्तरका सरकारी तथा गैर सरकारी कार्यालयले जिल्ला छाड्दा व्यवसाय घटेको भन्ने व्यवसायीहरुको चिन्तामा आफ्ना धारणा राख्दै मन्त्री गिरीले भने, ‘केही कार्यालय केन्द्र सर्दैमा नेपालगन्ज आत्तिनु पर्ने अवस्था छैन ।’ उनले कार्यालय सर्नुको प्रभाव क्षणिक मात्रै भएको र नेपालगन्जलाई आर्थिक रुपमा अगाडि बढाउन अन्य धेरै विकल्पहरु रहेको बताए ।
नेपालगन्जले सिंगो पश्चिम क्षेत्रको आर्थिक विकासमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै मन्त्री गिरीले उक्त भूमिका भविष्यमा पनि कम नहुने धारणा राखे । ‘नेपालगन्जबासी निराश हुनुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘हामीले गर्नुपर्ने कामहरु धेरै छन्, ती कामहरु गर्ने क्रममा नेपालगन्ज मुलुककै प्रमुख नाका र प्रदेश ५ को प्रमुख आर्थिक नाका हुन्छ भन्ने मैले ठानेको छु ।’
बाँके र बर्दियामा भएका पर्यटकीय क्षेत्रहरुको बारेमा आफु जानकार रहेको मन्त्री गिरीले बताएका थिए । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रदेश ५ का व्यवसायी, स्थानीय तहका जनप्रतिनिधिहरुको भावना बुझिरहेको उल्लेख गर्दै मन्त्री गिरीले भने, ‘प्रदेश सरकारले पर्यटनका क्षेत्रमा घोषणा गरेका योजना कार्यान्वयन लग्न सुरु गरिएको छ ।’ उनले प्रदेश सरकारले पर्यटकीय सम्भावनाको क्षेत्र पहिचान गरी तिनको विकासका लागि अग्रसर भैरहेको जानकारी दिए ।
ठूलो संख्यामा भारतीय पर्यटकहरु नेपालगन्ज हुँदै मानसरोवर जाने गरेको उल्लेख गर्दै मन्त्री गिरीले धार्मिक पर्यटनलाई केन्द्रित गरी ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिने बताए । ‘मानसरोवर जाने भारतीय पर्यटकलाई यही कम्तिमा १ दिन रमाउने ठाउँ हुने हो भने यसले नेपालगन्जको व्यवसायमा ठूलो प्रभाव पार्छ’, मन्त्री गिरीले भने, ‘त्यसका लागि प्रदेश सरकारले बाँकेमा मानसरोवर प्रतिकात्मक पार्क निर्माण योजना अघि सारेको छ ।’ उनले ढकेरीमा वनस्पति पार्क रहेको उल्लेख गर्दै अर्को स्थान पहिचान गरेर वनस्पति पार्क निर्माण गरिने समेत प्रतिबद्धता जनाए ।
बाँके र बर्दियाको अपार क्षमताका रुपमा राष्ट्रिय निकुञ्ज रहेको बताउँदै मन्त्री गिरीले त्यसबाट टुरिजमको विकास गर्न सकिने बताए । मन्त्री गिरीले पर्यटन क्षेत्रको प्रवद्र्धन पर्यटन व्यवसायीले नै गर्नुपर्ने धारणा राखे । प्रदेश नं. ५ पर्यटकीय स्थलमा धनी रहेपनि विदेशकी पर्यटकहरुमाझ त्यो प्रचार पुग्न नसकेको बताए । अब मुलुकलाई समृद्धि बनाउने जिम्मेवारी सबैको रहेको मन्त्री गिरीले बताए । उनले कृषि क्षेत्रको आधुनिकीकरणबाट व्यापार घाटा कम गर्न सकिने बताउँदै उनले भने, ‘कृषि क्षेत्रको विकासमा टेकेर उद्योग, धन्दा अगाडि बढाउनु पर्छ ।’ मन्त्री गिरीले नेपालगन्ज–दिल्ली उडानको प्रयास सफल गराउन प्रदेश सरकारको तर्फबाट संघीय सरकारमा कुरा उठाउने बताए । उनले नेपालगन्जमा पर्यटक भित्र्याउन क्यासिनो स्थापना पनि लाभकारी हुने बताए । त्यसका लागि आफुले अगुवाई गर्न तयार रहेको मन्त्री गिरीले बताए ।
नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकहरुलाई सम्मान गर्ने वातावरण बनाइनु पर्ने धारणा राखे । उनले नेपालगन्ज भन्सारमा भारतबाट आउने पर्यटकलाई ठाउँठाउँमा चेकजाँच गरी अनावश्यक दुःख दिइने गरेको बताए । ‘सम्मान नगर्ने हो भने पर्यटक यो नाकाबाट आउने छैनन्’, डा. राणाले भने ।
नगर प्रमुख डा. राणाले नेपालगन्जमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पार्कहरु निर्माण गरिएको बताए । उनले नेपालगन्जमा बाह्य पर्यटन आकर्षित गर्न क्यासिनो सिटी बनाउने उद्घोष गरिएको बताए । ‘६÷७ वटा निवेदन क्यासिनो सञ्चालनका लागि आएको छ’, उनले भने, ‘यसले सहरको आर्थिक विकास हुन्छ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बैंक व्याजका कारण होटल व्यवसाय डुब्दै गएकाले सरकारको ध्यान त्यसतर्फ आकर्षित हुनुपर्ने बताए । उनले नेपालगन्ज आउने सरकारका प्रतिनिधिले यहाँका समस्या बुझेपनि समाधानमा तत्पर नहुने गरेको आरोप समेत लगाए ।
संघका पूर्व अध्यक्ष भाष्कर काफ्लेले होटल व्यवसायी क्षेत्रमा देखिएको चुनौतिका बारेमा धारणा राख्दै नेपालगन्जमा पर्यटन भित्र्याउनका लागि अवलम्वन गर्नुपर्ने उपायहरुका बारेमा बोलेका थिए । संघका अध्यक्ष निम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव भीमलाल कंडेलले यस क्षेत्रमा पर्यटकीय क्षेत्रहरु हुँदाहुँदै पनि पहिचान हुन नसक्नु विडम्वना भएको बताएका थिए । उनले संघीयताका कारण बाँकेबाट केन्द्र सर्दा होटलहरुको व्यवसाय घट्दै गएको बताए । ‘सरकारले अन्य उत्पादनमूलक उद्योगलाई प्रोत्साहित गर्दा होटल व्यवसाय क्षेत्रलाई वेवास्ता गरेको छ’, महासचिव कंडेलले भने, ‘अनावश्यक भाडा वृद्धि, व्यवसायीले नै बहालकर तिर्ने व्यवस्थाको चपेटामा पिल्सिएका व्यवसायी कुनै पनि बेला घरधनीले घर खाली गर्न भन्नसक्ने जोखिम छ, यसको सुरक्षा कसैले गरेको छैन ।’ उनले अन्य व्यवसायमा मुअकरका लागि ५० लाखको कारोबार सीमा राखिएपनि होटललाई २० लाख बढी कारोबार भएमा मुअकरमा जानु पर्ने व्यवस्था सरकारले पुनर्विचार गर्नुपर्ने माग गरे ।
कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाए वापत दैनिक नेपालगन्जका सहसम्पादक देबेन्द्र पौडेल, बिबिसी नेपाली सेवाका संवाददाता विमला चौधरी, होटल व्यवसायी संघका संस्थापक तथा पूर्व अध्यक्ष, सल्लाहकार, उत्कृष्ट व्यवसायीलगायतलाई सम्मान समेत गरिएको थियो । त्यसअघि नेपालगन्ज बसपार्क निर्माण गरिएको संघको दुई तल्लो भवनको मन्त्री गिरीले उद्घाटन गरेका थिए ।
संघको आगामी कार्यकालका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन अधिकृत वसन्त गौतमले आज सोमबार मतदाता नामावली सार्वजनिकदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी दिए । उम्मेदवारहरु बीच मतदान माघ १६ गते हुने उनले जानकारी दिए ।